Comments Add Comment
स्थलगत रिपोर्ट :

‘बचाउन सकिने बिरामीलाई पनि भर्ना लिन नसक्दा मन अमिलो हुन्छ’

२४ वैशाख, विराटनगर । चैत तेस्रो साता । बेलबारी नगरपालिका-४ मोरङका नवीन खवास, बुबाको उपचारका लागि नोबेल मेडिकल कलेज आइपुगे । उपचारपछि बुबा विनोद वैशाख १५ गते डिस्चार्ज भए ।

बुबालाई घर लैजानुअघि नै नवीनलाई स्वास्थ्यमा समस्या देखिन थालिसकेको थियो । १४ गते पीसीआर परीक्षण गराउँदा नेगेटिभ रिपोर्ट आएकाले घर गए । तर बुबालाई घर लगेकै दिन उनी नोबेल मेडिकल कलेज भर्ना भए । भोलिपल्ट पुनः परीक्षण गराउँदा नवीनलाई कोरोना संक्रमण देखियो । श्वासप्रश्वासमा समस्या भएपछि १७ गते आईसीयूमा सारियो । नवीनको कुरुवा श्रीमती सिर्जना बसेकी छन् ।

वैशाख १७ गते भर्ना भएको दिन नवीनसँग उनको दिनभर सम्पर्क भएन । फोन गर्दा फोन उठेन । सोधीखोजी गरेपछि चिकित्सकले भने, ‘अवस्था क्रिटिकल छ तत्काल भेन्टिलेटरमा राख्नुपर्छ ।’

बोल्दै आईसीयूमा गएका नवीनको एक्कासी अक्सिजनको (सेचुरेसन) मात्रा खस्किएको थियो । भेन्टिलेटर खाली भएका कारण उनले तत्कालै उपचार पाएर स्वास्थ्यलाभ गरिरहेका छन् ।

नवीनले आवश्यक परेका बेला तत्कालै बेड पाउँदा नयाँ जीवन पाए, तर नोबेलमा संक्रमितले बेड पाउन सकस छ । कलेजका प्रबन्धक नारायण दाहालका अनुसार गत शनिबारयता बिरामीको चाप बढेको छ ।

शुक्रबार सरकारसँग सम्झौता भएपछि नोबेलले संक्रमितको उपचार निःशुल्क गर्न थालेको छ । सुरुमा १० वेड आईसीयूसहित ७० बेडको आइसोलेसन सञ्चालन गरेको नोबेलले डेढ हप्तामा बेड संख्या १४४ पुर्‍याएको छ ।

जसमा ३९ वटा आईसीयू र ९ वटा भेन्टिलेटर छन् । बाँकी अक्सिजनसहितका बेड हुन् ।

कोरोना सङ्क्रमित आमालाई स्वासप्रश्वासमा समस्या भएपछि मुस्किलले बेड पाएको विराटनगरकी एन्जिला चापागाईले बताइन् । ‘बिरामीको सकसले दिने तनावभन्दा ठूलो पीडा बिरामीका लागि बेड नपाउँदा भयो’, उनले भनिन् ।

नोबेलमा मात्र होइन, विराट मेडिकल कलेजमा पनि बेड खाली छैन । विराटले ३२ वटा आईसीयू र १२ वटा भेण्टीलेटरसहित २०० बेडको अस्पताल सञ्चालन गरेको छ । तर आइसोलेसन कक्ष भरिभराउ भएको आइसोलेसन इञ्चार्ज सुनिल देवले बताए । उनका अनुसार आईसीयूमा नयाँ बिरामी भर्ना लिनका लागि कि त त्यहाँ भएका बिरामी निको हुनुपर्छ, कि त मृत्यु हुनुपर्ने अवस्था छ ।

प्रदेश सरकारले कोशी अस्पतालमा सञ्चालन गरेको कोभिड १९ उपचार केन्द्रमा पनि ५० जना संक्रमित उपचाररत छन् ।

‘चाहेर पनि आउनुहोस् भन्न सकिन्न’

नोबेल मेडिकल कलेजका कोभिड फोकल पर्सन दीपेश न्यौपानेका अनुसार पहिलो लहरमा संक्रमितहरुलाई बेड मिलाउन यतिविघ्न गाह्रो थिएन । दोस्रो लहर सुरु भएयता अस्पतालमा थामिनसक्नु चाप छ । बेड खोज्नेलाई फर्काउनुपर्ने बाध्यता छ । ‘बेड खोज्दै दिनमा १५० भन्दा बढी फोन आँउछ, तर बेड मिलाउनै गाह्रो छ’, उनले अनलाइनखबरसँग भने, ‘बचाउन सकिने बिरामीलाई पनि भर्ना लिन नसक्दा मन अमिलो हुन्छ ।’

वैशाख दोस्रो सातायता संक्रमितको चाप एकदमै बढेको उनले बताए । ‘बेड खाली भए आफ्ना बिरामीलाई राख्न पाइन्छ कि भन्दै आईसीयू अगाडि कुरेर बसेका पनि भेटिन्छन्,’ उनले भने । पछिल्लो समय संक्रमण पुष्टि भएका अधिकांशमा श्वासप्रश्वाससम्बन्धी समस्या छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment