
२० वैशाख, काठमाडौं । काठमाडौं महानगर क्षेत्रभित्र ठाउँ हेरी फोहोर उत्पादनको मात्रा ३० देखि ५० प्रतिशतसम्म घटेको वातावरण व्यवस्थापन विभागले बताएको छ । सामान्य अवस्थामा महानगरले दैनिक २५ गाडीसम्म फोहोर ल्यान्डफिल साइटमा पुर्याउने गरेको थियो ।
सोमबार १३ वटा गाडी ल्यान्डफिल साइटमा पठाउने तयारी छ । वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठकाअनुसार व्यवसायिक क्षेत्रमा धेरै मात्रामा घटेको छ भने आवासीय क्षेत्रमा कमै मात्र घटेको छ । सडकमा जम्मा हुने फोहोर ५० प्रतिशतसम्म घटेको छ ।
घर-घरमा उत्पादन हुने फोहोरको मात्रा ३० प्रतिशतसम्म घटेको वातावरण संरक्षण गैसस महासंघका अध्यक्ष टीकाराम दाहालको भनाइ छ । ‘होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस बन्द भएकाले धेरै फोहोर उत्पादन हुने ठाउँ घटेको देखिए पनि घरघरबाट उत्पादन हुने फोहोरको मात्रा धेरै घटेको छैन,’ दाहाल भन्छन् ।
यता फोहोरमैला व्यवस्थापन संघको अनुमान अलि फरक छ । संघका महासचिव मीत्र घिमिरेकाअनुसार बाहिर बन्द भएकाले मानिसहरुले घर, आगन सफा गर्दा निस्किएको फोहोर बढी आएको छ । त्यसैले अब अहिलेको भन्दा फोहोरको मात्रा घट्ने सम्भावना छ ।
‘वडा ३, ४ र ७ बाट पहिले दैनिक ८ टि्रपर फोहोर संकलन हुने गरेकोमा अहिले ६ टि्रपर मात्र संकलन भइरहेको छ,’ उनले भने,’यो पनि घट्ने क्रममा छ ।’
महानगरले जैविक फोहोरलाई कम्पोष्टिङ् गर्न र घरमा कोही संक्रमित भए त्यहाँबाट उत्पादन भएको फोहोर निसंक्रमण गरेर व्यवस्थापन गर्न आग्रह गरेको छ ।
घरेलु फोहोरसँगै महानगरले सडक सफाइका लागि नियमित ब्रुमर सञ्चालन गरिरहेको छ । सडकबाट संकलन हुने धुलोको परिमाण पनि घटेको वातावरण विभागका प्रमुख श्रेष्ठ बताउँछन् ।
प्रतिक्रिया 4