Comments Add Comment

महामारीसँग जुध्न छैन कोरोना खोपको टुंगो

२० वैशाख, काठमाडौं । कोरोना महामारी तीव्र गतिमा विस्तार भए पनि नेपालमा सञ्चालित खोप कार्यक्रम रोकिँदा महामारीविरुद्धको लडाईं कठीन हुने देखिएको छ ।

नेपालमा दैनिक संक्रमित अहिलेसम्मकै उच्च अर्थात ७ हजार भन्दा माथि देखिए पनि खोप कार्यक्रम अहिले बन्द छ । नेपालमा भारतीय कम्पनी सेरम इन्ष्टिच्युटको कोभिशिल्ड र चीनमा विकास भएको भेरोसेल खोप लगाइएको छ ।

भारतले अनुदानमा दिएको १० लाख डोज र नेपालले किनेको १० लाख डोज कोभिशिल्ड खोप नेपालमा ल्याई उपयोग पनि भइसकेको छ । तर नेपालले खरिदका लागि रकम भुक्तानी गरिसकेको १० लाख डोज कोभिसिल्ड खोप भने कहिले आउने भन्ने अझै निश्चित भएको छैन ।

खोपको अत्यधिक माग भइरहेकाले कम्पनीले खोप आपूर्ति पूरा गर्न नसकिरहेको स्वास्थ्य सेवा आपुर्ति व्यवस्थापन महाशाखा प्रमुख डा. भीमसिं तिंकरीले बताए । उनले भने ‘खोपको माग अत्यधिक भएकोले हामीले पाउन सकेका छैनौं । हामीले पटक पटक फलोअप गरिरहेका छौं । भोलि फेरि पत्र लेख्ने तयारी गरिरहेका छौं ।’

पहिलो डोजको खोप लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो डोजको खोप दिने समय नजिकिँदै गए पनि खोप आउने निश्चित हुन सकेको छैन । डा. तिंकरीले बंगलादेश, श्रीलंकालगायतका देशहरुले पनि खोप किन्नको लागि पैसा दिइसकेको तर उनीहरुले पनि खोप नपाएको कारण नेपालले कहिले पाउने भन्ने निश्चित नभएको बताए ।

तर फलोअपको क्रममा कम्पनीले नेपाललाई प्राथमिकता दिने बताउँदै आएको उनको भनाइ छ । ‘हामीले हाम्रो तर्फबाट कोशिस गरिरहेका छौं । तर सबै हाम्रै लेबलबाट हुँदैन । परराष्ट्र मन्त्रालय, इन्डियन एम्बेसीबाट गर्नुपर्ने अवस्था देखिँदैछ’ उनले भने ।

अहिले खोप उत्पादक कम्पनी पनि ठूलो दबावमा रहेको स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेल बताउँछन् । ‘उपलब्ध गराउने कुरामा सकारात्मक छन् । तर यही बेला दिन्छौं भन्ने तिथिमिति तोक्न सकिरहेका छैनन्’ उनले भने ।

औषधी व्यवस्था विभागले सेरम इन्ष्टिच्युटलार्ई खरिद गरिसकेको १० लाख डोज र थप ५० लाख डोज खोप उपलब्ध गराउन पत्र लेखेपनि कम्पनीले जवाफ पठाएको छैन ।

नयाँ भेरियन्टसहितको कोरोना संक्रमितको संख्या बढ्दै जाँदा खोपको माग पनि अत्यधिक बढिरहेको छ ।

नेपालमा रुसी खोप स्पुतनिक भीले आपतकालीन प्रयोगको अनुमति पाएपछि उक्त खोप कसरी किन्ने भन्ने विषयमा छलफल भइरहेको डा. तिंकरीले बताए । भारतीय खोप कोभिसिल्ड भन्दा दुई गुणा बढी महंगो पर्ने स्पुतनिक भी किन्नको लागि व्यवहारिक समस्याको कारण राष्ट्रिय खोप सल्लाहकार समितिको सुझाव आवश्यक पर्ने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार रुसी कम्पनीले रुस सरकारले दिने आर्थिक सहयोगबाटै रकम कटाउने गरी खोप दिने प्रस्ताव गरेको छ । यसबारेमा मन्त्रालय स्तरीय निर्णय हुन सकेको छैन ।

उच्च तहबाट खोप किन्नका लागि पहल भइरहे पनि कहिले कहाँबाट र कति खोप आउँछ भन्न सकिने अवस्था नभएको परिवार कल्याण महाशाखाका प्रमुख डा.तारानाथ पोखरेलले बताए ।

कतिले लगाए खोप, कति बाँकी

स्वास्थ्य सेवा विभागको खोप महाशाखाका अनुसार कोभिसिल्ड खोपको पहिलो डोज १८ लाख २३ हजार ६६३ जनाले लगाएका छन् । दोस्रो डोजसमेत पूरा गर्ने तीन लाख ६९ हजार ४४९ जना छन् । अब नेपालमा कोभिशिल्डको खोप थोरै मात्र मौज्दात रहेका खोप महाशाखा प्रमुख डा. झलक शर्मा गौतमले बताए ।

उनले भने ‘हामीसँग पहिलो मात्रा लगाएकालाई पुग्ने दोस्रो मात्रा छैन । अब आउन बाँकी भएको खोप आएपछि मात्रै दोस्रो डोज लगाउन सकिने अवस्था छ ।’

त्यस्तै चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज भेरोसेल खोपमध्ये पहिलो डोज दुई लाख ८८ हजार ३५६ जनाले लगाएका छन् । काठमाडौं उपत्यकामा निषेधाज्ञाका कारण खोप कार्यक्रम स्थगित भएको छ । निषेधाज्ञापछि करिब एक लाख जनालाई पहिलो डोज खोप दिने र बाँकी दोस्रो डोजका लागि राख्ने डा. गौतमले बताए ।

नेपाली सेनालाई प्राप्त भएको एक लाख कोभिसिल्ड कति प्रयोग भए भन्ने चाँहि जानकारी प्राप्त नआएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment