
२६ वैशाख, काठमाडौं । पछिल्लो १० दिन नेपालमा रहेका विदेशी नागरिक बेलायत छिर्न नपाउने गरी बेलायतले यात्रा प्रतिवन्ध लगाएको छ । नेपालमाथिको प्रतिवन्ध १२ मे (२९ वैशाख)बाट कार्यान्वयनमा आउने बेलायत सरकारद्वारा जारी ट्राभल एड्भाइजरीमा उल्लेख छ । यो नियम इंगल्याण्डसहित स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डका लागि समेत मान्य हुनेछ । यो विदेशी नागरिकको हकमा लागु हुनेछ ।
उक्त मुलुकले स्वास्थ्य मापदण्डका तोकिएका शर्त पुरा गरेर भने आफ्ना नागरिकलाई प्रवेश अनुमति दिनेछ । बेलायतले अत्यावश्यक काम नपरेसम्म नेपाल यात्रामा नजान समेत आफ्ना नागरिकलाई सचेत गराएको छ ।
अहिले नेपाल सरकारले नै अन्तर्राष्ट्रिय उडान बन्द गरि आवागमन रोकेको छ । नेपालबाट अन्य मुलुकका ट्रान्जिट भई छिर्ने यात्रुलाई समेत आफ्नो ट्राभल कम्पनीसँग सम्पर्क गरि घोषित ‘रेडलिस्ट)बारे जानकारी लिन बेलायतले अनुरोध गरेको छ ।
कोरोना भाइरसको महामारीले नेपाललाई आक्रान्त बनाएका बेला अहिले मुलुकहरुले नेपाललाई जोखिमपूर्ण मुलुकको सूचीमा राखेका छन् । यो सूचीमा रहेका मुलुक जान र त्यहाँबाट आउन रोक लगाइन्छ ।
उता, माल्दिभ्सको पर्यटन मन्त्रालयले नेपालसहित दक्षिण एसियाली मुलुकका लागि वर्क परमिट बन्द गरेको छ । यो नियम आज (आइतबार)बाट कार्यान्वयनमा आएको छ । त्यहाँको पर्यटन मन्त्रालयले शनिबार एक सूचना जारी गरि नेपालसहित अफगानिस्थान, बंगलादेश, भुटान, इण्डिया, नेपाल, पाकिस्तानका नागरिकलाई वर्क परमिट दिन बन्द गर्ने निर्णय गरेको हो । पर्यटनको प्रयोजनमा माल्दिभ्स छिर्ने नागरिकलाई समेत निश्चित होटेल तथा रिर्सोट र हाइल्याण्ड तोकिएका छन् । ती बाहेकका क्षेत्रमा विदेशी नागरिकको प्रवेश बन्द गरिएको छ ।
प्रतिक्रिया 4