+
+

बेलझुण्डी अस्पतालको बिजोग : व्यवस्थापकले भने- ‘अब बिरामी भर्ना गर्न सक्दैनौं’

विनोद घिमिरे विनोद घिमिरे
२०७८ वैशाख २३ गते ९:४१

२३ वैशाख, दाङ । एमाले नेता शंकर पोखरेलले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्तिको बधाई पाइरहँदा उनकै गृहजिल्लामा अवस्थित कोरोना विशेष अस्थायी अस्पतालमा अक्सिजन अभावले विरामीहरु छटपटाइरहेका थिए । अक्सिजनको जोहो समयमै नहुँदा एकजनाको त ज्यानै गयो । दुई जना बिरामीलाई उनका आफन्तले हेलिकप्टर चार्टर्ड गरेर काठमाडौं पठाए ।

अक्सिजन अभावले विरामी र तिनका आफन्त हायलकायल थिए । उनीहरुले व्यक्तिगत पहलमा एक–दुईवटा सिलिण्डर जसोतसो जोहो गर्थे तर ती सिलिण्डर पनि एकैछिनमा रित्तिन्थे । अस्पतालका चिकित्सक तथा कर्मचारीहरु कहिले अक्सिजन आपूर्तिकर्तालाई गाडी कतिबेला आइपुग्छ भनेर सोध्थे, कहिले नेताहरुलाई फोन गरेर अस्पतालको व्यथा सुनाउँथे ।

अस्पतालका व्यवस्थापक द्रोण ओलीले गाडीवालालाई टेलिफोनमा भन्थे, ‘४० जना विरामीहरुलाई तत्काल अक्सिजन चाहिएको छ । हामीसँग भएको अक्सिजनले राति नौ बजेसम्म मात्र पुग्छ । त्यसपछि के हुने हो थाहा छैन ।’

‘अब बिरामी भर्ना गर्न सकिँदैन’

व्यवस्थापनमा व्यस्त ओली अनलाइनखबरको आग्रहमा ‘पाँच मिनेट’को सर्त राखेर कुरा गर्न तयार भए ।

ओलीका अनुसार अस्पतालमा भर्ना हुने विरामीहरुको संख्या बढ्दो छ । तर अक्सिजनको आपूर्ति सहज र पर्याप्त छैन । अक्सिजन लिन दिनहुँ बाँकेको नेपालगञ्जसम्म धाउनुपर्छ । अक्सिजन बोकेको गाडी आइपुग्न एक घण्टामात्रै ढिलो भयो भने वा बीचबाटोमै बिग्रियो भने बिरामी ज्यान जोखिममा पर्छ ।

‘सप्लायर्सले भनेअनुसार अक्सिजन भर्ने ठाउँमा पनि पालो कुर्नुपर्छ रे । अस्पतालको अहिलेको अवस्था हेर्ने हो भने हामीलाई एक मिनेट पनि ढिलो गर्न छुट छैन,’ व्यवस्थापक ओलीले भने, ‘आइतबार एकैछिन ढिलो हुँदा तुलसीपुरका एकजना बुवालाई गुमाउनुपर्‍यो ।’

अक्सिजन भर्न हरेक दिन तीन घण्टाको दुरी पार गर्दै नेपालगञ्ज–बेलझुण्डी आउ–जाउ गर्नुको विकल्प छैन । अक्सिजन ढुवानी गर्ने गाडी बिग्रियो भने वैकल्पिक व्यवस्था छैन ।

‘अहिले एक दिनमा २४० वटाको दरले खपत हुन थाल्यो । यो अवस्थामा हामी एउटा गाडीको चारवटा पांग्रामा भर परिरहेका छौं,’ ओलीले भने, ‘धेरै पटक, धेरै ठाउँमा भनसुन गर्दा पनि अहिलेसम्म आपूर्ति सहज बनाउन सकेका छैनौं ।’

संक्रमितको संख्या थपिएसँगै अक्सिजन पनि अभाव भएकाले अब नयाँ भर्ना गर्न नसक्ने ओली बताउँछन् । हाल अस्पतालमा ५७ जना कोरोना संक्रमित बिरामी उपचाररत रहेको जानकारी दिँदै उनले भने, ‘अक्सिजनको सहज र प्रयाप्त उपलब्ध नभएको हुँदा कसैले पनि बिरामी भर्नाको लागि सिफारिस र दबाब नगरिदिनुहुन अनुरोध गर्दछु ।’

‘पैसा कागजसरह भयो, सिलिण्डर अमृतसरह’

सुरुमा ३५ बेड क्षमतामा सन्चालन गरिएको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा विरामीको चाप बढेपछि शय्या पनि थपिएको छ । अस्पतालमा १० आइसियू, ५० एचडियू र ४० सामान्य गरी एकसय शय्या तयार पारिएको छ । बेड थपिए पनि अक्सिज सिलिण्डर थपिएनन् । डाक्टर, नर्स लगायतको संख्या पनि अपुग छ । तर समस्या समाधानका लागि प्रदेश र स्थानीय सरकारले पर्याप्त ध्यान नदिएको गुनासो अस्पताल व्यवस्थापकको छ ।

‘नेताहरु सरकार गिराउन र बनाउन व्यस्त हुनुभएको छ, उहाँहरुलाई यहाँको हालतको मतलब छैन,’ ओलीले भने, ‘उदघाटन, सम्मानको कार्यक्रम भए सेता नम्बर प्लेटका गाडीका ताँती लगाएर आउँछन् । विरामीको उपचारमा समस्या भयो भन्दा नाकमुख देखाउँदैनन् ।’

दाङ भारतसँग सीमा जोडिएको छ । रोजगारी र व्यापार व्यवसायका लागि भारत आउ–जाउ गर्नेहरु यहाँ धेरै छन् । जब भारतमा कोरोनाको दोस्रो लहर अत्यधिक बढ्यो र तब अस्पताल सन्चालकले भारतको जस्तै अवस्था नेपालमा पनि हुने आँकलन गरे । त्यसैले दाङका सबै स्थानीय तहका जनप्रतिनिधिहरुसँग बैठक राखेर अक्सिजन सिलिण्डर भरेर राखिराख्न भनियो । उतिबेलै आफूहरुको आग्रहलाई स्थानीय तहले बेवास्ता गर्दा पनि अहिले अप्ठेरो परेको अस्पताल व्यवस्थापक ओली बताउँछन् ।

‘हामीले सबै स्थानीय तहलाई कम्तिमा १०÷१० वटा अक्सिजन सिलिण्डर भरेर राख्नुस् है भनेका थियौं । उहाँहरुले बजेट छैन भन्नुभयो,’ ओलीले भने, ‘अहिले उहाँहरुले पैसा निकाल्नु भएको छ तर हामीसँग अक्सिजन सिलिण्डर छैन । पैसा कागजसरह भयो, सिलिण्डर अमृतसरह ।’

कर्मचारीको समस्या पनि उस्तै

बेलझुण्डी अस्पताल अक्सिजन मात्रै होइन, चिकित्सक तथा स्वास्थ्यकर्मीको अभावको पनि मारमा छ । विरामीको चाप बढेसँगै अस्पतालले तीनदिने म्याद दिएर १५१ जना कर्मचारी भर्नाको विज्ञापन खुलाएको थियो । तर डाक्टर, नर्स लगायतको आवेदन थोरै मात्र परेको छ ।

अस्पतालका व्यवस्थापक ओलीका अनुसार १४ जना कन्सलटेन्ट डाक्टरको भर्ना खुलाउँदा दुई जनाको मात्रै आवेदन परेको छ । यसैगरी ४९ जना स्टाफ नर्सको विज्ञापनमा २२ जनाको आवेदन परेको उनले जानकारी दिए ।

‘निवेदन दिएकाहरुलाई परीक्षा पनि नलिइकन तत्कालै काममा लगाउने भनेर हामीले तीन दिनको म्याद राखेर विज्ञापन खुलाएका थियौं तर आवेदन थोरै पर्यो,’ ओलीले भने, ‘हाम्रो दरबन्दी पूरा गर्नैपर्ने भएकाले म्याद गुजारेर आएकाहरुलाई पनि लिन्छौं ।’

कोरोनाको पहिलो लहर सुरु भएपछि दाङको बेलझुण्डीमा कोरोना विशेष अस्थायी अस्पताल बनाइएको थियो । प्रदेश सरकारले १७१ जनाको दरबन्दी स्वीकृत गरेको थियो । तर हाल विभिन्न पदमा ५१ जनामात्रै कार्यरत छन् । बाँकी १२० जनाका लागि यही वैशाख १९ गते भर्ना खुलाइएको थियो ।

अहिले कायम जनशक्तिमध्ये पनि केही नर्सहरु बिरामी परेकाले सेवा प्रवाहमा समस्या परेको ओली बताउँछन् । ‘अहिले ३६ जना नर्सहरु हुनुहुन्छ, उहाँहरुमध्ये पनि कसैलाई ज्वरो आउने, कसैलाई पखाला लाग्ने लगायतको समस्या छ,’ ओलीले भने, ‘विरामीको स्याहारमा खटिने नर्सहरु सबैभन्दा धेरै आवश्यक छ ।’

सरकारबाट सहयोग नपाएको गुनासो

दाङमा बेलझुण्डी र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित बिरामीको उपचार हुँदै आएको छ । यी अस्पतालले थेग्ने अवस्था नदेखिएपछि स्थानीय तहहरुले पनि अस्थायी अस्पताल निर्माणलाई तीव्रता दिएका छन् ।

स्थिति भयावह हुँदै जाँदा पनि सरकारबाट सहयोग नपाएको गुनासो अस्पताल व्यवस्थापकको छ । मुख्यमन्त्री र सांसदहरु यही जिल्लाका हुँदा पनि अभिभावकविहीन भएको महसुस भएको गुनासो कर्मचारीहरुको छ ।

‘कोरोना अस्पताल स्थापना भएको मितिदेखि खटिएको कर्मचारी हुँ म । हिजोको मितिमा जसरी सरकारले द्रुत गतिमा काम गर्थ्यो त्यसरी आजको मितिमा काम गरेको छैन,’ व्यवस्थापक ओलीले भने, ‘हामीले प्रदेशको पहिलेको सामाजिक विकास मन्त्री सुदर्शन बराललाई मिस गरेका छौं । उहाँलाई यहाँको जानकारी गराएपछि आधा–एक घण्टाभित्र रिजल्ट दिनुहुन्थ्यो । अहिलेको मन्त्री को हुन् थाहा छैन, अस्पताल कहाँ छ, कसरी चलेको छ कसैलाई मतलब छैन ।’

दाङको अवस्था निकै पीडादायी छ: गौतम

दाङको अवस्था निकै पीडादायी भएको माओवादी केन्द्रका नेता जीवन गौतम बताउँछन् । कोरोना अस्पताल व्यवस्थापन समिति सदस्यको रुपमा भूमिका निर्वाह गरिसकेका गौतमले सार्वजनिक अपील गर्दै भनेका छन्, ‘यतिबेला दाङमा न अस्पतालमा बेड छ, न अक्सिजन छ । यो महासंकटको बेलामा नेतृत्व लिनुपर्ने निकायहरु सुतेर बसेका छन् । अरु सब छाडौं, जनताको जीवन बचाऔं, तपाईंको सम्पर्कमा कतै अक्सिजन सिलिण्डर छन् भने जति हुन्छ, उपलब्ध गराउनुस्, त्योभन्दा ठूलो मानवीय कर्म आजका मितिमा केही हुने छैन ।’

गौतमले सामाजिक सन्जालमा दाङको अवस्था यसरी वर्णन गरेका छन्–

म आफैं पनि केही दिनदेखि बिरामी छु । चिकित्सकले काठमाडौंमै बसेर उपचार गराउन भनिरहेको बेला मनले नमानेर दाङ आएको छु । दाङको अवस्था निकै पीडादायी छ, मन भत्भति पोलिरहेको छ । बैशाख १९ गते गते कोरोना बिशेष अस्पताल बेलझुण्डीका दुई चिकित्सकको फोन आयो– अक्सिजन सकियो, अब विरामी बचाउन सकिने अवस्था छैन । त्यो दिन झण्डै ६० जना विरामी जोखिममा थिए । अघिल्लो वर्ष कोरोना अस्पताल व्यवस्थापन समिति सदस्यको रुपमा भूमिका निर्वाह गरेकाले पनि चिकित्सकहरुले आशा गर्नु स्वाभाविक थियो ।

यो सूचना पाएपछि सिडिओसापसँग कुरा भयो र उहाँले सोनापुर सिमेन्टबाट चार वटा अक्सिजन सिलिण्डर ततल ब्यवस्था गर्नुभयो । तर, बिडम्बना अक्सिजन लैजान १५ मिनेट मात्रै ढिला हुँदा एक जनाको ज्यान गइसकेको थियो । तुलसीपुर उपमहानगर पालिकाका मेयरलाई अनुरोध गरेपछि उहाँले साना १६ वटा सिलिन्डर पठाउनुभयो । राति २ बजेसम्म सिडिओ र एसपी साप आफै लागेर खोजी गर्दा १६ वटा अक्सिजनसहितको सिलिन्डर फेला पार्नुभयो । त्यसदिन जसोतसो समाधान भयो ।

निकै जोडबल गरेर नेपालगञ्ज पठायो, उता पनि भनसुन नगरी अक्सिजन रिफिल गर्ने अवस्था नहुने, बाँकेका प्रजिअसँगको पटकपटकको समन्वयमा केही अक्सिजन जुटाउन सकियो । यसरी हुँदैन भने अर्को दिन सिडिओ साप र तुलसीपुरका, मेयरसहित कोरोना अस्पतालमा बैठक गरेर केही योजनाहरु बनाइयो । तर, पनि नेपालगञ्जको रिफिल सहज भइसकेको थिए । विहानै भरत भाको फोन आयो– दाइ बर्बाद भो, नेपालगन्जले २४ घण्टामा १३० सिलिन्डर मात्रै दिन्छु भन्छ के गर्ने ? हामी फेरि जिल्ला प्रशासन कार्यलयमा जम्मा भएर सल्लाह गर्यौं र सबैतिर भन्यौं– आजसम्म हामीलाई दैनिक ३०० सिलिन्डर चाहिन्छ । प्यूठान रोल्पा, रुकुमपूर्व र पश्चिम तथा सल्यानसम्म अक्सिजन दाङ्बाटै जान्छ, त्यसलाई पनि हिसाब गर्दा ४०० सिलिन्डर चाहिन्छ तर आजका दिनसम्म यो आवश्यकता पूरा भएको छैन ।

घोराहीमा अक्सिजन प्लान्ट छ तर नियमित विद्युत नभएकाले दैनिक ५०/६० सिलिन्डर भन्दा बढी उत्पादन हुन सकिरहेको छैन । नियमित बिजुली हुने हो भने दैनिक १५० सिलिन्डरसम्म उत्पादन हुन सक्छ । तेस्रो दिन पुनः जिल्ला प्रशासनमा भएको छलफल पछि नियमित विद्युत आपूर्तिका लागि पनि पहल भएको छ । दाङ घर भएका विद्युत प्राधिकरणका डीजिएम हरराज न्यौपानेसँगको समन्वयपछि उहाँले तीन दिनभित्र झिङ्नी सबस्टेसनबाट डाइरेक्ट फिडरको ब्यबस्थापन गर्ने बिश्वास दिलाउनुभएको छ ।

यतिबेला दाङमा न अस्पतालमा बेड छ, न अक्सिजन छ । यो महासंकटको बेलामा नेतृत्व लिनुपर्ने निकायहरु सुतेर बसेका छन् । अरु सब छाडौं, जनताको जीवन बचाऔं, तपाईंको सम्पर्कमा कतै अक्सिजन सिलिण्डर छन् भने जति हुन्छ, उपलब्ध गराउनूस्, त्योभन्दा ठूलो मानवीय कर्म आजका मितिमा केही हुने छैन ।

लेखकको बारेमा
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?