Comments Add Comment

आइसोलेसन सञ्चालनका लागि महानगर र नरदेवी अस्पतालबीच सम्झौता

२७ वैशाख, काठमाडौं । नरदेवी आयुर्वेदिक अस्पतालमा अक्सिजनसहितको एचडीयु (हाइ डिफिसेन्सी युनिट) सेवा र आइसोलेसन केन्द्र केन्द्र सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले अनुदान सहयोग गर्ने भएको छ । यसका लागि महानगरका प्रमुख विद्यासुन्दर शाक्यको रोहवरमा आज महानगरका तर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र अस्पतालका निर्देशक डा. प्रदीप केसीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

कोभिड-१९ को दोस्रो लहरले काठमाडाैं उपत्यकामा हरेक दिन संक्रमितहरुको संख्या बढेर अस्पतालहरुको क्षमतामा कमी भइरहेको छ । सेवा दिइरहेका स्वास्थ्य संस्थालाई पर्याप्त सेवा दिन कठिन भइरहेका बेला संरचना र जनशक्ति भएका अस्पतालहरुमा आइसोलेसन र आधारभूत उपचार सेवा सुरु गरेर उपचारकै अभावमा नागरिकले मृत्युवरण गर्नु नपरोस् भनेर सम्झौता गरिएको महानगरले जनाएको छ ।

सम्झौताबमोजिम अस्पतालले आफूसँग रहेका भौतिक पूर्वाधार, मौजुदा जनशक्ति र अन्य साधन स्रोतको उपयोग गरेर अक्सिजनसहितको एचडीयू (हाइ डिफिसेन्सी युनिट) सेवा र आइसोलेसन केन्द्र सञ्चालन गर्नेछ भने महानगरले यसका लागि आवश्यक खर्च अनुदानका रुपमा उपलब्ध गराउनेछ । वैशाख २० गते बसेको महानगरपालिकाकाे नगरकार्यपालिका बैठकले आइसोलेसन केन्द्रहरु स्थापना गर्ने विषयमा निर्णय गरेको थियो ।

महानगरले अस्पतालमा सञ्चालन हुने अक्सिजनसहितको एचडीयु सेवा र आइसोलेसन केन्द्र चलाउन पाइपलाइन सहितको अक्सिजन वितरण प्रणाली विकास गर्ने, अस्पतालको मर्मतसम्भार तथा रंगरोगन गर्ने, आवश्यक थप जनशक्ति व्यवस्था गर्नेजस्ता पूर्वाधार तयार गरेर जेठ १ गतेबाट सञ्चालनमा ल्याइनेछ ।

उपचारमा खटिएका जनशक्तिहरुलाई प्रोत्साहन भत्ता, बिरामीहरुका लागि खाना खाजालगायतका खर्च महानगरको अनुदान रकमबाट व्यहोरिनेछ । अस्पताललाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त रकममा नपुगेको रकम शोधभर्ना स्वरुप महानगरले उपलब्ध गराउनेछ ।

पहिलो चरणमा ५० बेडबाट अक्सिजनसहितको आइसोलेसन सेवा सुरु गरेर यसलाई विस्तार गर्दै लैजाने सहमति पत्रमा उल्लेख छ । आइसोलेसनको व्यवस्थापनका लागि दुवै पक्षबाट दुई/दुई जना प्रतिनिधि रहने आइसोलेसन व्यवस्थापन समिति गठन गरिनेछ । समितिले आइसोलेसन सञ्चालन व्यवस्थापनको समग्र व्यवस्थापन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment