+
+

विना जानकारी विद्युत कटौतीले अक्सिजन उत्पादनमा असर

हरि अधिकारी हरि अधिकारी
२०७८ वैशाख २८ गते १२:५०

२८ वैशाख, विराटनगर । सुनसरी–मोरङमा केही दिनयता अनियमित रुपमा विद्युत कटौती भइरहेको छ । तालिकाविना विद्युत कटौती हुँदा अक्सिजन उद्योग प्रभावित भएका छन् ।

विना जानकारी विद्युत कटौती हुँदा कोरोना महामारीमा अस्पतालहरुमा अक्सिजन आपूर्ति गरिरहेका उद्योगहरु प्रभावित भएका हुन् ।

‘झयाप्प झयाप्प बिजुली जाँदा उत्पादनलाई असर गर्छ,’ हिमाल अक्सिजनका प्लान्टका म्यानेजर महम्मद नबिल भन्छन्, ‘एक पटक पावर गयो भने उद्योगबाट अक्सिजन उत्पादन सुरु गर्न डेढ दुई घण्टा लाग्छ ।’ अनियमित विद्युत कटौतीले उत्पादनमा समस्या भएको उनले बताए ।

‘विद्युत कटौती भएन भने उद्योग नियमित चल्छ, उत्पादन पनि बढी हुन्छ,’ उनले भने, ‘हामीले प्रशासन समक्ष कुरा राखेका छौं, विद्युत  कटौती हुँदैन भन्नु भएको छ ।’

विनायक अक्सिजनका सञ्चालक पुनित सारडा विद्युत आपूर्ति सहज भए उत्पादन    निरन्तर हुने बताउँछन् । ‘हामीसँग जेनेरेटर छ तर लाइन काटिंदा बन्द भयो भने मेसिनले पुनः काम गर्न समय लाग्छ,’ उनले भने, ‘हामी माग धान्ने गरी काम गर्ने प्रयत्न गर्दैछौं विद्युत पनि नियमित भए राम्रो हुन्छ ।’

नोबेल शिक्षण अस्पतालका निर्देशक डा. राजेश नेपाल बिजुली जाने पीडाले अस्पताललाई पनि सताएको बताउँछन् । ‘विद्युत कटौती हुँदा अक्सिजन उत्पादन घट्छ । अक्सिजन उत्पादन घट्दा त्यसको असर अस्पतालमा भएका बिरामीलाई पर्छ,’ उनले भने, ‘अहिले अक्सिजनको माग ह्वात्तै बढेको छ ।’

माग बढ्यो, सिलिण्डर छैनन्

कोरोना महामारी सुरु भएयता अक्सिजन उद्योगले अस्पतालबाहेक अन्य उद्योगलाई अक्सिजन आपूर्ति गरेका छैनन् । तर माग धान्न हम्मेहम्मे पर्न थालेको छ ।

अस्पतालमा खपत बढेका कारण माग कठिन भएको विनायक अक्सिजनका सञ्चालक सारडा बताउँछन् । ‘हामी उद्योगलाई २४ घण्टा चलाउन चाहान्छौं, तर सिलिण्डरको अभाव छ,’ उनी भन्छन्, ‘अहिले पनि १२–१४ घण्टा चल्छ, दैनिक ५ सय हाराहारी सिलिण्डर भर्छौं।’

सिलिण्डर विराटनगरका अस्पतालहरुमा आपूर्ति हुने गरेको उनले बताए । ‘विराट, नोबेल कोशीसहित प्रायः सबै अस्पतालमा सप्लाई गर्छौं,’ उनले भने, ‘झापा र धरान पनि पठाउँछौं ।’

हिमाल अक्सिजनका प्लान्ट म्यानेजर नविनका अनुसार दैनिक ३ सय बढी सिलिण्डर रिफिल गरी विराटनगरका अस्पतालहरुमा आपूर्ति हुन्छ । दैनिक १८ घण्टा जति प्लान्ट चलाएर माग धानिरहेको उनले बताए । ‘अहिलेको खपत अस्पतालहरुमा मात्रै छ,’ उनले भने, ‘सरकारको निर्देशनपछि उद्योगमा हुने आपूर्ति बन्द गरिएको छ ।’

सिडिओ भन्छन् : मैले भनिसके

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले अक्सिजन उद्योग क्षेत्रमा विद्युत कटौती हुने अवस्थाको अन्त्य गर्न विद्युत प्राधिकरणलाई निर्देशन दिएको बताए । उद्योगीको गुनासो आएपछि कटौती नहुने व्यवस्था गर्न निर्देशन दिएको उनले बताए  । ‘गुनासो आएपछि  मैले भनिसकेको छु,’ उनले भने, ‘हामीले उत्पादकहरुसँग पनि छलफल गरिसक्यौं ।’

नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख मिथलेशकुमार गोइवारले पानी परेका कारण विद्युत आपूर्ति रोकिएको बताए । ‘अहिले फोर्स लोडसेटिङ छैन, तर हावाहुरी र पानीका कारण कटौती भयो,’ उनले भने, ‘अब त्यस्तो समस्या हुन दिंदैनौं, प्राविधिक टोली खटाएका छौं ।’

मोरङ र सुनसरीमा पाँच वटा उद्योगले अक्सिजन उत्पादन गरिरहेका छन् । विनायक अक्सिजन, हिमालय अक्सिजन, दुर्गा अक्सिजन,  पाथिभरा अक्सिजन र मारुती अक्सिजन उद्योग सञ्चालनमा छन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?