Comments Add Comment

एनएसएलको एकै खेलमा ९ गोल, काठमाडौं प्लेअफमा

२३ वैशाख काठमाडौं । काठमाडौं रेजर्स नेपाल सुपर लिगको प्लेअफमा प्रवेश गरेको छ । क्यामरुनी खेलाडी मेसोउके ओलोमोउको ह्याट्रिक मद्दतमा विराटनगर सिटी एफसीविरुद्ध पुनरागमन जित हात पार्दै काठमाडौं प्लेअफमा पुगेको हो ।

गोलको वर्षा नै भएको खेलमा काठमाडौंले विराटनगरलाई ५–४ गोलले पराजित गरेको हो । काठमाडौंका लागि मेसोउके ह्याट्रिक गर्दा स्टेफेन विनोङ समिर र छिरिङ गुरुङले एक–एक गोल गरे ।

विराटनगरका लागि पेड्रो मान्जीले दुई तथा एडालाजा सोमिडे र रन्जित धिमालले एक–एक गोल गरे ।

यो जितपछि ५ खेलबाट १० अंक जोडेको काठमाडौं दोस्रो स्थानमा उक्लिएको छ र प्लेअफ पुग्ने दोस्रो टिम बनेको छ । यसअघि नै धनगढी एफसी ५ खेलबाट १० अंक जोड्दै प्लेअफ पुगिसकेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको छैटौं मिनेटमै एडालाजा सोमिडेले कप्तान रन्जित धिमालको पासमा गोल गर्दै विराटनगरलाई पहिले अग्रता दिलाएका थिए ।

३३ औं मिनेटमा पेड्रो मान्जीले सन्तोष तामाङको पासमा अफसाइड ट्रयाप बिट गर्दै गोलकिपर कप्तान विकेश अगाडि बढेको अवस्थामा बिट गर्दै गोल गरे र वारटनगरको अग्रता दोब्बर पारे ।

दुई गोलले पछि परेको अवस्थामा काठमाडौंले ६ मिनेट अन्तरमा तीन गोल फर्काउँदै पहिलो हाफमा ३–२ को अग्रता बनायो ।

३५औं काठमाडौंका मेसुके ओलोमोउले गोल गर्दै गोल अन्तर घटाए । लगत्तै अर्को मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरी गरे । उनले डिफेण्डर विक्रम धिमाललाई बिट गर्दै गोल गरे ।

४१औं मिनेटमा प्राप्त फ्रिकिकमा स्टेफेन विनोङ समिरले गोल गर्दै काठमाडौंलाई ३–२ को अग्रता दिलाए । विजय धिमालले मेउसुकेलई फाउल गरेपछि प्रापत फ्रिकिकमा स्टेफन विनोङे गोल गरे ।

दोस्रो हाफमा थप चार गोल भयो । ६८ औं मिनेटमा मेसुकेले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे भने काठमाडौंलाई ४–२ को अग्रता दिलाए ।

दुई गोलले पछि परेको अवस्थामा विराटनगर पनि खेलमा फर्कने प्रयासमा थियो । ७९औं मिनेटमा विराटनगरका कप्तान रन्जित धिमालले करिब २५ यार्डबाट उत्कृष्ट गोल गर्दै खेल ४–३ को अवस्थामा पुर्‍याए ।

८२औं मिनेटमा छिरिङ गुरुङले गोल गर्दै काठमाडौंलाई ५–३ को अग्रता दिलाए । थप गरिएको चार मिनेटको इन्जुरी समयको चौथो मिनेटमा विराटनगर पेड्रो मान्जीले व्यक्तिगत दोस्रो गोल गरेपनि विराटनगरलाई खेलमा फर्कन ढिला भइसकेको थियो र काठमाडौं ५–४ गोलले विजयी भयो ।

तेस्रो जितपछि काठमाडौंले ५ खेलबाट १० अंक जोडेको छ । काठमाडौंले अब एफसी चितवनसँग खेल्न बाँकी छ ।

दोस्रो हारपछि ५ खेलबाट ७ अंक रहेको विराटनगर तेस्रो स्थानमा झरेको छ । विराटनगरले प्लेअफ पुग्न अब अन्तिम खेल जित्नैपर्ने दबाब बढेको छ । विराटनगरले अब ललितपुर सिटी एफसीसँग खेल्न बाँकी छ ।

सर्वाधिक गोलकर्तामा तीन खेलाडी

विराटनगरविरुद्ध ह्याट्रिकपछि मेसोउके सर्वाधिक गोलकर्तामा संयुक्त रुपमा शीर्ष स्थानमा उक्लिएका छन् । यस्तै दुई गोल गरेका विराटनगरका पेड्रो मान्जी पनि शीर्ष स्थानमा पुगेका छन् ।

धनगढी एफसीका ओलावाले आफिजसँगै काठमाडौंका मेसुके र विराटनगरका मान्जी ४ गोलसहित सर्वाधिक गोल गर्नेमा अगाडि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment