Comments Add Comment

उपत्यकामा छन् ७७ हजार अक्सिजन सिलिन्डर

मोफसलमा ३१ हजार मात्रै सिलिन्डर

२७ वैशाख, काठमाडौं । सरकारका मुख्य सचिव शंकरदास बैरागी नेतृत्वको कोभिड-१९ सहजीकरण बैठकले पूर्ण क्षमतामा अक्सिजन उत्पादन गर्न बिद्युत र पानीको सुनिश्चतता र थप सुरक्षा प्रबन्ध गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

अस्पतालबाट खाली भएका सिलिन्डर आ-आफ्नो उद्योगमा समयमै पठाउनुपर्ने, कम जोखिममा रहेका र उत्पादन बढी भएका काठमाडौं उपत्यका बाहिरका जिल्लाहरूको उत्पादन क्षमता हेरी बाहिरबाट काठमाडौं उपत्यकामा ग्यास सिलिन्डर ल्याउनुपर्ने, चिकित्सकको सिफारिस विना रेम्डेसिभिर नदिने प्रबन्ध गर्ने तथा अस्पतालहरूमा भएको प्लान्टको अवस्थाको विश्लेषण गर्नुपर्ने विषयमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ  ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार विगत दुई वर्षदेखि बन्द अवस्थामा रहेको काठमाडौंको चाल्नाखेलस्थित एभरेष्ट अक्सिजन प्रालि आइतबारबाट सञ्चालनमा आएको छ ।

त्यसैगरी दश वटा अक्सिजन उद्योगहरूमा औद्योगिक प्रयोजनमा रहेका ४ हजार ३६१ वटा सिलिन्डर फिर्ता भएका छन् । सरकारका अनुसार पाँच वटा लिक्वीड अक्सिजन प्लान्ट सञ्चालनमा आएका छन् । नेपालमा कुल अक्सिजन सिलिन्डर संख्या १ लाख ८ हजार १६४ रहेकोमा काठमाडौं उपत्यकाका दश उद्योगहरूमा ठूलो ४७ हजार र सानो २९ हजार ९१० गरी जम्मा ७६ हजार ९१० रहेको छन् । त्यस्तै उपत्यकाबाहिर १९ वटा उद्योगहरूमा ठूलो २२ हजार ३५० र सानो ८ हजार ९०४ गरी जम्मा ३१ हजार २५४ अक्सिजन सिलिन्डर रहेको मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषदको कार्यालयकना प्रवक्ता किरणराज शर्माद्वारा जारी विज्ञप्तिमा अस्पतालहरूमा विद्युत आपूर्ति नभएको अवस्थामा पनि सञ्चालनको विकल्प तयार पार्नुपर्ने, प्रदेशस्तरका ठूला अस्पताललाई डेडिकेटेड अस्पताल तोक्नुपर्ने, प्राइभेट तवरबाट अक्सिजन ल्याउन सक्ने/नसक्ने अवस्थाको विश्लेषण गर्नुपर्ने, लिक्विड अक्सिजन राख्ने व्यवस्था भएका अस्पतालमा लिक्वीड अक्सिजनको प्रयोगबाट सेवा सुचारु गर्ने, खोपलाई उच्च प्राथमिकता दिनुपर्ने, बढी संक्रमित रहेका दश जिल्लाको विश्लेषण गर्नुपर्ने, ग्रामीण वस्तीमा संक्रमण जान नदिन हरसम्भव प्रयास गर्नुपर्ने लगायतका विषयमा समेत छलफल भएको उल्लेख छ ।

यसका अतिरिक्त सीसीएमसीले मुख्यतः अक्सिजन, बेड संख्या, अस्पतालको क्षमतासहितको रोकथाम, नियन्त्रण र उपचारका सबै विषय समेटी विस्तृत योजना बनाउन तथा अक्सिजनको तत्काल आपूर्ति गर्न क्षमता बढाउने, आयातको प्रवन्ध गर्ने, पूर्ण क्षमतामा उत्पादन गर्नेसहितको एकीकृत प्याकेज निर्माण गर्ने गरी एक हप्ताभित्र ९० दिनको कार्ययोजना बनाउने लगायतका विषयमा पनि छलफल भएको छ ।

सरकारका अनुसार हालसम्म अक्सिजन प्लान्टको ५४ पटक निरीक्षण तथा अनुगमन गरिएको छ भने उद्योग तथा निर्माण क्षेत्रबाट फिर्ता गराएको अक्सिजन सिलिन्डर संख्या १ हजार ०१९ छ ।

परराष्ट्र मन्त्रालयका अनुसार चीन सरकारले उपलब्ध गराउने ५ मिलियन युआन अनुदान सहायता अन्तर्गत ३५ सय थान अक्सिजन सिलिण्डर र १० थान भेण्टिलेटर मध्ये ४०० थान अक्सिजन सिलिन्डर र १० थान भेण्टिलेटर तथा निजी क्षेत्रबाट प्राप्त हुने १७३ थान अक्सिजन कन्सन्ट्रेटर समेत ढुवानी गर्नका लागि सम्बन्धित निकायहरुसँग समन्वय तथा सहजीकरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment