Comments Add Comment

महामारीकै बीचमा सर्लाहीका स्वास्थ्य कार्यालय प्रमुखको सरुवा !

२२ वैशाख, जनकपुरधाम । कोरोनाको दोस्रो लहर शुरु भएपछि सर्लाहीमा चार जना संक्रमितको मृत्यु भइसकेको छ । ४ वैशाखदेखि २१ वैशाखसम्म १ सय ४० जना संक्रमित देखिएका छन् ।

बलरा नगरपालिकाको केही वडामा समुदायस्तरमै संक्रमण फैलिएको आशंका छ । बलरा–६ मिर्जापुरमा चार जनाको उच्च ज्वरोले मृत्यु भइसकेको छ । यहाँ स्वास्थ्य कार्यालयबाट २० वैशाखमा परीक्षण गर्ने टोली पठाउँदा २९ जनामा १० जना पोजेटिभ देखिए । २१ वैशाखमा ४३ जनाको परीक्षण गर्दा ११ जना संक्रमित देखिएका छन् ।

खुल्ला सीमाबाट ओहोरदोहोरका कारण जिल्लामा कोरोना संक्रमण बढी फैलिएको हुन सक्ने आँकलन गरिएको छ । तर, न त परीक्षण न त उपचारकै कुनै व्यवस्था हुन सकेको छ । जिल्ला अस्पताल मलगंवामा भेन्टिलेटर, आईसीयू बेड भएपनि अलपत्र अवस्थामै राखिएको छ । स्थानीय तह अहिलेसम्म जाग्न सकेको छैन ।

सर्वसाधारणले पनि लापरवाही गर्न छाडेका छैनन् । यहाँसम्म कि स्वास्थ्यकर्मी परीक्षण गर्न जाँदा परीक्षण नै गराउन नमानिरहेको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । ‘बलरामा हामीले कम्तीमा २ सय जनाको कोरोना परीक्षण गर्ने लक्ष्य लिएका छौं, तर परीक्षण नै गर्न मानिरहेका छैनन्,’ स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख श्रवण नायकले भने ।

अहिले सरुवा भयो, के गरौं ?

जिल्लामा कोरोना संक्रमणको अवस्था बढ्दै गएको छ । तर यही बीचमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख श्रवण नायकलाई सरुवा पत्र आएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयको चैत २४ गतेको निर्णय अनुसार मन्त्रालयको स्वास्थ्य महाशाखामा सरुवा गरिएको भन्दै पत्र आयो । यसपछि १६ वैशाखमा संशोधन गर्दै स्वास्थ्य निर्देशनालयमा सरुवा भएको जानकारी दिइएको नायकले बताए ।

‘अब यस्तो अवस्थामा सरुवा भई रमाना लिएर जाने ?’ अनलाइनखबरसँग कुरा गर्दै नायकले भने, ‘कार्यालयमा दुई जना सहकर्मी नै संक्रमित भएका छन् । संक्रमणको दर बढ्दै गएको छ । के गरौं ?’

यद्यपि उनले केही दिनअघि मात्रै जिल्ला आएका सामाजिक विकासमन्त्री नवलकिशोर साहले यहीं काम गर्न भनेको बताए । ‘अहिले तपाईंले सर्लाहीमै काम गर्नुपर्छ । रमाना नलिनुस् भनेर मन्त्रीज्यूले भन्नुभएको छ,’ उनले भने, ‘अब हेरौं के हुन्छ ।’

चरम लापरवाही

कोरोना संक्रमण बढ्दै जाँदा पनि प्रदेश २ को सबैभन्दा बढी स्थानीय तह भएको सर्लाहीमा लापरवाही चरम देखिएको छ । २० स्थानीय तह रहेको सर्लाही भारतीय सीमासँग जोडिएको छ । सीमासँगै जोडिएको स्थानीय तह बलरा नगरपालिका पनि हो । यो नगरपालिकाको वडा नम्बर ६ मा ४ जनाको उच्च ज्वरो र रुघाखोकीका कारण मृत्यु भइसकेको छ । नगर प्रमुख अभय सिंहका अनुसार सयौं जना ज्वरो र रुघाखोकीबाट पीडित छन् ।

प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ बलराको वडा नम्बर ३ मा समुदायमै कोरोना संक्रमण फैलिएको आशंका गर्छन् । जसका कारण यहाँ परीक्षण दायरालाई फराकिलो बनाउन लागिएको उनी बताउँछन् ।

यो नगरपालिकामा कोरोना जस्तै लक्षण देखिएर मान्छे बिरामी पर्नुको मुख्य कारण भारत आवतजावतलाई निरन्तरता दिनु हो । स्थानीयलाई भारतीय बजार नै नजिक पर्ने भएकाले उनीहरु भारत आवतजावत गरिरहेको स्थानीय बताउँछन् ।

यसका साथै बलरा–३ स्थित सीमा नजिकै १० वटाभन्दा बढी रक्सीका पसल सञ्चालनमा छन् । भारतको बिहार राज्यमा रक्सी प्रतिबन्ध लगाएपछि भारतीयहरु यहाँ आएर रक्सी पिएर फर्किने क्रम पनि धेरै रहेको स्थानीय विनय झा बताउँछन् । ‘नेपालीभन्दा रक्सी पसलमा भारतीयको भिड बढी हुन्छ,’ उनी भन्छन्, ‘भारतीयले बढी रकम दिने भएका कारण रक्सी पसलेहरु यो व्यवसाय बन्द गर्न चाहिरहेका छैनन् ।’

प्रमुख जिल्ला अधिकारी तामाङ भने मन्त्रिपरिषद्को वैशाख १९ गतेको निर्णयपछि सीमा नाकामा कडाइ गरिएको बताउँछन् ।

एकातिर स्थानीयले नै लापरवाही गरिरहँदा सरकारी निकायबाट पनि जिल्लामा कोरोना नियन्त्रणका लागि कुनै तयारी गरिएको छैन । सर्लाहीमा हालसम्म कुनै पनि ठाउँमा आइसोलेसन तयार गरिएको छैन ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नायक हरिवनमा अक्सिजनसहितको ६० बेडको आइसोलेसन तयार भएको भइरहेको जानकारी दिए । उनका अनुसार सदरमुकाम मलंगवास्थित नर्सिङ क्याम्पसलाई पनि आइसोलेसन बनाउने तयारी भइरहेको छ ।

यस्तै बागबानी केन्द्रमा नेपाली सेना र नेपाल प्रहरीको निगरानीमा आइसोलेसन केन्द्र बनाउने तयारी भइरहेको प्रजिअ तामाङले बताए ।

उनका अनुसार स्थानीय तहहरुले गत वर्षको महामारीमा जस्तै आइसोलेसनको व्यवस्था गर्ने सक्रियता यसपालि देखाएका छैनन् ।

सुस्त जनप्रतिनिधि

कोरोना नियन्त्रण तथा रोकथामको सवालमा यसअघि भएका बैठकमा सबै स्थानीय तहका प्रमुखलाई बोलाइएपनि धेरै नआएको प्रजिअ तामाङको भनाइ छ । ‘भर्खरै वैशाख १५ गते बैठक राखेका थियौं, त्यसमा धेरै आइदिएनन्,’ तामाङले भने, ‘अब वैशाख २३ गते बिहीबार पुनः बैठक राखेका छौं । त्यसमा पनि सबैलाई बोलाएका छौं ।’

वैशाख २३ गतेको बैठकका लागि जिल्ला समन्वय समितिले पनि अनि आफूले पनि अनिवार्य सहभागिताका लागि पत्राचार गरिएको उनले बताए । ‘बैठकमा कोरोना नियन्त्रण गर्ने सन्दर्भमा स्थानीय तहलाई जागरुक बनाउँदै मन्त्रिपरिषद्को वैशाख ६, १३ र १९ गतेको निर्णय कार्यान्वयन गराउने नीति छ,’ उनले भने ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नायक जनशक्ति सबैभन्दा बढी पालिकामा रहेकाले पालिकालाई गत वर्ष झैं क्वारेन्टिन र आइसोलेसन पुनस्र्थापना गरेर काम अगाडि बढाउनुपर्ने जरुरी रहेको बताउँछन् । ‘आफ्नो पालिकाको नागरिकको स्वास्थ्यका लागि त्यहींका जनप्रतिनिधिलाई सक्रियता देखाउनु जरुरी छ,’ उनी भन्छन्, ‘बाँकी सबै सरोकारवाला पनि गम्भीर बन्नु जरुरी छ ।’

भेन्टिलेटर र आईसीयू राख्नै समस्या

जिल्ला अस्पताल मलगंवामा चारवटा भेन्टिलेटर र १० बेडको आईसीयू छ । तर यो राख्नलाई ठाउँकै अभाव देखिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नायक बताउँछन् ।

तीन महिना अगाडि नै भवन भत्काएर नयाँ बनाउने काम शुरु भएपनि ठेकेदारले तत्कालै निर्माण प्रक्रिया अघि नबढाउँदा यस्तो अवस्था आएको उनको भनाइ छ । ‘तर पछिल्लो समयमा सिडिओ सरसँग ठेकेदारको छलफल भएपछि काम अगाडि बढाउने कुरा भएको छ,’ नायक भन्छन्, ‘अर्काे कुरा जनशक्तिको पनि अभाव छ ।’

हालको जनशक्तिले पार लाग्ने अवस्था नदेखिएकाले प्रदेश सरकारले सोमबार मात्रै गरेको जनशक्ति व्यवस्थापन गर्ने निर्णयले केही राहत मिल्ने उनको भनाइ छ ।

जटिल अवस्थामा व्यवस्थापन पक्षले कुशलतापूर्वक नेतृत्व गर्नु जरुरी रहेको भन्दै उनले राजनीतिक, सामाजिक क्षेत्रको समेत सहयोग जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment