Comments Add Comment

कोरोना कहर : गैरजिम्मेवार राजनीतिक दल

मुलुकमा कोरोना प्रकोपको दोस्रो लहरसँगै नयाँ स्वरुपका बिरामीले फेरि एकपटक सिङ्गो मुलुक अस्तव्यस्त बनेको छ । मुलुकले कोरोनाको फेरि अर्को कहर व्यहोर्दैछ ।

नेपालमा पनि कोरोनाको संक्रमण दर तीव्र रूपमा फैलिरहेको छ । सरकारले निषेधाज्ञा जारी गरेतापनि संक्रमितको संख्या घट्नुको साटो दिनप्रतिदिन बढिरहेको छ । आफूलाई शक्तिशाली मान्ने देशहरू नाङ्गो आँखाले देख्न नसकिने भाइरससँग निरीह बनिसकेका छन् ।

यतिबेला सरकार बेपर्वाह र जिम्मेवारीबाट पन्छिएको जस्तो देखिन्छ । शायद सरकार र राजनीतिक दल नागरिक तथा देशप्रति संवेदनशील भइदिएको भए संभवतः मुलुकले अहिले अनेक ढंगका अप्ठेराहरू व्यहोर्नुपर्दैनथ्यो होला ।

यस्ता कहरहरूमा सरकारले सचेतनाका अभियान चलाउन नसकेको गुनासो सर्वसाधारण नागरिकबाट पनि उत्तिकै आएको पाइन्छ । समय छउन्जेल होहल्ला गर्ने, सत्ता झिनाझपटीमा व्यस्त रहने, आफंै नाराजुलूस तथा सभा–सम्मेलन गर्ने र जब समय घर्किन्छ त्यसपछि कोकोहोलो मच्चाउने नेपाली राजनीतिसँगै सरकार पनि निकै गैरजिम्मेवार देखिन्छ । समय हुन्जेल सिन्को नभाँच्ने र समय घर्किएपछि कोकोहोला मच्चाउने र जनतालाई थप सकसमा पार्ने एक खालको संस्कार र संस्कृति जस्तै बनिसकेको छ ।

छिमेकी मुलुक भारतसँग सीमा खुला भएका कारण मानिसको आवतजावत बढी मात्रामा हुने गरेको छ । भारत जहाँ कोरोनाका बिरामी सास फेर्न नपाएर तड्पी–तड्पी मर्ने अवस्था छ । राज्यका सबै संयन्त्र अदृश्य कोरोनाभाइरससँग प्रायः असफल भइसकेको स्थिति छ ।

भारत सरकारले अस्पतालमा देखिएको शय्या, स्वास्थ्यकर्मी र सास फेर्न अक्सिजनको अभावलाई पनि पूर्ति गर्न सकेको छैन । नागरिक सडकमै तड्पिएर ज्यान गुमाउन विवश छन् ।

स्वास्थ्य क्षेत्रमा सबल मानिएको भारत हात फैलाउन बाध्य छ भने नागरिक सरकारमाथि भरोसा गरेर बसिरहेका छन् ।

तर भारत सरकारले अस्पतालमा देखिएको शय्या, स्वास्थ्यकर्मी र सास फेर्न अक्सिजनको अभावलाई पनि पूर्ति गर्न सकेको छैन । नागरिक सडकमै तड्पिएर ज्यान गुमाउन विवश छन् । यहाँसम्म कि दाहसंस्कारका लागि समेत टोकन सिस्टम लागू भइरहेको छ । घण्टांै लाइनमा बसेर आफ्नो शवको दाहसंस्कार गर्नुपर्ने अवस्था छ ।

दुर्भाग्यवश मृत्यु भइसकेपछि घाट पाउन समेत झन् ठूलो युद्ध गर्नुपरेको छ । कोरोनाको कारण मृत्यु भइसकेपछि घाट लैजान शववाहन नपाएपछि शवलाई आफ्नै कारको छतमा बाँधेर एक्लै घाट लगेका परिदृश्यलाई पनि हामीले छिमेकी देश भारतमा देखिरहेका छौं ।

भारतका दर्जनौं राज्यमा सयौं शव एकसाथ जलिरहेका छन्, मसानघाट कुनै खाली छैनन् । कतिबेला खाली हुन्छ र आफन्तको शव जलाउने पालो आउँछ भनेर मसानघाटका बाहिरी सडकमा शवको लाइन लगाइएको अवस्था छ ।

अस्पतालमा बेड र अक्सिजन हाहाकारको त कुरै छोडौं, मसानघाटकै सडकमा अक्सिजन लगाएर मानिस जीवन र मृत्युको दोसाँधमा बाँचिरहेका छन् । शववाहनले शव ओसार्न नसकेर ट्याम्पोमा पनि शव ओसार्नुपर्ने अवस्था आइरहेको छ । अहिले भारतको अवस्था हेर्ने हो भने संक्रमितसँगै मृतकको संख्या अनियन्त्रित भइरहेको छ ।

विशेषतः भारतमा विश्वलाई नै त्रसित बनाउने गरी फैलिएको कोरोना संक्रमणप्रति नेपाल बेलैमा सचेत नबनेको देखिन्छ । जब नेपालमा पनि कोरोनाको नयाँ भेरियन्टको वृद्धि भयो तब सरकारले चाल्नुपर्ने कदम र गर्नुपर्ने तयारी धेरै थियो । बरु सरकारले उपचारको समस्या हुँदैन, अक्सिजनको नेपालमा समस्या छैन जस्ता भ्रामक कुरा गरिरह्यो । तर व्यवहारमा अहिले त्रासद अवस्था देखिन थालिसकेको छ ।

समय ढिला भइसकेपछि सरकारले ठाउँ–ठाउँमा निषेधाज्ञा जारी गरेको अवस्थालाई हेर्दा बल्ल सरकार अलिकति ब्युँझिएको हो कि भन्ने लाग्छ । ‘घरमा आगो लागिसकेपछि कुवा÷इनार खन्ने प्रवृत्ति’ हामीमाझ मौलाउँदै गएको छ । कोरोना संक्रमणको सन्दर्भमा पनि योभन्दा भिन्न अवस्था देखिंदैन ।

कोरोना कहरको एक वर्षको बीचमा सरकार कोरोनालाई जित्ने भन्दा पनि राजनीतिक खिचातानी र धर्म, कर्म तथा जात्रामा व्यस्त भयो । राजनीतिक दल र सरकार कोरोनाको कहरलाई चटक्कै बिर्सेर राजनीतिक प्रतिस्पर्धामा उत्रिन पुगे ।

जसका कारण मुलुकभर आमसभा र जुलूस प्रदर्शन भए । सरकारले संक्रमण जोखिमलाई न्यूनीकरण गर्नका लागि भन्दै सचेतनामूलक सन्देशहरू प्रवाह गर्ने र सरकारका प्रधानमन्त्री नै निकै भीडभाडयुक्त आमसभामा गएर सम्बोधन गर्नेसम्मका कार्य भइरहे । न त प्रतिपक्ष न अन्य दलहरूले समेत सडकमा आफ्नो शक्ति प्रदर्शन गर्न बाँकी राखे ।

उसो त राजनीतिक दलहरूको यो हर्कत देखेका तपाईं, हामी सर्वसाधारण पनि विवेकशील भएनौं । कोरोनाको के डर ? भन्ने मनोविज्ञानमा हामीले जात्रा र नयाँ वर्षमा पशुपतिलगायतका अन्य ठाउँमा हुलहुज्जत तथा भीडभाड गर्न पछि परेनौं । जसका कारण नयाँ स्वरुपको कोरोनालाई अहिले हामीले झेल्नु परेको छ ।

राजनीतिक दलका नेता यतिबेला सरकार ढाल्ने र सांसद खरीदबिक्री गर्ने खेलमा लिप्त छन् । राजनीतिमा पनि अराजनीतिक चरित्र प्रदर्शन गरिरहेका दृष्टान्त गण्डकी र लुम्बिनी प्रदेशमा हामीले देखिसक्यौं ।

देशमा कोरोना संक्रमण भयावह हुने अवस्थामा छ । देशभित्र उपचार पद्धति अत्यन्तै कमजोर र फितलो छ । मुख्य रूपमा अस्पताल तथा बेड र कोरोना उपचारका लागि नभई नहुने अक्सिजन सिलिण्डरको अभावका कारण दुःखद अवस्था छ । देशमा अक्सिजन भर्ने सिलिण्डर छैन भन्दा योभन्दा दुःखद अवस्था के होला ?

‘घरमा आगो लागिसकेपछि कुवा खन्ने प्रवृत्ति’ हामीमाझ मौलाउँदै गएको छ । कोरोना संक्रमणको सन्दर्भमा पनि योभन्दा भिन्न अवस्था देखिंदैन ।

गत सोमबार नवलपुरको देवचुली नगरपालिकाभित्र कोरोना संक्रमित बिरामी बोक्ने एम्बुलेन्स मगाउँदै गर्दा नपाएपछि बिरामीलाई ट्याक्टरमा राखेर हस्पिटल लैजानुप¥यो । सोही कारण उनको मृत्यु भयो । यो अवस्थालाई हेर्दा नेपालमा पनि भारतमा जस्तो अवस्था नहोला भन्न सकिंदैन ।

पछिल्लो समयमा पशुपतिको शवदाह वरिपरि कोरोनाबाट संक्रमित शवको संख्या बढेसँगै बिहानदेखि बेलुकासम्म देखिने आफन्तको घुइँचो र रुवावासीको दृश्यले मानिसको मनमा सन्त्रास फैलाएको छ ।

गत एक–दुई दिनयता हामीले खुला वागमती नदीको किनारमा शवको सद्गत गर्नेको घुइँचोलाई देख्न सक्छौं । यो दृश्यले पनि भन्न सक्छौं कि नेपालमा कोरोना संक्रमणको अवस्था भयावह बन्न सक्ने देखिन्छ ।

कोरोनासँग लड्ने प्रशस्तै समय नेपालसँग हुँदाहुँदै पनि देशको सरकार, राजनीतिक दल र सर्वसाधारण नागरिकले कोरोनालाई अत्यन्त सामान्य रूपमा लिएका कारण अहिले कोरोना संक्रमणका नाउँमा घरभित्र थुनिनुपर्ने अवस्था सिर्जना भएको छ ।

कोरोनाको त्रासका बीचमा रोगलाई आमन्त्रण गर्नका लागि स्वयं प्रधानमन्त्री तथा अन्य राजनीतिक दलका नेता, कार्यकर्ता र दललाई रिझाउनका लागि सडकमा ढुंगा हान्ने प्रवृत्तिले गर्दा मुलुकभर कोरोना जोखिमको सन्त्रास फैलिएको छ ।

कोरोना महामारी जस्तो विषयमा पनि सचेत नहुने सरकार र सरकारलाई घचघच्याउन नसक्ने प्रतिपक्ष तथा राजनीतिक दल हुनुको के अर्थ ?

कोरोना संक्रमण यो स्थितिमा पुग्नुमा दोषी को ? हामी जिम्मेवार नागरिकले यस्ता महामारीजन्य रोगसँग लड्नका लागि सरकार र सम्बन्धित निकायलाई घचघच्याउनुका साथै सरकारले दिएका निर्देशनलाई पालना गरी सरकारका निर्देशनप्रति सचेत रहनुको विकल्प छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment