Comments Add Comment

बटलरको शतकमा राजस्थानको शानदार जित

१९ वैशाख, काठमाडौं । जोस बटलरको शतक र फास्ट बलरको उत्कृष्ट प्रदर्शनमा राजस्थान रोउल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार सनराइजर्स हैदरावादलाई ५५ रनले पराजित गरेको छ ।

हैदरावादले केन विलियम्सलाई नयाँ कप्तान बनाएपछि पहिलो खेलमा फराकिलो हार बेहोरेको हो । यसअघिका कप्तान डेभिड वार्नरलाई बेन्चमा राख्दै मैदान उत्रेको हैदरावादले हारको यात्रा भने तोड्न सकेन ।

राजस्थानले दिएको २२१ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन मात्र बनाउन सक्यो । हैदरावादका लागि ओपनिङ गरेका मनिस पाण्डेले सर्वाधिक ३१ रन बनाउँदा अर्का ओपनर जोनी बेयर्स्टोले ३० रन जोडे । कप्तान केन विलियम्सले २० रन बनाए ।

राजस्थानका क्रिस मोरिस र मुस्ताफिजुर रहेमानले ३-३ विकेट लिए । ४ ओभर बलिङ गर्दा मुस्ताफिजुरले २० र मोरिसले २९ रन खर्चिए । यस्तै कार्तिक त्यागी र राहुल तेवाटियाले समान १ विकेट लिए ।

त्यसअघि दिल्लीमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले बटलरको शानदार शतक मद्दतमा निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२० रन बनाएको थियो ।

बटलरले ६४ बल खेल्दै ११ चौका र ८ छक्का मद्दतमा १२४ रन बनाए । आईपीएलमा राजस्थानका कुनै पनि ब्याट्सम्यानले बनाएको यो व्यक्तिगत उच्च स्कोर समेत हो ।

यस्तै कप्तान सन्जु सामसनले ३३ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ४८ रन जोडे । दोस्रो विकेटका लागि बटलर र सामसनले १५० रनको साझेदारी गरेका थिए । रियान पराग १५ रनमा अविजित रहे ।

हैदरवादका लागि रसिद खान, सन्दीप शर्मा र विजय शंकरले समान १ विकेट लिए ।

जितपछि ७ खेलबाट ६ अंक जोड्दै राजस्थान पाँचौ स्थानमा उक्लेको छ । अन्तिम स्थानमा रहेको हैदरवादको छैटौं हारपछि २ अंक मात्र छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment