Comments Add Comment

के साँच्चै ककनी काठमाडौंदेखि नजिक छ त ?

प्रश्न अनगिन्ती छन् । उत्तर मौन ! मन भारी छ । शब्द हलुका ! भावना गहिरा छन्, बुझाइ खोक्रा । हुनत मनमा उद्देलित हुने भावनालाई शब्दमा उतार्न कहाँ सकिन्छ र ! सक्दो हुँ त आज मेरो नामका अघिल्तिर पनि अनेकन उपनाम थपिंदा हुन् ।

खैर ! आज यो भारी मनको छटपटाहटलाई कम गर्न मैले गरेको नुवाकोट ककनीको पाँचदिने यात्रालाई शब्दमा कोर्ने जमर्को गर्दैछु । मनका भावना शब्दमा पोख्न नसकुँला र पनि त्यहाँको यथार्थलाई सक्दो दर्शाउने प्रयास गर्नेछु ।

यो लेखमार्फत मनमा रुमल्लिएका अनगिन्ती प्रश्नहरु उठाइरहेको छु । तर जवाफ पाउने कहाँ ?

मलाई दुःखको पूर्ण परिभाषा त थाहा छैन । शायद दुःखको परिभाषा, आभास, अर्थ अनि ठाउँ, मानिस, परिस्थिति र समय अनुरूप बदलिरहने होला । तर पनि आज दुःखलाई नजिकबाट देखेको छु जस्तो भान भएको छ ।

मेरो नुवाकोट ककनी गाउँको छोटो यात्राले त्यहाँको सबै यथार्थको चित्रण पक्कै पनि गर्न नसकुँला । किनकि समस्याले थिचोलिएका थुप्रै ठाउँहरु हाम्रो देशमा छरपष्ट छन् । तर जति देखें, सुने सम्झिँदा अझै पनि आँखा रसाउँछन् ।

काठमाडौं देशको राजधानी, जहाँ प्रायः अन्य ठाउँमा नभएका विकास कार्य भइरहेका छन् । नयाँ नयाँ संरचनाहरू बन्दै छन् । धरहरा ठडिएको छ । विडम्बना त्यहींबाट यति नजिक रहेको नुवाकोटको ककनी गाँउ !

काठमाडौंमा नेपालका टप स्कुल, कलेज, शिक्षा, स्वास्थ्य संस्था, व्यापारिक प्रतिष्ठानले  भरिभराउ छ । अफसोच ककनी गाँउको साक्षरता ? नेपाली भाषा बुझ्न अनि बोल्न पनि समस्या छ । शिक्षा, स्वास्थ्य, सरसफाइको अवस्था उस्तै नाजुक छ । बालविवाहविरुद्धको कानून, नीति र नियम त बनाएको छ काठमाडौंले तर ककनी गाउँमा बालविवाह एउटा रीति नै बनेको देखिन्छ ।

नुवाकोटको ककनी

१२–१३ वर्षको उमेरमै यहाँ विवाह सामान्य जस्तै हो । घरकै नानीबाबु हुन् कि भनेर सोध्ने हो भने घरबाट माइती आएको र माइतीबाट घर आएको भन्दा नराम्रो झड्का लाग्छ मनमा ।

बालविवाह विरुद्धको कानून, नीति र नियम त बनाएको छ काठमाडौंले तर नजिकै ककनी गाउँमा बालविवाह एउटा रीति नै बनेको देखिन्छ ।

त्यति बेला म सोच्न बाध्य भएँ, म २३ वर्षकी अझै पढ्दै छु, कति फरक छ, यहाँका नानीबाबु र मेरो नियतिमा ! मलाई लाग्यो यीमध्ये पक्कै कति नानीबाबुको सपना होला पढेर केही गर्ने, केही बन्ने । तर प्रतिवाद कोसँग गर्नु ? जवाफ कोसँग माग्नु ? आमाबाबुले नै गरिदिने बिहे गर्दिन कोसँग भन्नु ?  कसरी भन्नु ? वा कुन चेतनाले भन्नु ?

एक जनाले भनेर पनि के साध्य हुनु, जबकि आफ्नै आमाबुवाले यही भोगे । छरछिमेक र साथीभाइको अवस्था उस्तै छ ! कति मन दुख्यो होला बालापनका अनगन्तिी रुमानी सपना टुट्दै गर्दा । कति मन रोयो होला । घाँस, दाउरा र मेलापातलाई जीवनको पाठशाला बनाउँदा ।

ककनीका घर हेर्छु, (त्यो पनि भूकम्पले लडाएपछि बनाइएको रे), चुलो हेर्छु अनि काठमाडौंतिरका दरबार, महल, पक्की घर र ती घरभित्रका किचेन सम्झन्छु मन भतभती पोल्छ । आफैंलाई प्रश्न गर्छु र मौन हुन्छु । आखिर यो ठाउँमा कमी के थियो र ! हावापानी, प्रकृति, प्राकृतिक सुन्दरता, सहयोगी समाज, मन भएका मान्छेहरु र मनग्य उब्जनी हुने खेतका गह्राहरू । राज्य सञ्चालनको उच्च तहमा पुगेका नेतगणहरू, यही ठाउँले जन्माएको छ ।

अहो ! मैले त बिर्सेछु ।  कृषि भन्दै गर्दा उहाँहरूले सुनाउनुभएका ती भावपूर्ण शब्द, रोदन भरिएका आवाज, अनि साँझ बिहान खानैका लागि गरिएको संघर्षको गहिरो कथा । म फेरि झस्किएकी थिएँ ।

बाँदरले खेतीबाली नाश गरेको छ सुनेको थिएँ ।  तर खानलाउन, महिलालाई एक्लै हिंडडुल गर्न पनि मुस्किल हुने कुरा पहिलो पटक सुन्दै थिएँ । १००–२०० एकैसाथ आउने हुल, कति डरलाग्दो होला ? त्यसैपनि  मस्याले थिचिएको ठाउँमा दुःख गरिखाने स्थिति पनि नरहेपछि के गर्नु ? यो मेरो हैन उहाँहरूले गमिलो आवाजमा सोध्नुभएको प्रश्न थियो ।

घरको मुख्य आयस्रोत कृषिको अवस्था यस्तो भएपछि अब विकल्प के त ? त्यसैले त कोही गाडी चलाउने, कोही विदेशिने अनि बुढापाका खोलाको किनारमा बालुवा चाल्नेतिर लाग्नुको विकल्प भएन । कृषि गरेर भन्दा बरु बालुवा चाले भाउ बढी आउँछ रे ! मलाई लाग्यो यो कस्तो कृषिप्रधान देश हो जहाँका किसान खेतीबाट बिरक्तिएर बालुवा चाल्न जाती देख्दैछन् ।

हामी जति नयाँ नयाँ घरमा पुग्थ्यौं उतिउति समस्याहरुले गिज्याए झैं लाग्थ्यो । थप गुनासा, झन् धेरै समस्याका कथा सुन्न पाइन्थे ।

जति सुन्दै जान्थ्यौं उति जीउ सिरिङ्ग हुन्थ्यो । आँकलन गर्दै जाँदा सबैको मुख्य समस्या बाँदर आतंक नै रहेछ । बाँकी सबै कुराले सन्तुष्ट थिए यहाँका बासिन्दा ।

उनीहरु भन्थे– ‘काठमाडौं भन्दा धेरै ठिक छ, काठमाडौंमा त पानी पनि किन्नुपर्ने, भोक लाग्यो भने केही खान पनि पैसा चाहिने, त्योभन्दा त हाम्रै गाउँ रमाइलो, बाँदर मात्रै हो आधा काम बिगारिदिने । बाँदर नहुने हो भने त कत्ति काम बन्थ्यो बन्थ्यो ।’

बाँदरलाई मात्रै व्यवस्थापन गर्न सके साँच्चै यहाँको कृषि पेशामा केही परिवर्तन आउँथ्यो कि ? यहाँका किसानलाई किसानी गरिखान सहज हुन्थ्यो कि ? यो प्रश्न मनभरि उल्झिरह्यो । आखिर बजारीकरणलाई टाढा पनि त पर्थेन, ककनी । खेती किसानीमा यहाँका किसानको लगाव र मिहिनेतमा कुनै प्रश्न नै थिएन ।

यसो भन्दै गर्दा पूरै ककनीको सबै गाउँ विकट भन्न खोजेकी होइन । विकास निर्माणको काम हुँदै नभएको पनि होइन । शिक्षामा पूरै ककनी शून्य भन्न खोजेकी पनि होइन । तर जहाँ पीडा छ, त्यहाँ निकै दयनीय छ । मन कुँडिने अवस्था छ ।

यो ठाउँ स्ट्रबेरीको राम्रो उत्पादनस्थल रहेछ भन्ने पनि यही यात्राका क्रममा थाहा पाएँ । आलु, काउलीलगायतका तरकारी यहाँको जति स्वादिलो कहाँ पाइएला जस्तो लाग्यो । कृषिमा बिस्तारै फड्को मारिरहेकै छ । तर शिक्षा, स्वास्थ्य बाटोघाटोमा सहजीकरण, कृषि उत्पादनमा उत्साह भने राजधानीबाट यति नजिक भएर पनि खै केले हो हुनुपर्ने जति हुन सकेको छैन । अर्को भाषामा भन्दा आज पनि हुम्ला, जुम्लाको नियतिमा छ ककनी । मेरो आग्रह छ सम्बन्धित पक्षको ध्यान केन्द्रित होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment