Comments Add Comment

भेन्टिलेटर खाली नहुँदा अस्पताल पुगेर पनि बँच्न सकेनन् संक्रमित

२९ वैशाख, वीरगञ्ज । वीरगञ्जमा एक कोरोना संक्रमितले अस्पताल पुगेर पनि भेन्टिलेटर नहुँदा ज्यान गुमाउनु परेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका– ३ बजनीका ६८ वर्षीय पुरुष समयमा नै अस्पताल पुगेपनि भेन्टिलेटर खाली नहुँदा उनले ज्यान गुमाउनु परेको हो ।

ती संंक्रमितको बिहान साढे ६ बजे नेशनल मेडिकल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पतालमा ज्यान गएको अस्पतालका चिकित्सक ओम प्रकाश कुशवाहाले जानकारी दिए । ‘अक्सिजनको सपोर्टमा थिए, स्थिति खराब हुँदै गइरहेको थियो।’ उनले भने ‘भेन्टिलेटर खाली नभएकोले राख्न पाएनौं, उनलाई बचाउन सकिएन ।’ श्वासप्रश्वासमा समस्या देखिएपछि वैशाख १७ गते उनी असपतालमा भर्ना भएका थिए ।

योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । नारायणी अस्पतालमा २ जना र नेशनल मेडिकल कलेजको कोरोना अस्पतालमा एक जनाको मृत्यु भएको हो । नेशनल मेडिकल कलेजमा ७८ जना कोरोना संक्रमित र १५ जना शंकास्पद संक्रमित उपचारत छन् । संक्रमित सबैलाई अक्सिजन दिएर राखिएको छ । २० वटा आईसियुमा रहेका संक्रमितमध्ये १० जना भेन्टिलेटरमा छन् ।

बाराको प्रसौनी गाउँपालिका–२ का ५७ वर्षीय पुरुषको मंगलबार राति साढे १० बजे नारायणी अस्पतालमा मृत्यु भएको छ । वैशाख २० गते भर्ना भएका उनको सोही दिन गरिएको एन्टीजीन परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

नारायणी अस्पतालमै पर्साको छिपहरमाई गाउँपालिका–५ का ७२ वर्षीय पुरुषको पनि मृत्यु भएको कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए । वैशाख २३ गते भर्ना भएका उनको बुधबार बिहान साढे १ बजे मृत्यु भएको उनले बताए ।

कोभिड निमोनियाका कारण दुवै फोक्सोले काम नगर्दा बिरामीको मृत्यु भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
कोरोना संक्रमणको दोस्रो लहरमा वीरगञ्जमा १ सय १४ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment