Comments Add Comment

७६५ थान न्‍यून गुणस्तरको अक्सिमिटर बरामद, ७ जना पक्राउ

२८ वैशाख, काठमाडौं । न्यून गुणस्तर भएको अक्सिमिटर बजारमा बेच्न खोजिएको आरोपमा काठमाडौंबाट सात जना पक्राउ परेका छन् । उनीहरुको साथबाट ७६५ थान अक्सिमिटर बरामदसमेत गरिएको छ ।

नेपाल प्रहरीको अपराध महाशाखाका अनुसार पक्राउ पर्नेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका–४ घर भई वायोप्लस फर्मा कुलेश्वरका सन्चालक शिखर श्रेष्ठ, बाजुराको खप्तड–६ घर भइ हाल ललितपुरको कुपण्डोल बस्ने थुमराज उपाध्याय र स्याङ्जाको पञ्चमुल–६ घर भई हाल नानोटेक फर्मा थापाथलीका सन्चालक शेषकान्त अधिकारी छन् ।

यसैगरी सुनसरीको इनरुवा–६ घर भई हाल भिमसेन गोलमा चिरायू केडी ग्रुप प्रालिमा कार्यरत पुष्कर घिमिरे, मोरङको बिराटनगर महानगरपालिका–२ घर भई हाल अनामनगर बस्ने र आहा इन्डस्ट्रियल कम्पनी प्रालिमा कार्यरत ४४ वर्षीय विशाल आचार्य, सिन्धुलीको सुनकोशी–६ घर भई हाल बगबजार बस्ने सन्तोष भण्डारी र भारतको राजस्थान घर भई हाल काठमाडौंको ढुंगेअड्डा बस्ने ५५ वर्षीय जगदिश प्रसाद रानासरियालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको नेतृत्वमा बजार अनुगमन गरिएको थियो । अनुगमनमा अपराध महाशाखा, औषधि व्यवस्था विभाग र वाणिज्य विभागका प्रतिनिधिसमेत थिए ।

बिल बिजक नभएको, निर्माण कम्पनीको ठेगाना नभएको, बार कोड नभएको र चाइनिज अक्षरजस्तो लेखिएकाले ती अक्सिमिटरलाई नक्कली भएको आशंका गरिएको छ । अपराध महाशाखाले यसबारे थप अनुसन्धान जारी राखेको छ ।

शरीरमा अक्सिजनको मात्रा मापन गर्ने अक्सिमिटर हाल बजारमा अभाव देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment