Comments Add Comment

उपत्यकामा संक्रमितको शव व्यवस्थापनका लागि नयाँ ठाउँको खोजी

२१ वैशाख, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको शव व्यवस्थापन गर्ने थप स्थान खोज्ने निर्णय गरेको छ ।

गृह मन्त्रालय मातहत रहेको कोभिड–१९ व्यवस्थापन, समन्वय तथा सहजीकरणका लागि बनेको समितिले शव व्यवस्थापनका लागि नयाँ स्थान पहिचानका लागि स्थानीय तहलाई पत्राचार गर्ने निर्णय गरेको हो ।

हालसम्म काठमाडौं उपत्यकामा कोरोना संक्रमितको शव पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि हुँदै आएको थियो । तर पछिल्ला दिनमा संक्रमितको मृत्यु बढेपछि विद्युतीय शवदाह गृह नजिकै वाग्मती नदी किनारमा व्यवस्थापन गर्न थालिएको थियो ।

गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव जनकराज दाहाल नेतृत्वको समितिले कोरोना संक्रमितको उपचारका लागि अस्पतालअनुसार उपलब्ध बेड संख्या, आईसीयू र भेन्टिलेटरको संख्या सार्वजनिक गर्न आग्रह गरेको छ ।

त्यस्तै संक्रमितको उपचारका लागि सरकारी र निजी अस्पतालमा लाग्ने उपचार खर्च सार्वजनिक गर्न, कोरोना संक्रमितको उपचारका लागि सहयोगी रेम्डिसिभिरलगायतका औषधीको कालोबजोरी रोक्न अनुगमन गर्न आग्रह गरेको छ ।

समितिले उपचार प्रयोजनबाहेक व्यक्ति वा अस्पतालले राखेको अक्सिजन सिलिण्डर जफत गर्ने निर्णय पनि गरेको सहसचिव दाहालले जानकारी दिए ।

उक्त समितिमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रहरी नायब उपरीक्षकलगायतका अधिकारीहरु सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment