Comments Add Comment

ओडीआई र टी-२० वरीयतामा नेपालको सुधार

२० वैशाख, काठमाडौं । नेपालले क्रिकेटको एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र टी-२० अन्तर्राष्ट्रियको वरीयतामा एक-एक स्थान सुधार गरेको छ ।  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले हरेक वर्षको मे महिनामा वार्षिक रुपमा वरीयता अपडेट गर्दै आएको छ ।

पछिल्लो तीन वर्षको नतिजालाई आधार मानेर वरीयता सार्वजनिक गरेको आईसीसीले जनाएको छ ।

सोमबार जारी गरेको वरीयतामा नेपाल ओडीआईमा एक स्थान सुधार गर्दै १६औं स्थानमा उक्लेको छ । यस्तै टी-२० आईमा पनि एक स्थान सुधार गर्दै १३औं स्थानमा उक्लेको छ ।

ओडीआईमा नेपाल यसअघि १७औं र युएई १६ औं स्थानमा थियो । युएईलाई पछि पार्दै नेपाल १६ औं स्थानमा उक्लेको हो । नेपालले २०२० फेब्रुअरीमा क्रिकेट विश्वकप लिग २ को त्रिकोणात्मक सिरिजपछि ओडीआई खेल खेलेको छैन ।

यस्तै यही वैशाख ४ देखि ११ गतेसम्म नेपालमै भएको त्रिकोणात्मक टी-२० सिरिज जितेको नेपालले टी-२० वरीयतामा सुधार गरेको हो । सिरिज सञ्चालनकै बेलामा पनि नेपालको वरीयतामा तलमाथि भइरहेको थियो । सिरिजको उपाधि जितेपछि नेपाल १४ औं स्थानमा उक्लेको थियो ।

पछिल्लो वरीयतामा नेपालले स्कटल्याण्डलाई पछि पार्दै १३ औं स्थानमा उक्लेको हो । एसोसिएट नेसनतर्फ नेपाल सबैभन्दा अगाडि रहेको छ ।

न्युजिल्याण्ड शीर्ष स्थानमा

यस्तै ओडीआईतर्फ न्युजिल्याण्ड शीर्ष स्थानमा उक्लेको छ भने अष्ट्रेलिया दोस्रो स्थानमा उक्लेको छ । भारत तेस्रो र इंग्ल्याण्ड चौथो स्थानमा झरेको छ । न्युजिल्याण्ड र अष्ट्रेलियाले दुई स्थान सुधार गर्दा भारत एक र इंग्ल्याण्ड तीन स्थान तल झरेको हो ।

साउथ अफ्रिका पाँचौ पाकिस्तान छैटौं र बंगलादेश सातौं स्थानमा यथावत रहँदा वेष्ट इन्डिज आठौं स्थानमा उक्लेको छ । यस्तै श्रीलंका नवौं स्थानमा झरेको छ । अफगानिस्तान १० औं स्थानमा यथावत छ ।

एसोसिएट नेशन नेदरल्याण्ड्स एक स्थान सुधार गर्दै ११ औं स्थानमा उक्लँदा आयरल्याण्ड १२ औं स्थानमा झरेको छ । जिम्बाब्बे १३औं स्थानमा यथावत छ । यस्तै ओमान १४ औं र स्कटल्याण्ड १५ औं स्थानमा यथावत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment