+
+

ओलीलाई हराउने उपयुक्त समय आएको छ : अष्टलक्ष्मी शाक्य

विनोद घिमिरे विनोद घिमिरे
२०७८ वैशाख २४ गते ११:३८

२४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन नजिकिइरहेको बेला राजनीतिक सरगर्मी बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दलका नेताहरुमात्रै होइन, राष्ट्रपति विद्यादेवी भण्डारीको समेत सक्रियता बढेको छ । राष्ट्रपति र प्रधानमन्त्रीको सक्रियतालाई एमालेको माधव–झलनाथ समूहलाई समेटेर एमालेलाई एकढिक्का बनाउने प्रयासको रुपमा हेरिएको छ ।

यो सक्रियताले के परिणाम दिन्छ भन्ने चासो बढेको छ । तर एमाले नेतृ अष्टलक्ष्मी शाक्य भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई हराउने उपयुक्त समय आएको बताउँछिन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भनिन्, ‘म त भन्छु केपी ओलीले हार्नुपर्छ । अहिले त्यो स्थिति बनेको छ ।’ 

पछिल्लो भेटघाटबारे शाक्यसँग अनलाइनखबरकर्मी विनोद घिमिरेले गरेको संक्षिप्त कुराकानी  –

पार्टीमा बाक्लो भेटघाट चलिरहेको छ, राजनीतिले नयाँ मोड लिने संकेत हो ? 

पार्टीमा अहिले ठीकै भइरहेको छ । यति बेला भेटघाट नगरेर कहिले गर्ने ? त्यसैले अहिलेको भेटघाट ठिकै छ । देशलाई सकारात्मक दिशामा लैजाने गरी परिणाम दिनुपर्छ ।

तपाईं पक्षका नेताहरुलाई अलग अलग भेटेर फकाउने प्रयास भइरहेको भनिन्छ नि ?

(हास्दै) यसको भ्रम नै नपरोस् । ओलीले हामीलाई त गर्नुसम्म गरेको हो नि । केपी ओलीलाई हामीले यतिसम्म गरेको भए केके भइसक्थ्यो । तर हामीले धैर्य गरेर आफूलाई सम्हाल्यौं, संयमित भएर बस्यौं । उहाँ सम्पूर्णरुपमा बेठिक हुनुभयो । उहाँको सोच बेठिक छ, शैली बेठिक छ । ओलीले अवैधानिक कदम चाल्नु हुन्छ । तानाशाही चरित्र देखाउनुहुन्छ । निरंकुशता लाद्नु हुन्छ । त्यसो भएको हुनाले उहाँले भनेका सबै कुरा मान्नुपर्छ भन्ने छ र ? हामी अगाडि बढ्ने हो ।

माधव नेपालले राष्ट्रपतिसँग भेटघाट पनि गर्नु भएको छ । के कुराकानी भयो ?

राष्ट्रपतिले गर्ने के हो र ? जहिले पनि जाली कुरा गर्ने त हो नि । जहिले पनि संकट निम्ताउने उहाँले, संकट मोचन गर्ने होइन । नक्कली कुरा गर्ने, अप्ठ्यारो पार्ने गर्नु हुन्छ । राष्ट्रपतिले बोलाउनु भयो, भेटघाट गर्नु भयो सकियो ।

एमालेजनलाई एकढिक्का बनाउने प्रयास गर्नु भएको भनिन्छ । त्यो त राम्रो हो नि ?

यो मुलुकमा हामीले गणतन्त्र बचाउने कि नबचाउने, लोकतन्त्र बचाउने कि नबचाउने ? लोकतन्त्र बच्यो, गणतन्त्र बच्यो भने पार्टी बच्छ । पार्टी बच्यो भने हामी बच्छौं । तर केपी ओली जीले यी सम्पूर्ण उपलब्धि सिध्याउन खोज्नु भएको छ । पार्टी फुटाइरहेको अवस्था छ । राष्ट्रियता, सार्बभौमिकतामाथि खतरा पैदा गर्ने गरी उहाँले खेलेका खेल त देखिरहेका छौं नि । अनि कसरी एकढिक्का हुन्छ । हामी जेठ २ मा फर्कौं भन्छौं, उहाँले मान्नु हुँदैन ।

तपाईंहरुले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने ?

यसबारेमा हामीले औपचारिक धारणा बनाइसकेका छैनौं । म त भन्छु केपी ओलीले हार्नुपर्छ । अहिले त्यो स्थिति बनेको छ । केपी ओलीले फेरि पनि जिते भने के हुन्छ स्थिति ? अब केपी ओलीले जित्नु हुँदैन । उहाँको जुन सत्ता मोह छ, शक्ति छ, अब त्यो उहाँले त्याग्न सक्नुहुन्न । त्यसैले यो उपयुक्त समय हो । यदि देश जोगाउनु छ भने, लोकतन्त्र जोगाउनु छ भने यो भन्दा विकल्प अरु छैन भन्छु म ।

तपाईंको मतलव माधव नेपाल पक्षले प्रधानमन्त्रीलाई मत दिँदैन ?

माधव नेपाल पक्षको होस्, माधव नेपाल पक्षको एक–एक व्यक्तिको कुरा होस्, अहिलेसम्म हामीले किन पीडा सहेर बस्यौं ? केपी ओलीले दिएको दुःख सहेर अपमान सहेर हामी किन बस्यौं ? केपी ओलीको दास बनेर, एसम्यान बनेर बस्न हो र ? हामीले सम्पूर्ण अपमान सहेर लोकतन्त्र जोगाउनका लागि, कम्युनिष्ट पार्टी जोगाउनका लागि, गणतन्त्र जोगाउनका लागि, राष्ट्रियता बचाउनका लागि नै हामी उभिएको हो नि त ? हाम्रा प्रत्येक सदस्यहरुको अरु स्वार्थ के छ र ? माधव नेपालको स्वार्थ के छ र ? यो कुरा पहिले बुझ्नुपर्छ के । पदको लडाइँ होइन, लोभै होइन ।

यसको भनाइअनुसार विश्वासको मत दिने दिनसम्म कांग्रेस, माओवादीसँगको गठबन्धनमा तपाईंहरु कायम रहनुहुन्छ ?

वास्तवमा जसरी हामी सबै मिलेर गणतन्त्र ल्याऔं, यो नेपाल बनाउन, गणतन्त्र बलियो बनाउनका लागि फेरि पनि राजनीतिक दलहरु छिन्नभिन्न हुनु हुँदैन । टुक्राटाक्री नभई एकजुट भएर, एअर्कालाई सहयोग गरेर अगाडि बढ्नुपर्ने बेला हो यो । तर हामी स्वार्थको राजनीति गर्दाखेरि आफैं–आफैं सिद्धिने स्थितिमा पुग्यौं । दलहरु अप्ठ्यारो स्थितिमा पुगे । पार्टी फुटाउने काम केपी ओलीले नै गर्नुभयो । त्यसो भएको हुनाले यति बेला सबै मिलेर देशलाई समृद्धि र विकासमा डोहो¥याउनुपर्छ ।

तर ओली जीले त यस्तो स्थिति तपाईंहरुले नै ल्याएको भन्नु हुन्छ नि ?

हामी पनि सचेत हुन सकेनौं होला, कतिपय कमीकमजोरी भयो होला त्यो बेग्लै मूल्यांकनको विषय हो । त केपी ओलीको सत्ता मोहले गर्दा, गणतन्त्र विरोधी सोचले गर्दा हामी क्रमशः एकपछि अर्को गलत दिशामा जाँदैछौं, अप्ठ्यारो बाटोमा जाँदैछौं । तर जोगाउन सकिन्छ । मलाई त के लाग्छ भन्दा प्रष्ट सोचका साथ एकताबद्ध भएर उभिने हो भने हामीले फेरि पनि हिजोको स्थितिमा फर्काउन सक्छौं । अब सिद्धियो, बर्बादै भइहाल्यो भन्ने मलाई लाग्दैन ।

ओली पछाडि सरकारको नेतृत्व कसले गर्ने ? यसबारेमा तपाईंहरुको गठबन्धनमा छलफल चलेको होला नि ?

त्यो त मलाई थाहा छैन । म त भन्छु व्यक्ति व्यक्तिमा नजाऔं । व्यक्तिलाई उचालेर, प्रशंसा गरेर नजाऔं । विग्रेको यहीँनेर हो । व्यक्तिलाई उचालियो भने त्यो व्यक्तिमा महत्वाकांक्षा जाग्छ, घमण्ड जाग्दो रहेछ । त्यसो भएको हुनाले सिस्टममा जाऔं, अनुशासनमा जाऔं, पार्टीमा जाऔं । यसो गरियो भने त्यसैबाट निर्णय हुने हो । जो आए पनि सही विचार बोकेको मान्छे आउनुपर्यो ।

 

लेखकको बारेमा
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?