Comments Add Comment

पाँच दिनमै भरियो आइसोलेसन केन्द्र, अधिकांशलाई चाहिन्छ अक्सिजन सपोर्ट

२२ वैशाख, पोखरा । स्याङ्जा गल्याङ नगरपालिका–११ का ५० वर्षीय पुरुषमा शनिबार कोरोना संक्रमण पुष्टि भयो । होम आइसोलेसनमा बसेका उनलाई आइतबार एक्कासी सास फेर्न गाह्रो भयो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड आइसोलेसन सुरु भएको एक दिनमात्र भएको थियो । बेडको अवस्था बुझेर बिरामीलाई गल्याङदेखि प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा पुर्‍याइयो ।

अस्पताल ल्याइपुर्‍याउँदा अक्सिजन लेभल ७२ प्रतिशत थियोे । उपचारका क्रममा सुधार आएपनि मंगलबार राति एक्कासी अक्सिजनको लेभल घट्यो । कोभिड निमोनियाका कारण आइसोलेसनमा उपचारका क्रममै मंगलबार राति उनको मृत्यु भयो ।

‘कोभिडको दोस्रो लहरमा ठीक भए भनेका बिरामीलाई कतिबेला के हुन्छ भन्ने थाहै हुँदैन,’ प्रतिष्ठानका कोभिड फोकल पर्सन डा. शरद बराल भन्छन् । उनकाअनुसार दोस्रो लहरमा ४०/५० उमेर समूहका संक्रमितहरु पनि अस्पताल आउनु परेको छ र अधिकांशलाई अक्सिजनको सपोर्ट दिनु परेको छ । ह्वात्तै अक्सिजनको मात्र कम हुँदा कतिपयलाई अस्पताल पुर्‍याउन समेत भ्याइँदैन ।

१९ गते गण्डकीमा ८ जना कोरोना संक्रमितले ज्यान गुमाए । भोलिपल्ट चार जनालाई कोरोनाले नै ज्यान लियो । बुधबार स्याङ्जा र पर्वतका दुई जनाले ज्यान गुमाए । डा. बरालका अनुसार पहिले लहरमा कोरोनाले धेरै दीर्घरोगीको ज्यान लिएको भएपनि अहिले २० देखि ४०/५० वर्ष उमेर समूहका मानिस बढी प्रभावित भएका छन् ।

पाँच दिनमा भरियो कोभिड उपचार केन्द्र

पहिलो लहर कम भएर बन्द गरिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड आइसोलेसन पाँच दिनअघि मात्र पुनः सुचारु गरिएको हो । संक्रामक तथा सरुवा रोग अस्पताल भरिभराउ भएपछि त्यहाँका दुई जना गम्भीर बिरामीलाई आईसीयूमा राखेर उपचार थालिएको आइसोलेसन केन्द्र अहिले भरिइसकेको छ । डा. बराल भन्छन्, ‘५० बेड क्षमताको आइसोलेसनमा ४८ जना बिरामी पुगिसकेका छन् र बेड खोज्नेहरुको फोन आउन छाडेको छैन ।’

उनका अनुसार त्यहाँ उपचाररत करिब ९५ प्रतिशत बिरामीलाई अक्सिजन सपोर्ट दिनुपरेको छ । ‘यसबाटै अनुमान गर्न सक्नुहुन्छ यो कति भयावह छ,’ डा. बराल भन्छन् । प्रतिष्ठानमा अहिले दैनिक ६० सिलिन्डरसम्म अक्सिजन खपत भइरहेको छ, जसको व्यवस्थापन चुनौतीपूर्ण छ । उनका अनुसार बेडको खोजीमा बुटवल, दाङदेखिबाट समेत फोन आउने गरेको छ । तर उनलाई भने संक्रमितको संख्या बढेसँगै पोखराकै चाप धान्न नसक्ने हो कि भन्ने चिन्ता लाग्न थालेको छ । ‘अहिले धेरै जना अक्सिजनको मात्रा घट्दै गएको अवस्थामा अस्पताल आउनुहुन्छ । धेरैमा यस्तो समस्या देखिन थाल्यो भने थेग्न सक्दैनौं,’ डा. बरालले भने ।

कोरोनाको पहिलो लहर सकिएर दोस्रो लहर शुरु भइसक्दा पनि सरकार र सरोकारवाला गम्भीर नहुँदा अहिले पनि पूर्वाधार तयार नभएको चिकित्सकहरुले बताएका छन् । प्रदेश सरकार र स्थानीय तहले बेलैमा सोचेर आइसोलेसन बनाउने काम गरेको भए अहिले ठूलो समस्या नआउने प्रदेश संक्रामक तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचन बताउँछन् ।

कोरोनाले भयावह अवस्थाको संकेत गरेपछि मात्र सरकार झस्किएको उनीहरुको भनाइ छ । ‘दिनानुदिन कोरोना महामारी बढ्दै गएको अवस्थामा अक्सिजन पनि एकदमै आवश्यक रहन्छ । छिटोभन्दा छिटो आइसोलेसन कक्षहरु विस्तार र बेडहरु बढाउनुपर्ने अवस्था छ,’ डा. बरालको सुझाव छ, ‘हामीलाई चुनौती पनि छ । एकातिर कोभिड बिरामीको पनि उपचार, नियमित उपचार सेवा गरिराख्नुपर्छ । थोरै मानव संशाधनले सबैतिर भ्याउनु परिरहेको छ ।’

गण्डकीमा अहिलेसम्मकै उच्च संक्रमण दर

सरकारी तथ्यांकमा गण्डकी प्रदेशमा १९ वैशाखमा एकै दिन ५७६ जनामा संक्रमण पुष्टि भएको देखिएको थियो । तर शुक्रबार र शनिबारको समेत गरी आइतबार सार्वजनिक गरिएको तथ्यांक थियो । तर, बुधबार गण्डकी प्रदेशमा कोरोना संक्रमणको दरले अहिलेसम्मकै नयाँ रेकर्ड कायम गरेको छ ।

गण्डकी प्रदेशमा बुधबार एकैदिन ५७४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या ३ हजार ३१ जना पुगेको छ । ‘गण्डकी प्रदेशमा कोरोना सुरु भएयता सक्रिय संक्रमितको संख्या यति ठूलो पहिलो पटक रेकर्ड कायम भएको हो,’ प्रदेश स्वास्थ्य निर्देशक विनोद बिन्दु शर्माले भने, ‘अवस्था धेरै भयावह हुने बाटोमा छ । यो डरलाग्दो संकेत हो ।’

गण्डकीमा सबभन्दा बढी प्रभावित जिल्ला कास्की हो । बुधबार मात्र कास्कीमा २९२ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १८०१ छ ।  बागलुङ सक्रिय संक्रमितको संख्या २७४ पुगेको छ । पहिलो लहरमा बढी प्रभावित भएको नवलपुरलाई अहिले २४१ जना संक्रिय संक्रमित छन् । स्याङ्जामा २१८ जना सक्रिय संक्रमित छन् । गण्डकीमा अहिलेसम्म कोरोना संक्रमणबाट २३७ जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment