
२८ वैशाख, चितवन । होम आइसोलेसनमा बसेका कोरोना भाइरस संक्रमितलाई चितवनको खैरहनी नगरपालिकाले घरमै औषधि पुर्याउने व्यवस्था मिलाएको छ । संक्रमण देखिएकाहरुमा रोग प्रतिरोधी क्षमता बढाउने आवश्यक औषधि उनीहरुको घरसम्म पुर्याउन थालिएको नगरपालिकाले जनाएको छ ।
खैरहनी नगरपालिकाको वडा नम्बर १ र ८ भित्र रहेका संक्रमितहरूलाई सम्बन्धित वडा कार्यालयले स्वास्थ्यसंस्थामार्फत औषधि घरमै पुर्याएको स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले जानकारी दिए । रोग प्रतिरोधी क्षमता बढाउन भिटामिन सी, भिटामिन डी र जिंकको आवश्यकता पर्दछ ।
खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले सबै वडा कार्यालयहरुलाई संक्रमितको घरमा औषधि पुर्याउन भनिएको बताए । खैरहनीमा मंगलबारसम्म १०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यसमध्ये ९२ जना सक्रिय संक्रमित छन् भने ९ जना निको भएका छन् ।
संक्रमण देखिएकामध्ये ८२ जना होम आइसोलेसन तथा १० जना अस्पतालको आइसोलेसनमा छन् । होम आइसोलेसनमा भएकाहरु पनि ठेगाना खैरहनी भई हाल अन्यत्र बसोबास गरिरहेका छन् ।
यस्तै नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि पहिलो चरणमा अक्सिजनसहितको २४ बेडको आइसोलेसन केन्द्र बनाएको छ । त्यहाँ स्वास्थ्यकर्मीहरुलाई तालिका बनाएर काममा खटाइएको स्वास्थ्य शाखा प्रमुख अधिकारीले बताए ।
प्रतिक्रिया 4