Comments Add Comment

कोभिड महामारीको दोस्रो लहरमा सरकारका चार गल्ती

अघिल्लो साता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या आकासिएको भन्दै अहिलेको संयन्त्रले थप बिरामीलाई अस्पतालमा उपचार गराउन नसक्ने भनी सूचना जारी गर्‍यो ।

दोस्रो लहरको महामारी सुरु भएपछि हरेक निर्णयमा चुक्दै आएको स्वास्थ्य मन्त्रालयले यो लज्जास्पद विज्ञप्ति निकाल्दासम्म मुलुक संकटग्रस्त अवस्थामा पुगिसकेको छ ।

हामीले पहिलो लहरको महामारीबाट सिक्नुपर्ने धेरै कुराहरु थिए । तर त्यतिबेलाका केही सकारात्मक कामहरुलाई पनि अहिलेको अवस्थामा दोहोर्‍याउन सकेनौं । सरकारले यसलाई सामान्य मान्दै आयो । जसको परिणाम भोगिरहेका छौं ।

हामीले सुरुमा गरेको गल्ती भनेको महामारीले नछोपेसम्म कोरोनाको स्रोत थुन्ने काम गरेनौं । निर्वाध रुपमा भारत लगायत तेस्रो मुलुकबाट मान्छे आउन दिइयो । अहिलेसम्म पनि अन्तर्राष्ट्रिय उडान नरोकेर सरकारले अझै पनि कमजोरी गरिरहेको छ ।

गत वर्ष हामीले सम्भव भएसम्म कन्ट्याक्ट ट्रेसिङलाई प्राथमिकता दिएका थियौं । संक्रमित भेटिएपछि सम्भव भएसम्म उनको सम्पर्कमा आएकालाई स्थानीय सरकारले पनि टेलिफोन गरेर ट्रेसिङ गर्थ्यो । त्यतिबेला कन्ट्याक्ट ट्रेसिङको लहर नै आएको थियो । तर अहिले हामी कन्ट्याक्ट ट्रेसिङलाई प्राथमिकता दिन छाडेका छौं । यो अवस्था शून्य छ भन्दा पनि फरक नपर्ला ।

अहिलेको अवस्था रोक्न हामीले टेस्ट संख्यालाई बढाउनुपर्ने हो । अहिले सरकारी पहलमा भन्दा पनि व्यक्तिले कुनै समस्या देखिएपछि आफैंले गएर गर्ने टेस्ट धेरै छ । जसले गर्दा मान्छे गम्भीर किसिमको लक्षण नदेखिएसम्म परीक्षणका लागि जाँदैनन् । यसबाट समुदायमा गम्भीर हिसाबले कोरोना संक्रमण फैलिएको छ भन्ने पुष्टि भएको छ ।

पहिलो लहरमा कोरोना महामारीबाट पाठ सिक्नुपर्नेमा हामीले गरेका केही गल्तीहरु छन् । जसले अहिलेको भयावह अवस्था सिर्जना गरेको छ ।

सीमा नाका बन्द नगरी लकडाउन

कोरोना भाइरस हामीले यहीँबाट सार्ने त थिएनौं । कुनै संक्रमित बाहिरबाट आएपछि नै यहाँ भाइरस सर्न थालेको हो । तर हामी अहिलेसम्म पनि मुलुकभित्र लकडाउन गर्ने र बढी जोखिम क्षेत्रको रुपमा रहेको विदेशबाट निर्वाध आवतजावत गर्न दिँदै छौं ।

यो सरकारको उल्टो बाटो हो । सुरुमा बाहिरी नाका बन्द गरेर आन्तरिक रुपमा त्यसको रोकथामको पहल गर्नुपर्नेमा त्यो हुन सकेको छैन ।

सरोकारवालासँग छलफल शून्य

नेपाल चिकित्सक संघलगायतका सरोकारवालासँग पहिलो लहरको महामारीमा पर्याप्त छलफल भएको थियो । तर अहिले त्यस्तो छलफल भएको छैन ।

अघिल्लो पटक चिकित्सकहरुलाई हौसला दिने, भत्ताको व्यवस्था गर्ने जस्ता निर्णय गरिएको थियो । तर अहिले सरकारले कसैसँग पनि छलफल नगरी काम गर्ने, कारबाही गर्ने जस्तो धम्कीपूर्ण व्यवहार गरेको छ । महामारी नियन्त्रणमा नआउनुमा यो पनि एउटा कारण बनेको छ ।

समन्वय शून्य

सरकार आफ्नो मात्रै स्रोत र साधनले सबै नागरिकको उपचार गर्न सक्ने अवस्थामा नहोला । तर उसले कमसेकम निजी अस्पतालसँग समन्वय त गर्न सक्थ्यो । निजी अस्पतालसँग कुनै छलफल नगर्ने र एकोहोरो निर्देशनको ओइरो मात्रै लगाउने गरिएको छ ।

पहिलो लहरमा निजी क्षेत्र, नेपाल चिकित्सक संघजस्ता निकायसँग बेलाबेलामा समन्वय भइरहन्थ्यो । नियन्त्रणको लागि कसरी अघि बढ्ने ? कुन निकायलाई कसरी परिचालन गर्ने भन्ने विषयमा मिलेर काम हुन्थ्यो । तर अहिले त्यस्तो भएको छैन । दोस्रो लहर सुरु भएपछि अहिलेसम्म सरकारले हामीसँग छलफल गरेको छैन ।

निजी स्वास्थ्य संस्थासँगको समन्वय नहुँदा सरकारले अहिले थप शय्या विस्तार गर्न सकेको छैन । यदि सरकारले यसलाई व्यवस्थापन गर्ने हो भने निजी मेडिकल कलेजलाई सीमित समयको लागि आफ्नो स्वामित्वमा लिएर उपचार गर्न सक्छ । निजी अस्पतालले नधान्ने हो भने झनै भयावह स्थिति आउँछ । त्यसैले सबै निकायसँग हातेमालो गरेर जानुपर्ने अवस्था छ ।

जनशक्ति व्यवस्थापन

अहिले सरकारी अस्पतालमा १३ सय चिकित्सकको दरबन्दी छ । यो कुल जनसंख्या डेढ करोड हुँदाको दरबन्दी हो । त्यसैले चिकित्सकको संख्या नै सीमित भएपछि कसरी हुन्छ उपचार ? अहिले कम्तीमा पनि चिकित्सकको चार हजार भन्दा धेरै दरबन्दी हुनुपर्छ । चिकित्सककै अनुपातमा अरु स्वास्थ्यकर्मी पनि राख्नुपर्छ ।

अब कुरा आउन सक्छ यति छोटो प्रक्रियामा कसरी राख्ने स्वास्थ्यकर्मी भनेर ? त्यसको लागि सरकारले तत्कालको लागि स्वास्थ्यकर्मी नियुक्त गर्ने र महामारी रोकिएपछि उनीहरुलाई स्थायी नियुक्तिको लागि प्रतिस्पर्धा गराउने, जो पास हुन्छ उसलाई नियुक्ति दिनेगरी नयाँ जनशक्ति भर्ना गर्नुपर्छ । उनीहरुलाई महामारीमा जोखिमयुक्त काममा लगाउने र काम सकिएपछि त्यसै घर फर्काउनु हुँदैन ।

अहिलेको महामारी निकै डरलाग्दो छ । यसको नियन्त्रणमा सरकारले खेलाँची नगरोस् । जनशक्ति व्यवस्थापन र अधिक मात्रामा टेस्ट गरेर अघि बढ्न सके यो महामारीलाई हामी सहजै जित्न सक्छौं ।

(नेपाल चिकित्सक संघका अध्यक्ष कार्कीसँग सुदर्शन अर्यालले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment