Comments Add Comment
दोहोरो मारमा अक्सिजन उद्योग :

‘मेरो मान्छे बचाइदिनुस् भन्दै गेटमा आएर रोएका छन्’

२६, वैशाख, काठमाडौं । पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन उद्योग परिसरमा केही दिनदेखि ठूलो भीड छ । विभिन्न अस्पतालका लागि अक्सिजन लिन आएका सवारी साधन तथा व्यक्तिगत प्रयोगका लागि अक्सिजन माग गर्न आउनेहरुको चाप केही दिनदेखि थेगिनसक्नुभएको उद्योगका अध्यक्ष नारायणदत्त तिमिल्सिना बताउँछन् ।

अक्सिजन जोहो गरिदिन फोनबाट आग्रह गर्ने र उद्योगमै आएर बिलौना गर्नेहरुको पीडाले आफू पनि विक्षिप्त भएको तिमिल्सिनाले सुनाए । ‘एक सिलिण्डर अक्सिजन दिनुस्, मेरो मान्छे बचाइदिनुस् भन्दै मान्छेहरु हात जोड्दै गेटमा आएर रोएका छन् म के गरौं’ उनले अनलाइनखबरसँग भने ।

उद्योगको क्षमता भन्दा बढी माग भएपछि अक्सिजन व्यवस्थापन निकै चुनौतीपूर्ण भएको उनले सुनाए । ‘अस्पतालहरु स्वास्थ्य मन्त्रालयको चिठी लिएर आएका छन्, बिरामीका आफन्तहरु रित्तो सिलिण्डर लिएर आएका छन्, कसलाई दिने, कसलाई नदिने, हामी असजिलोमा छौं’, तिमिल्सिनाले भने ।

‘सरकारको परिपत्रपछि होम आइसोलेसनमा बस्नेका लगि अक्सिजन दिन नपाइने भन्ने छ तर मानिसहरु पीडाका साथ आफ्ना समस्याहरु सुनाउँछन्,’ सञ्चालक शारडाले भने । परिवारको मान्छे बचाइदिनुस् भनेर बिन्ती गर्दा पनि केही जवाफ दिन नसक्ने अवस्थामा उद्योगहरु पुगेको उनले सुनाए ।

सरकारले स्वास्थ्य मन्त्रालयको सिफारिशमा मात्रै अक्सिजन उपलब्ध गराउन निर्देशन गरेपछि ढोकामै आएर बिलौना गरेकाहरुलाई अक्सिजन उपलब्ध गराउन कठिन भएको उनले सुनाए ।

विराटनगरको विनायक र काठमाडौंको कान्तिपुर अक्सिजन उद्योगको अवस्था पनि उस्तै भएको दुवै कम्पनीका सञ्चालक गौरव शारडाले बताए । अक्सिजन लिन अस्पतालका गाडीहरु लामो लाइनमा लागेको र होम आइसोलेसनमा रहेका बिरामीका लागि अक्सिजन लिन आउने भीड पनि उस्तै रहेको उनले सुनाए ।

‘सरकारको परिपत्रपछि होम आइसोलेसनमा बस्नेका लगि अक्सिजन दिन नपाइने भन्ने छ तर मानिसहरु पीडाका साथ आफ्ना समस्याहरु सुनाउँछन्’, सञ्चालक शारडाले भने । परिवारको मान्छे बचाइदिनुस् भनेर बिन्ती गर्दा पनि केही जवाफ दिन नसक्ने अवस्थामा उद्योगहरु पुगेको उनले सुनाए ।

अक्सिजन माग गर्दै आउने फोन सम्हाली साध्यै नभएको लुम्बिनी ग्याँस प्रालि रुपन्देहीका सञ्चालक रमेश खनालले बताए । अक्सिजन विवरणबारे प्रमुख जिल्ला अधिकारीले निर्धारण गरेको कोटामा उद्योगले काम गरे पनि घरमा आइसोलेसनमा बसेका बिरामीका आफन्तबाट निकै धेरै फोन आउने गरेको उनले सुनाए ।

विराटनगरमा रहेको मारुती उद्योगमा पनि अक्सिजनको माग उच्च भएको उद्योगले जनाएको छ । उद्योगले १० वटा बिक्रेतामार्फत अक्सिजन बिक्री गरे पनि स्थानीय तहका प्रमुखहरु र प्रमुख जिल्ला अधिकारीमार्फत अक्सिजनका लागि चासो व्यक्त हुने गरेको उद्योगका सञ्चालक विवेक अग्रवालले बताए ।

अक्सिजन वितरणमा उचित व्यवस्थापन नहुँदा सरकार, अस्पताल र बिरामीका आफन्तको चेपुवामा उद्योगहरु पर्न थालेको उनको भनाइ छ । होम आइसोलेसनमा बसेका बिरामीका लागि अक्सिजन उपलब्ध गराउन काठमाडौं उपत्यकाका अक्सिजन उत्पादकलाई मन्त्री, सचिव र प्रहरीका उच्च अधिकारीले दबाब दिन थालेको उद्योग सञ्चालकले दुखेसो गरेका छन् ।

केही मन्त्री, नेपाल सरकारका सचिव र प्रहरी उच्च अधिकारीले जसरी पनि अक्सिजन चाहियो भन्दै फोन गरेको एक उद्योगीले बताए । ‘समस्या जटिल छ, मिल्छ भन्ने व्यवस्था गरिदिनुपर्‍यो भन्दै फोन आउँछ । हाम्रा लागि सबै जना उस्तै हो कसलाई दिने कसलाई नदिने’, ती उद्योगीले भने ।

उत्पादन भन्दा कोटा धेरै

काठमाडौं उपत्यकाका अक्सिजन उद्योगहरुलाई सरकारले तोकेको दैनिक कोटा उद्योगको उत्पादन क्षमता भन्दा बढी भएको गुनासो उद्योगीहरुले गरेका छन् । नेपाल अक्सिजन उद्योग संघले पनि उद्योगलाई उत्पादन क्षमता भन्दा धेरै कोटा तोकिएको बताएको छ ।

सगरमाथा अक्सिजन उद्योगले दैनिक ८०० सिलिण्डर अक्सिजन उत्पादन गर्ने भए पनि दैनिक ९०० सिलिण्डर उपलब्ध गराउन सरकारले पत्राचार गरेको उद्योगले जनाएको छ ।

‘अस्पताल र होम आइसोलेसनमा बसेका आफन्तहरुको माग उच्च रहेकै बेला सरकारले उत्पादन हुन सक्ने भन्दा धेरै कोटा तोक्यो’, उद्योगका सञ्चालक नारायणदत्त तिमिल्सिनाले भने । काठमाडौंका अन्य उद्योगलाई पनि सरकारले क्षमता भन्दा बढी अक्सिजनको कोटा तोकेको गुनासो आउन थालेको अक्सिजन ग्याँस उत्पादक संघले जनाएको छ ।

कुन उद्योगलाई कति कोटा तोकियो भन्ने थप विवरण संकलन थालिएको र आइतबार बेलुकीसम्म सो विवरण प्राप्त हुने संघका अध्यक्ष गौरव शारडाले बताए । २४ सै घण्टा उद्योगहरु सञ्चालन गर्दा काठमाडौं उपत्यकामा दैनिक ८ हजार सिलिण्डर उत्पादन भएको र चाप भने अझै बढ्दै गएको संघले जनाएको छ ।

उपत्यका बाहिर फरक ठाउँ फरक समस्या

विराटनगरका उद्योगहरुले बिजुली कटौतीको समस्या धेरै मात्रामा झेल्नुपरेको गुनासो गरेका छन् । अक्सिजन उत्पादन भइरहेको समयमा बिजुली कटौती भयो भने एक घन्टासम्म उत्पादन प्रभावित हुने मारुती उद्योग सञ्चालक विवेक अग्रवालले बताए ।

रुपन्देहीमा भने औद्योगिक क्षेत्रमा रहेका सिलिण्डर खोसेर जिल्ला प्रशासन कार्यालयहरुले अक्सिजन उद्योगलाई अप्ठ्यारोमा पारेको लुम्बिनी ग्याँस उद्योगले जनाएको छ ।

धरौटी नलिई उद्योगले यसअघि लगेका सिलिण्डर खोसेर प्रशासनले अस्पताललाई बाँड्दा उद्योगलाई आर्थिक नोक्सानी भएको कम्पनीका सञ्चालक रमेश खनालले बताए ।

नवलपरासीको उद्योगले लगेका सिलिण्डर रुपन्देही ल्याउन नदिई उतैका प्रमुख जिल्ला अधिकारीले जफत गरेको पनि खनालले बताए ।

पोखरा अक्सिजन प्रालिले भने त्यहाँ कुनै चाप र दबाब नरहेको बताएको छ । उद्योग पूर्ण क्षमतामा चलेको र माग बमोजिमको अक्सिजन अस्पताल तथा व्यक्तिहरुलाई उपलब्ध गराइरहेको उद्योगका निर्देशक वसन्त ताम्राकारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment