Comments Add Comment

राजकुमार बगरको नजरमा उनका ५ उत्कृष्ट गीत

राजकुमार बगर लोकदोहोरी र आधुनिक गीतसंगीतमा चलेको नाम हो । उनी दुई दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय छन् । उनले लेखेका तथा संगीत भरेका दर्जनौं गीतहरु श्रोता तथा दर्शकले रुचाएका छन् ।

राजकुमारले आफ्नो करिअर र ‘सेन्टिमेन्ट’सँग जोडिएका प्रिय लाग्ने पाँच गीतबारे अनलाइनखबरसँग कुराकानी गरेका छन्ः

उडेर जुन छुन्छु भन्थेँ
मेरो रचना रहेको ‘उडेर जुन छुन्छु भन्थेँ’ २०५६ सालमा रेकर्ड भएको गीत हो । रेकर्डिङको हिसाबले यो मेरो पहिलो गीत हो । त्यो भन्दा अगाडि यो गीत रेडियो नेपालको वार्षिकोत्सवमा प्रथम भएको गीत हो । रेडियो नेपालमा गीतले गायन र शब्द दुवैमा प्रथम स्थान हासिल गरेको थियो । गीतलाई रामभक्त जोजिजू दाईले गाउनुभएको छ । बी.बी अनुरागीले कम्पोज गर्नुभएको छ । यो गीत रामभक्त दाईले ‘भाग्य’ भन्ने एल्बममा राख्नुभयो ।

यो गीत मैले अध्ययनका लागि पोखरा बस्दा लेखेको गीत हो । महाकवी लक्ष्मीप्रसाद देवकोटाको ‘उद्धेश्य के लिनु उडि छुनु चन्द्र एक’ भन्ने कथनबाट प्रभावित छ यो गीत ।
हरेक ब्यक्तिको एउटा–एउटा उद्धेश्य हुन्छ । विद्यार्थीको सपना राम्रो नम्बर ल्याउने होला, खलासीको उद्धेश्य ड्राइभर हुने होला । तर, चाहेको उद्धेश्यमा पुग्न सकिरहेको हुँदैन् ।
यो गीत निकै रुचाईयो । प्रेममा होस् कि करिअरमा, असफल हुनेहरूले शायद गीतभित्र आफ्नै कथा भेटे र रुचाइदिए ।

त्यो समय रेडियोको लहर चलेको थियो । रेडियोमा धेरै ‘फर्माइस’ आउन थाल्यो । म आफै रेडियोमा बेलाबेलामा ‘फर्माइस’ पठाईराख्ने मान्छे, आफनै गीत रेडियोमा धेरै गुञ्जिरहने गीतमा पर्यो । म धेरै खुसी भएँ । त्यसपछि लाग्यो, म पनि गीत लेख्न सक्ने रहेछु । यो गीतबाट केहीले मलाई चिन्न थाल्नुभयो ।

मेरो पहिलो सन्तान हो यो गीत । भन्छन् नी, पहिलो प्रेम, पहिलो सन्तान जोहोहीलाई प्रिय लाग्छ । मेरो पहिलो सन्तान यो गीत पनि मलाई निकै प्रिय लाग्छ । अहिले पनि आफ्नो परिचय दिँदा ‘उडेर जुन छुन्छु भन्थेँ’को नाम लिँदा धेरैले चिन्नुहुन्छ । मेरो सांगीतिक जीवनको ‘माइलस्टोन’ नै भन्छु यो गीतलाई ।

आमा रातो साडी चुरापोते किन नलाको
म गाउँ तनहुँमा पढाउँथे । काठमाडौं आउजाउ बेलाबेलामा चरिरहन्थ्यो । गायक तथा संगीतकार नारायण रायमाझी दाईसँग चिनजान थियो ।

मेरो पहिलो गीत चलेपछि उहाँले भन्नुभएको थियो, ‘तपाई जस्तो मान्छे तनहुँमा बसेर हुँदैन्’ । काठमाडौं आउने तारतम्य मिलिरहेको थिएन् । पछि उहाँकै माध्यमबाट काठमाडौं आए । उहाँले आफ्नै रेकर्डिङ स्टुडियोमा जागिर दिनुभयो ।

संगीतकार भोजराज काफ्ललेले आफ्नो छोरा दिनेश काफलेलाई गीत गाउन लगाउने भन्नुभयो । नारायण दाईले मलाई गीत लेख्न लगाउन सिफारिस गर्नुभयो । भोजराजजीले यस्तो खालको गीत बनाउनुपर्यो भनेर ‘हिन्टस्’ दिनुभएको थियो ।

‘ड्वेट बनाऔं, आमाछोराको कथामा बनाऔ’ं भन्नुभएको थियो । सोहीअनुसार मैले गीत लेख्नुपर्ने थियो । दिउँसोमा काम गर्ने भएकाले मैले रातको समयमा गीत लेख्थेँ । सोही बिचमा २ रातमा लेखेको थिएँ, ‘आमा रातोसाडी चुरापोते किन नलाको’ ।

जनयुद्धबाट देश प्रभावित थियो । थुप्रै चेलिबेटीको सिन्दुर पुछिएको समय थियो । बालबच्च टुहुरा भएको अवस्था थियो । सोही पेरिफेरीमा गीत बनेको थियो । गीतादेवी र दिनेशले गाउनुभयो । यसको भिडियोसहित सार्वजनिक भयो । गीतले निकै चर्चा पायो । त्यो गीत पूर्वदेखि पश्चिमसम्म, काठे गीत चल्ने क्षेत्रदेखि तराईसम्म चलेको गीत हो । त्यसको डेढ लाख क्यासेट बिक्री भएको थियो रे !

त्यसपछि हो, मेरो लोकदोहोरीमा व्यवसायिक गीत लेखन शुरु भएको । मेरो मात्र होइन् बुझेअनुसार सो समयसम्म लोकदोहोरी लेखेर पारीश्रमिक पाउनुपर्छ, दिनुपर्छ भन्ने संस्कारै रहेन‘छ । मैले धेरै लोकदोहोरी गीत लेख्ने अवसरहरु पाएँ । अहिले पनि यो गीतको नाम लिँदा धेरैले चिन्नुहुन्छ । यो गीत मेरो करिअरको उत्तिकै महत्वपूर्ण गीत हो ।

तिम्लाई आफ्नो भन्ने मेरो अधिकार गुमेपछि
धेरै लोकदोहोरी गीतहरु लेखेँ । गीतहरु निकै रुचाइँदै गए । तर, काठमाडौंमा गीत कम्पोज गराउन निकै गाह्रो थियो । लोकदोहोरीमा आफै संगीत भरेँ पनि आधुनिक गीतमा आफूले संगीत भरेको थिइन् ।

आधुनिक गीतमा धेरै संगीतकारहरुसँग सहकार्य गर्ने कुरा भयो । गीत पनि निकै दुःख गरेर तयार गरेँ । एकजना चलेको संगीतकारकोमा लगेर छाडेँ । उहाँले राम्रो छ भन्नुभयो । म कम्पोज गरेर सुनाउँछु भन्नुभयो ।

एक महिना वित्यो, दुई महिना बित्यो, एक वर्ष हुँदै चार वर्ष वित्यो । मुम्बईमा रेकर्ड गर्ने हो भनेर आश्वासन दिनुभएको थियो । म धेरै उत्साहित थिएँ । तर धेरै वर्षसम्म गीत नआएपछि लाग्यो अब आफै ‘ट्राई’ गर्नुपर्छ ।

रेकर्डिङको हिसावले मैले संगीत शब्द तथा संगीत भरेको पहिलो आधुनिक गीत हो ‘तिम्लाई आफ्नो भन्ने मेरो अधिकार गुमेपछि’ । अञ्जु पन्तको स्वरमा २०६८ सालमा यो वियोगान्त गीत सार्वजनिक भएको हो । शुरुवातमा डर, उत्साव दुवै थियो । सीआरबिटीको समय थियो । गीतलाई एकदमै रुचाईयो ।

त्यसपछि आत्मविश्वास एकदमै बढ्दै गयो । अरुअरु आधुनिक गीतहरुमा संगीत भर्ने अवसर पाएँ । अहिले गीत लेख्न भन्दा संगीतमा बढी ब्यस्त छु । त्यसैले पनि यो गीत निकै प्रिय लाग्छ ।

तिम्रो माया पाउन
तीनवर्ष अगाडि सार्वजनिक गीत हो, तिम्रो माया पाउन । चन्द्र ज्योति आले मगरको शब्द, मेरो संगीतमा युवराज चौलागाईँले यो गीत गाउनुभएको छ ।नेपाली सुगम संगीतमा करोड क्लवमा प्रवेश गरेका एकदमै थोरै छन् । त्यसमाथि वियोगान्त गीत करोड क्लवमा प्रवेश गरेको कमै होलान् ।

पल शाह र आँचल शर्मा अभिनित गीत अहिले २ करोड १० लाख बढी भ्यूज पाएको छ । गीतका शब्द मार्मीक छन्, सो अनुसार भिडियो बनेको लाग्छ । यो गीतलाई पनि म सम्झन्छु ।

मलाई मनपर्ने गीत गाइदिन्छौं र ?
‘मलाई मनपर्ने गीत गाइदिन्छौं र ?’ केही दिन अघिमात्र सार्वजनिक भएको गीत हो । मेरो शब्द संगीतमा अस्मिता अधिकारी र किरण भुजेलले गाउनुभएको छ । अहिले बजार कस्तो छ भने, हल्काफुल्का गीत चलिरहेको समयमा अलिकति मेलोडि खालको गीत गर्ने कोशिस गरेको छु । टिपिकल शब्दहरु राखेको छु ।

भिडियोलाई एउटा कथामा उतारिएको छ । किरण भुजेल र उषा उप्रेतीले अभिनय गर्नुभएको छ । यसको भ्यूज धेरै नगएपनि पछिल्लो सिर्जनाहरुमा यो गीत असाध्यै मनपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment