Comments Add Comment
कोरोनासँगको मेरो लडाइँ :

११ दिनमा परास्त गरेर पाएको नयाँ जीवन

कोरोना संक्रमित बिरामीहरूका समाचार पढ्दापढ्दै र संक्रमितको संख्या कति पुग्यो भनेर गन्दागन्दै त्यो संख्यामा म आफैं पनि थपिएँ । जनचेतना फैलाउँदा फैलाउँदै वैशाख ६ गते बिहान परिवारका एक जना सदस्य बिरामी भए । म उहाँको उपचारका क्रममा धनगढीको एक प्राइभेट अस्पतालको इमर्जेन्सी कक्षमा पुगेको थिएँ ।

उहाँको सामान्य उपचार भयो । ज्वरो उच्च भएमा अनि पीसीआर रिपोर्ट नेगेटिभ आएपछि मात्र अस्पताल ल्याउन भनेर डाक्टरले सुझाए । त्यहीबमोजिम त्यहाँबाट केही सामान्य औषधि लिएर म उहाँलाई लिएर पीसीआर परीक्षणका लागि धनगढीको सेती प्रदेशिक अस्पतालको  कोभिड १९ स्वाब संकलन केन्द्रमा पुगेको थिएँ । त्यसै दिन उहाँको स्वाब लिइयो । यो सब गरिरहँदा म भौतिक दुरीको ख्याल गरेर अलि टाढा नै बसेको थिएँ ।

अर्कोदिन बिहान उहाँको फोनमा एसएमएस आयो । जसमा परीक्षणको रिपोर्ट ‘नेगेटिभ’ लेखिएको थियो । उहाँ थप अन्य उपचारका लागि काठमाडौं जानुभयो ।

मलाई भने सोही दिन राति ११ बजेतिर एक्कासी शरीर तात्यो । मेरो मनमा चिसो पस्यो । दिनभरीको अवस्थालाई सम्झिएँ । तर त्यति सजिलै त त्यहाँबाट कोरोना संक्रमण नहुनुपर्ने हो भन्ने लाग्यो । छेउमा रहेको डिजिटल थर्मोमिटरले ज्वरो नापेँ । १०२.५ डिग्री फरेनहाइट मापन भयो । मैले एक ट्याबलेट पारासिटामोल (निको) खाएँ । त्यो दिन निद्रा राम्ररी परेन । जिउलगायत जोर्नीहरू दुखिरहेको थियो । बिहानसम्म ज्वरो पटक्कै घटेन ।

केही महत्वपूर्ण कामको लागि म काठमाडांै जानुपर्ने थियो । त्यसका लागि वैशाख ८ गते बिहानको हवाई टिकट काटिसकेको थिएँ । तर मलाई ज्वरोसँगै कोभिडका सामान्य अन्य लक्षणहरू देखिन थाले । मैले पनि पीसीआर परीक्षण गराउने निधो गरें । पीसीआरको लागि स्वाव दिएँ । अर्को दिन रिपोर्ट आउन ढिलो भयो । फ्लाइट क्यान्सिल गरें ।

रिपोर्ट आउनुभन्दा पहिले नै म आफूलाई कोरोना भएको निर्क्योल गरेर आइसोलेशनमा बस्न थालिसकेको थिएँ ।

किन रिपोर्ट ढिलो आयो भनेर मैले धनगढीका एक जना पत्रकार साथी र डाक्टरलाई बुझिदिन अग्रह गरें । प्राविधिक कारणले एसएमएस नगएको तर रिपोर्ट पोजिटिभ आएको फोनमार्फत जानकारी पाएँ ।

लामो समय सतर्कता अपनाउँदा अपनाउँदै, स्वास्थ्य सुरक्षाका उपायहरू अबलम्बन गर्दागर्दै आखिर म पनि कोरोना पोजेटिभ भएँ । मैले तत्कालै आफूलाई विशेष  आइसोलेट गरें । तर एक हप्ता अगाडिदेखि कुन–कुन ठाउँ गएँ, के–के गरेँ भनेर नियाल्दा सुरक्षाको नियम पालना नगरेको र भौतिक दुरी ख्याल नगरेको कुनै क्षण त्यस्तो देखिनँ ।

डाक्टरलाई जानकारी गराएँ । आफन्तजन साथीभाइहरूलाई फेसबुकमार्फत म संक्रमित भएको जानकारी दिएँ । हप्तादिनदेखि प्रत्यक्ष सम्पर्कमा आएका सबैलाई पीसीआर परीक्षण गराउन आग्रह गरें ।

कोरोना संक्रमण अरूलाई भएको सुन्दा गफ हुन्छ र आफूलाई पर्दा रोग हुन्छ भनेको साँच्चै रहेछ । मैले घरमा साना–ठूला सबैलाई ‘केही हुँदैन, मलाई केही भएकै छैन । रिपोर्ट मात्र त्यस्तो आएको हो’ भनेर सम्झाउन कोसिस गरें । मलाई लाग्छ म मेरो भित्री तनाव लुकाउन र उनीहरूलाई सम्झाउन सफल भएँ ।

डाक्टरले भने बमोजिम केही इम्युनिटी पावर बढाउने र एन्टिबायोटिक लगायतका औषधिहरू लिँदै घरमा छुट्टै कोठामा बसें ।

जिन्दगीमा गरिएका अनेक अनुभवहरूमध्ये सारै कठिन अनुभव हुँदै थियो । आइसोलेसनको बसाइ मेरालागि निकै कष्टकर बन्यो । तनाव जति भएपनि म फोनमा वा प्रत्यक्ष कसैलाई पनि त्यो तनाव देखाउन चाहन्नथें ।

बोल्न गाह्रो हुन थालेपछि मोबाइल फोन स्वीच्डअफ गरेर राखें । निरन्तर इन्टरनेटको माध्यमबाट सम्पर्कमा रहें । अझै पनि सबैलाई जवाफ फर्काउन सकेको छैन, त्यसका लागि क्षमा चाहन्छु ।

फेसबुकका म्यासेज हेर्न र रिप्लाइ गर्न नै हैरान थियो । यो लेख्दै गर्दा म आभारी छु एचएफएच परिवार, कोरोनालाई जितिसकेका हौसला प्रदान गर्ने साथीहरू, सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका सदस्य मनोज राई, धनगढी उप–महानगरपालिकाकी उपमेयर दिदी र सबै जनाप्रति । जसले विभिन्न माध्यमबाट स्वास्थ्यलाभको कामना,  प्रोत्साहन, शुभेच्छा, चिन्ताचासो र माया प्रकट गर्नुभयो । एक्लो र कमजोर महसुस हुन दिनुभएन । यसरी नै सबैलाई साथ र सहयोग गर्नु होला । यसोगर्दा कसैले एक्लो महसुस गर्न पाउने अवस्था रहने छैन । त्यसो भयो भने कारोनालाई सजिलै जित्ने छन् । थप हिम्मत आउने छ । सबै सबैलाई फेरि पनि हार्दिक धन्यवाद ।

शुभचिन्तकले देखाएको माया देखेर दिनदिनै मेरो मनोबल झन् उच्च भयो ।

घरमा बस्दा छुट्टै बाथरुम प्रयोग गरें । मलाई मेरो कारणले घरपरिवार र समाजमा संक्रमण नफैलियोस् भन्ने चिन्ता थियो । एक सचेत नागरिक भएकोले मबाट अरु कसैमा संक्रमण नसरोस् भन्नेमा म सचेत थिएँ ।

दोस्रो दिनसम्म पनि पनि ज्वरो पटक्कै घटेन । खाना कत्तिपनि रुच्दै रुचेन । दालको सुप, पानी तथा अन्य झोलिलो पदार्थ बाहेक ठोस पदार्थ पेटमा पुर्याउन निकै सकस भयो । तर खाँदै नखाए रोगसँग लड्ने शक्ति कसरी जुटाउने ?

मिठो नमानी नमानी खाना खान्थें । ज्वरो कम गर्न दिनमा चार पटकसम्म सिटामोल खाँदा पनि भएन (सिटामोल ३पटक भन्दा बढी १ दिनमा सेवन गर्नु हुँदैन भनिन्छ ।) सुपकै भरमा बसियो । दिनको ३–४ पटक तापक्रम जाँच गर्थें तर व्यथा बीसको उन्नाइस भएन ।

दिनभर उठ्ने जाँगर थिएन । राति निद्रा लाग्थेन तर पनि बिस्ताराको बिस्तरामै भएँ । अलिकति बोले पनि, हिँडे पनि स्याँस्याँ हुन्थ्यो । खोकी बढिहाल्थ्यो तर अक्सिजन लेभल घटेको थिएन । डाक्टरको सल्लाह बमोजिमका सबै कार्यहरू गर्दैै आएको थिएँ ।

डाक्टरहरूले भने बमोजिमका केहि औषधीका साथै आयुर्वेदिक औषधीहरू (जडिबुटीहरू) पनि नियमित दैनिक ३ पटक खाइरहें । कोरोनाको विषयमा दैनिक त्रसित हुने विभिन्न समाचारहरू देख्न/सुन्न मिलिरहेको थियो । पछिल्लो दिनहरूमा युवाहरूले बढी यसबाट ज्यान गुमाइरहेका समाचार थिए । आफूलाई अत्याधिक दुःख लागे पनि मैले आफूलाई नकारात्मक सोचतर्फ जान दिएन ।

मानव शरीरमा भाइरस संक्रमण हुँदा व्यक्ति अनुसार फरक–फरक लक्षण देखिन्छ । मैले म जस्तै कोरोना संक्रमण भएर होम क्वारेन्टाइनमा बस्ने अरु बिरामीसँग सोध्दा फरक–फरक लक्षण भएको पाएको छु ।

अब तेस्रो दिन सुरु भइसकेको थियो आफूलाई वातावरण अनुकूल बनाउने प्रयासमा लागें । आत्मविश्वास र स्वास्थ्य सबल बनाउन हरदम कोसिस गरें । मनमा अनेक खालका कुरा खेल्थे । कहिलेकाहीँ त सम्हाल्नसमेत गाह्रो हुने अवस्था आयो । मन जति दह्रो बनाउँछु भन्यो, क्षणभरमै कमजोर हुन्थ्यो ।

विहान कुनै–कुनै दिन सकेजति (४०/५० मिनेट) योग पनि गरिन्थ्यो । कहिलेकाहीँ ६/७ बजे पनि उठ्थें । श्रीमद् भागवत कथा सुन्ने र हेर्ने गर्थें । भजनकीर्तन आउँदा मुड चले ठूलो साउन्डमा बजाएर नाच्न पनि थाल्थें । रातीको समयमा हास्य चलचित्र हेर्ने, क्रिकेट खेल हेर्ने गर्थें । जतिसक्यो आफूलाई व्यस्त र खुसी बनाउन प्रयास गर्थें ।

आत्मविश्वास, सरसफाइ र खानपान नै कोरोनासँग लड्ने मुख्य उपाय हो भन्ने मेरो सिकाइ भएको छ

खाना खाने तालिका (कति बजे के-के दिने/खाने लगायत सबै उल्लेख भएको) बनाएर घरका सदस्यलाई म्यासेन्जरमार्फत पठाएँ । त्यही रुटिन अनुसार चल्न सुरु गरें । एक्लो हुँदा त नखाने भन्दा मन खाने समस्याले मान्छेलाई रोगी बनाउने रहेछ । तर म सोसल मिडियामा सक्रिय रहन्थें । आफ्नो अवस्था सामान्य रहेको जानकारी गराइरहन्थें । आफन्त साथीभाइहरूसँग च्याटमा एक्टिभ भइरहन्थें ।

कसैलाई अस्पतालमा इमर्जेन्सी ब्लडको आवश्यक परेको खबर, कसैलाई एम्बुलेन्सलगायतको आवश्यकता र अप्ठ्यारो परेको खबर थाहा पाएपछि जोहो गर्ने व्यवस्था मिलाउने काममा निरन्तर लागि नै रहेको थिएँ ।

मसँग सम्पर्कमा आएका कोभिड पोजिटिभ बिरामीहरूको स्वस्थ्यअवस्था पनि समय समयमा बुझिरहन्थें ।  खाना र खाजा नियमित थियो । तर जिब्रोले स्वाद र नाकले गन्ध थाहा पाउन छोडिसकेका थिए ।

सातौं दिनपछि बल्ल ज्वरो घट्न थाल्यो । सिटामोल लगायतका औषधि विस्तारै कम गर्दै लगें । खाना रुच्न थाल्यो । पटक पटक खाना खान थालेपछि अब त ठिक हुन्छ भन्ने लाग्यो । दिन बित्दै गए ।

अब एघारौं दिनमा फेरि पीसीआर टेस्ट गराएँ, रिपोर्ट आयो नेगेटिभ । रिपोर्ट हेर्दा दुःखले उडेको अनुहारको चमक फेरिएको अनुभूति भयो । कोरोनालाई जितेर नयाँ जीवन पाएकोमा प्रफुल्ल भएँ । अवस्था अझै सामान्य भइसकेको छैन । केयर गर्ने कुराहरूमा निरन्तर ध्यान दिएको छु ।

कोरोना जित्न सजिलो छैन तर जित्न नसकिने रोग पनि होइन । प्रेम, प्रेरणा, उच्च आत्मविश्वास र केही उपचार पद्धतिको मद्दतले छिट्टै निको हुने रोग पनि हो कोरोना । आत्मविश्वास, सरसफाइ र खानपान नै कोरोनासँग लड्ने मुख्य उपाय हो भन्ने मेरो सिकाइ भएको छ ।

भेट हुने, फोन सम्पर्क हुने र कोभिड पोजेटिभ भइ लडिरहेकाहरूसँग पनि दैनिक सम्पर्कमा रहेर सबैलाई मेरो यही अनुभव सुनाइरहेको छु ।

व्यायाम गरौँ, खानपान, सरसफाइमा विशेष ख्याल गरौं, आत्मविश्वास दरिलो बनाइराखौं । कोरोना केही होइन भन्नेको पछि नलागौं र कोरोनाले मारिहाल्छ भन्नेको पछि पनि नलागौं । कोरोना ‘केही त पक्कै हो तर सम्पूर्ण रुपमा संहारक चाहिँ होइन’ म सबैलाई यही सल्लाह दिन्छु ।

अहिले सबैतिर कोरोना यति बढ्यो, उति बढ्यो, यतिको मृत्यु भयो भन्ने समाचार आउने गरेकाले पनि मानिसहरूमा निराशा पैदा भएको छ । अब यस्तो मात्रै नभएर निको भएर फर्किएकाको कुरालाई पनि सबैसामु पु¥याउन जरुरी छ । नेगेटिभ भन्दा पोजेटिभ कुराहरूलाई बढी जोड दिनुपर्ने देखिन्छ ।

आफूलाई कोरोना छैन भनेर ढुक्क भएर बस्नु, बेवास्ता गर्नु तथा लापरवाह हुनु ठीक हुन्न । अहिले संक्रमण नदेखिएकालाई पनि जुनसुकै बेला संक्रमण हुन सक्छ । पढ्दा र सुन्दाभन्दा भोग्दा बेग्लै अनुभूति हुने रहेछ । यसमा हेलचेक्राइँ नगर्न पनि म सबैमा अपिल गर्छु । कोरोना नलाग्दा पनि म निकै सजग थिएँ अहिले लागिसकेर निको हुँदा झन् सजग भएको छु । यो समस्यालाई गम्भीरतापूर्वक लिन हुन सबैमा मेरो अनुरोध छ ।

मैले सबैको माया, हौसला र साथ पाएर दोस्रो र तेस्रो  टेस्ट पनि नेगेटिभ आएपछि कोरोनालाई जितेको छु । मैले प्रयोग गरेका सामाग्रीलगायत पूरै कोठालाई सेनिटाइज गरेको छु । योसँगै आफ्नो नियमित कार्यहरूमा केही दिनमा फर्किने छु ।

सबैभन्दा महत्वपूर्ण कुरा, कोरोना मात्र होइन जुनै रोगको लागि पनि आत्मबल नै सबैभन्दा पहिलो औषधि हो । त्यसैले कोरोना संक्रमित भइहालियो भने पनि नआत्तिऔं, सधैं आत्मबल उच्च राख्ने गरौँ । कोरोनाका कारण बिरामी हुनुभएका सम्पूर्णमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

कोरोनाको विषयमा जनचेतनामुलक कार्यक्रमहरू  बढीभन्दा बढी गर्नुपर्ने देखिन्छ । बुढापाका बच्चा र केही युवाहरूलाई पनि कोरोनाबाट सतर्क रहनका लागि बुझाउन गाह्रो छ । बुझाउन सकिएको छैन । कतिपय मानिस आइसोलेशनमा नबस्ने, आइसोलेशनबाट भागिदिने, मास्क लगाउन नमान्ने गरेको समाचार बाहिर आएका छन् । त्यस्ता ब्यक्तिलाई राज्यको तर्फबाट चेतनाप्रदान गर्न तथा आवश्यक परेमा कडाइ गर्न र संक्रमित भइ अस्पतालको बेडमा उपचाररत  बिरामीहरूको हेरचाहमा विशेष ध्यान पुर्याउनु पर्ने खाँचो छ ।

(कोरोना संक्रमित भएर निको भएका भण्डारी हेल्प फर हेप्पिनेस सुदूरपश्चिम प्रदेशका संयोजक हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment