Comments Add Comment

महामारीमा आन्तरिक पर्यटकले थेगेको पर्यटन, दोस्रो लहर सहन सक्षम !

फाइल तस्वीर

१७ वैशाख, काठमाडौं । ‘एक वर्षको कोभिडको लहरमा जुन संख्यामा आन्तरिक पर्यटकको चहलपहल भयो, त्यसलाई नेपाली पर्यटनको सफलता मान्नुपर्छ,’ चितवनका युवा होटल व्यवसायी सुमन घिमिरे पछिल्लो परिस्थिति विश्लेषण गर्दै भन्छन्, ‘अहिले देशभित्रै घुम्ने संस्कृति एकदमै विकास भएको छ ।’

उनको भनाइमा सहमत छन् होटल संघ नेपाल (हान)का वरिष्ठ उपाध्यक्ष विनायक शाह । ‘एकातर्फ सामान्य अवस्थामा सिंगापुर, थाइल्याण्ड, लण्डन घुम्न जान सक्ने समूह नेपाल भित्रकै गन्तव्यमा घुमफिरमा निस्कियो,’ उनी भन्छन्, ‘अर्कोतर्फ घरमा थुनिएको शहरी क्षेत्रको युवा वर्ग लकडाउनपछि आन्तरिक गन्तव्यमा जान थाल्यो ।’

यसले आन्तरिक गन्तव्यमा रहेका होटल, यातायात र हवाई सेवाले ठूलो राहत महसुस गरेको उनको भनाइ छ । यसरी एक वर्षको अनुभवले व्यवसायीलाई कोरोनाको दोस्रो लहरसमेत सहन सक्ने क्षमता प्रदान गरेको छ । होटल व्यवसायी घिमिरे भन्छन्, ‘स्वास्थ्य पहिलो हो, अनि व्यवसाय, ६ महिनाको पर्यटनको स्वभावलाई हेर्ने हो भने विकेण्ड कल्चर एकदमै विकास भएको छ, आशा गरौं, कुनै दिन चितवनको पर्यटनको कुल संख्यामा आन्तरिक पर्यटकको हिस्सा ८० प्रतिशत हुनेछ ।’

हानका उपाध्यक्ष शाहसमेत आन्तरिक पर्यटनमा पछिल्लो गतिविधिले व्यवसायीको आत्मविश्वास बढाउन सहयोग पुगेको स्वीकार गर्छन् । ‘ठूला होटल चल्न विदेशी पर्यटक नै चाहिन्छ,’ उनी भन्छन्, ‘तर पदमार्गका होटल, पोखरा र चितवनलाई आन्तरिक पर्यटकले नै चलायमान बनाउन शुरु गरिसकेका छन् ।’ कोरोना महामारीकै बीचमा काठमाडौं आसपासका रेष्टुरेन्ट, रिसोर्टमा मानिसहरुको आकर्षणले समेत व्यवसायीलाई धैर्य गर्न हौसला मिलेको उनको भनाइ छ ।

नेपालीलाई पर्यटक मान्ने संस्कृति बढ्दै

नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईं नेपालीलाई ‘पर्यटक’ मान्ने संस्कृति बढ्नु यस अवधिको ठूलो उपलब्धि मान्छन् । विगतमा पर्यटकीय क्षेत्रमा गोरो छालालाई मात्र पर्यटक मान्ने मानसिकता थियो । भारतीय र नेपाली नागरिक देख्दा होटलहरुले कोठा भएपनि नदिने परिपाटीमा आफूले अहिले शतप्रतिशत परिवर्तन देखेको गुरागाईं बताउँछन् ।

‘सम्भवतः म लकडाउनपछि देशको सबैभन्दा धेरै स्थानमा घुम्न जानेमध्ये एकमा पर्छु,’ उनी भन्छन्, ‘तराईदेखि हिमाल जहाँ पुगेपछि पर्यटकका रुपमा निकै राम्रो सम्मान पाएँ ।’ उनका अनुसार यो बीचमा पदयात्रामा जाने पर्यटकको सेवामा खटिने पर्यटक मजदुरले भने रोजगारी पाउन सकेनन् । किनकि, पदयात्रामा विदेशी पर्यटकका लागि मात्र गाइड अनिवार्य गरिएको छ ।

 

पर्यटकको प्रमुख गन्तव्य पोखराकाे दृश्य

भारतीय र नेपाली पनि ‘बढी खर्च गर्ने पर्यटक’

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी यो पटक भारतीय र नेपाली पर्यटक पनि नेपालमा बढी खर्च गर्ने पर्यटकभित्र पर्छन् भन्ने प्रमाणित भएको बताउँछन् । ‘लकडाउन खुलेपछि होटल भरिभराउ भए, राम्रै व्यापार भयो, यी होटलका पाहुना भारतीय थिए,’ उनी भन्छन्, अन्य गन्तव्यमा पुगेका नेपालीहरुले पनि दिल खोलेर खर्च गरेका छन् ।’ विगतको प्रवृत्तिले मात्र नेपाली र भारतीय पर्यटकबारे नकारात्मक छाप परेको भन्दै उनले यो भ्रम चिर्न सक्नु आगामी दिनका लागि सकारात्मक पक्ष भएको बताए । लकडाउनपछि तराई, पहाड र हिमाल सबै गन्तव्यमा आन्तरिक पर्यटक पुग्नुमा व्यवसायीका आकर्षक प्याकेजले समेत भूमिका खेलेको उनको भनाइ छ ।

आकर्षक प्याकेजको प्रभाव

२०७७ असोजमा कोरोनाको पहिलो लहर केही कम भएसँगै लकडाउन खुकुलो भएको थियो । त्यसपछि सार्वजनिक यातायात र हवाई यातायात खुले । त्यसपछि नेपालीहरु समेत घुमघाममा निस्किए । दशैं र तिहारको समयमा सबैभन्दा बढी गन्तव्यमा आन्तरिक पर्यटक घुमफिरमा निस्किएका थिए ।

हिँउदको जाडो मौसमका समेत आन्तरिक पर्यटकले घुमफिर गरे । यी पर्यटकलाई आकर्षित गर्न हवाई व्यवसायीले न्यूनतम मूल्यमा हवाई टिकट बेचेका थिए । बुद्ध एयर, यति एयर र हेलिकप्टर कम्पनीहरुले समेत सस्तो मूल्यका पर्यटकीय प्याकेज ल्याएका थिए । पवर्ततीय उडानमा एउटा टिकट किन्दा अर्को सित्तैंमा दिइएको थियो । पोखरासहितका क्षेत्रमा प्याराग्लाइडिङको सेवा आधा सस्तोमा दिइएको थियो ।

त्यही अनुसार होटलहरुले समेत सस्तो प्याकेजमा सेवा दिएकै कारण नेपालीहरुलाई आकर्षित गर्न सफल भएको व्यवसायीको भनाइ छ । यसले जारी लहर समेत थेग्न आत्मविश्वास बढेको बोर्डका सीईओ डा. रेग्मीले बताए ।

‘नेपालका पर्यटकीय गन्तव्य तुलनात्मक रुपमा कम जनघनत्व भएको क्षेत्रमा छन्,’ उनी भन्छन्, ‘थोरै परिस्थिति सहज हुनासाथ पर्यटकमा आत्मविश्वास बढाउन सकिने रहेछ ।’ यो अवस्था नै कोरोनाको दोस्रो लहर थेग्न तयार हुने आधार रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment