Comments Add Comment

वीरगञ्जमा कोरोना संक्रमणबाट मंगलबार ८ जनाको मृत्यु

२९ वैशाख, वीरगञ्ज । पछिल्लो २४ घण्टामा वीरगञ्जमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । मृतक मध्ये पर्साका ५ जना र बाराका ३ जना छन् । नारायणी अस्पतालमा ५ जना र नेशनल मेडिकल कलेजले बाबा होटेलमा सञ्चालन गरेको कोरोना अस्पतालमा २ जना र नारायणी बयोधा अस्पतालमा एक जनाको मृत्यु भएको हो ।

सोमबार मात्रै वीरगञ्जमा १० जना संक्रमितको मृत्यु भएको थियो । वीरगञ्जमा कोरोना संक्रमणको दोस्रो लहरमा मृतकको संख्या एकदमै बढी देखिएको छ । वीरगञ्जमा उपचारको क्रममा १ सय ११ जनाले ज्यान गुमाइसकेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । जसमध्ये ५८ जना जिल्ला बाहिरका छन् ।

नारायणी अस्पतालमा मात्रै बाराको २ र पर्साको ३ जना गरी ५ जनाको मृत्यु भएको कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।

वीरगञ्ज– ९ का ५५ वर्षीय पुरुषलाई वैशाख २१ गते अस्पतालमा भर्ना गरिएको थियो । उनको मंगलबार बिहान २ बजेर १० मिनेटमा मृत्यु भएको छ । वैशाख २१ गते नै उनको कोरोना परीक्षण रिर्पोट पोजिटिभ आएको थियो । उनी पहिल्यैदेखि उच्च रक्तचापका विरामी थिए ।

नारायणीमै पर्साको जगरनाथपुर गाउँपालिका–१ का ३५ वर्षीय पुरुषको बिहान पौने ६ बजे मृत्यु भएको छ । वैशाख २१ गते नारायणी अस्पतालमा भर्ना भएका उनमा सोही दिन एन्टीजीन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो ।

पर्साको बहुदरमाई नगरपालिका ४ बस्ने ५० वर्षीया महिलाको नारायणीमा मृत्यु भएको छ । वैशाख २० गते भर्ना भएकी महिलाको उपचारको क्रममा मंगलबार बिहान ७ः५० मा मृत्यु भएको अस्पतालले जनाएको छ ।

बाराको परवानीपुर गाउँपालिका– १ बुनियादकी ५५ वर्षीया संक्रमित महिलाको मंगलबार बिहान ३ बजे नारायणी अस्पतालमा मृत्यु भयो । वैशाख २६ गते नारायणी अस्पतालमा भर्ना भएकी उनको सोहि दिन गरिएको एन्टीजीन परीक्षण रिपोर्ट पोजिटिभ आएको थियो ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका– १३ कोटा बस्ने ५३ वर्षीया महिलाको पनि नारायणीमै उपचारको क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भई उपचारका लागि वैशाख २६ गते उनलाई नारायणीमा ल्याइएको थियो । सोही दिन आरटी पीसीआर गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको मृगौलामा पहिल्यैदेखि समस्या थियो । उपचारको क्रममा बिहान ०९ः१५ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ । सुरक्षा मापदण्ड पूरागरी दाहसंस्कार गर्ने शर्तमा शव आफन्तले बुझेर लगेका छन् ।

नेशनल मेडिकल कलेजको कोरोना अस्पतालमा वीरगञ्ज–१५ कि ५७ वर्षीया महिला र वडा नं ६ का ७६ वर्षीय पुरुषको मृत्यु भएको छ । ५७ वर्षीया महिलाको मंगलबार बिहान १ ः१० बजे र ७६ वर्षीय पुरुषको बिहान १ ः२० बजे मृत्यु भएको अस्पतालका डाक्टर ओम प्रकाश कुशवाहाले जानकारी दिए । वैशाख २३ गते नै मेडिकल कलेजको कोराना अस्थायी अस्पतालमा भर्ना भएका ती पुरषमा त्यही दिन पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

वैशाख २८ गते बाराको जीतपुर सिमरा उपमहानगरपालिका– २४ हरपुर ४२ वर्षीय पुरुषलाई श्वास प्रश्वासमा  समस्या भएपछि उपचारका लागि नारायणी बयोधा अस्पतालमा भर्ना गरिएको थियो । त्यसैदिन पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारको क्रममा मंगलबार बिहान ७ः५० मा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

पर्सामा सक्रिय संक्रमित १ हजार ७ सय ९६

वीरगञ्जमा गरिएको परीक्षणमा १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा सोमबार २ सय ८८ स्वाब नमुना परीक्षण गरिएको थियो । संक्रमित मध्ये १ सय १० जना छन् । बाराका ३३, सर्लाहीका २ , रौतहटको ४ जना र धनुषाको १ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै पर्सा जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ९६ पुगेको छ । जसमध्ये वीरगञ्जका विभिन्न अस्पतालमा ४ सय ४ जना संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड फोकल पर्सन प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए । अस्पतालमा अक्सिजन चाहिने गम्भीर प्रकृतिका संक्रमितलाई मात्रै भर्ना गर्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment