Comments Add Comment

विदेशमा अडि्कए श्रमिक, छैन उद्धार गर्ने सरकारी योजना

२९  वैशाख, काठमाडौं । मलेसियामा कार्यरत विराटनगरका भरत गिरीको अप्रिल २८ मा नेपाल आउने टिकट थियो, तर पीसीआर जाँच गर्दा पोजेटिभ आएपछि उतै रोकिए । यहीबीचमा नेपालमा कोरोना महामारीको दोस्रो लहर नियन्त्रणका लागि २३ वैशाखबाट अन्तर्राष्ट्रिय उडान बन्द गरिएपछि उनी अन्योलमा छन् ।

गिरीको भिसा अवधि सकिसकेको छ, काम पनि छैन । देश फर्किन चार्टर्ड फ्लाइट चल्छ कि भनेर दूतावासमा बुझ्दा त्यस्तो तयारी नै नभएको जवाफ पाएपछि तनाव थपिएको उनले फोनमा गुनासो गरे ।

कलैयाका अजय कुशवाह पनि भरत गिरीकै जस्तो तनावमा छन् । मे ९ तारिकमा भिसाको सकिएको छ, तर फ्लाइट बन्द भएकाले उनी मलेसियामै अडि्कएका छन् । अवैध भएर बसेको ठहरिने डरले उनी कोठाभित्र थुनिएर फ्लाइट खुल्ने दिनको प्रतिक्षा गरिरहेका छन् ।

सिराहाका दिलीप कुमारले मलेसियाबाट फर्किन महँगोमा पीसीआर गरेपछि नेपालको उडान रद्ध भयो । दूतावासमा समस्या सुनाउँदा समाधान नपाएको उनले बताए । अब कहिले उडान सुरु हुन्छ, भएपछि पनि यात्रुको चाप बढेर लामो समय अलपत्र पर्नुपर्ने हो कि भन्ने चिन्तामा छन्, उनी ।

उता, यूएईमा रहेका विक्रम खड्का बल्ल-तल्ल कम्पनीबाट मे ९ तारिकको टिकट पाएर नेपाल सरकारले अन्तर्राष्ट्रिय उडान रोकेपछि तनावमा परेका छन् । लामो समय उडान बन्द भए एयरलाइन्स कम्पनीले टिकट सार्न मान्ने हो कि होइन भन्ने उनको चिन्न्ता छ ।

बराइनमा कार्यरत चितवनका सुजन शर्मा पनि बल्लतल्ल घर फर्किने बेलामा उडान रद्ध हुँदा तनावमा छन् । उडान हुने दिन नजिकिँदै गर्दा सरकारले देश आउन निषेध गरेकोमा उनी दुःखी छन् । ‘हामीले कोरोना नेगटिभ रिपोर्टसिहत १४ दिन क्वारेन्टाइनमा बस्ने गरी देश फर्कन किन नपाउने ?’, उनको प्रश्न छ, ‘समस्यामा परेका आफ्ना नागरिकलाई नेपाल सरकारले वैकल्पिक व्यवस्था गरेर भएपनि फर्काउनुपर्छ ।’

विदेशस्थित कतिपय युवाले नेपालमा महामारी बढेपछि परिवारसँगै फर्किन चाहेका छन् । कतिपयको परिवारजन बिरामी छन्, कतिले घरमा शोक परेको भन्दै दूतावासमा सम्पर्क गरेका छन् । कतिले नेपालमा श्रम मन्त्रालयका विभिन्न निकायमा फोन गरेर फिर्तिको व्यवस्था गरिरिदन माग गरिरहेका छन् ।

अप्ठेरोमा परेका र आकस्मिक रुपमा आउँन परेका नागरिकलाई नेपाल सरकारले कुनै न कुनै किसिमबाट सम्बोधन गर्नपर्ने उनीहरुको माग छ ।

उद्धार उडानको योजना छैन

काठमाडौंमा तेस्रोपटक निषेधाज्ञा लम्बिएपछि प्रमुख श्रम गन्तब्य मुलुकका नेपाली दूतावासहरुमा अलपत्र परेका श्रमिकको गुनासो आउने क्रम बढ्दै छ । यूएईस्थित नेपाली दूतावासका एक अधिकारी उडान खोल्ने पहल गर्न आग्रह गर्दै दैनिक दर्जनौं फोन आइरहेको बताउँछन् ।

‘तर, यो दिनबाट उडान खुल्छ भनेर जवाफ दिन सक्ने अवस्थामा हामी छैनौं,’ नाम उल्लेख गर्न नचाहने ती अधिकारीले भने, ‘चार्टर्ड उडान हुन्छ भन्न सक्ने अवस्था पनि छैन ।’

विदेशमा अड्किएका श्रमिकहरुलाई फर्काउन नेपाल सरकारले योजना होइन, सोचसम्म बनाएको छैन । सरकारी अधिकारीहरु महामारी नियन्त्रण गर्ने हो भने उडान सञ्चालन गर्न नहुने पक्षमा छन् ।

अघिल्लो पटकको कोरोना लहरमा सरकारले २०७६ चैतदेखि असारसम्म अन्तर्राष्ट्रिय उडान रोकेको थियो । त्यसपछि असारदेखि उद्धार गर्ने भन्दै चाटर्ड उडान सञ्चालन गरेको थियो । दूतावासहरुले चार्टर्ड उडानका आउनेहरुको प्राथमिकीकरण गरेर सूची प्रकाशित गरेका थिए । त्यसरी आएकाहरुलाई नेपाली सेनाले विमानस्थलबाट होल्डिङ सेन्टर र त्यहाँबाट सम्बन्धित वडासम्म लगेर छाड्ने गरेको थियो ।

के भन्छ सरकार ?

दूतावासहरुबाट उद्धारका लागि उडानको माग नै नभएको परराष्ट्र मन्त्रालय बताउँछ । त्यसकारण, उद्धार उडान सञ्चालन गर्नुपर्ने निष्कर्षमा नपुगेको मन्त्रालयकी प्रवक्ता सेवा लम्साल बताउँछिन् ।

‘यो लकडाउन लामो समय गर्नुपर्दैन भन्ने विश्लेषण थियो, तर केही लम्बिने देखियो,’ उनले भनिन्, ‘तर, अहिलेसम्म गत वर्षको जस्तो श्रमिकहरु आत्तिएर र्फिन चाहेका छैनन्, यहाँभन्दा त श्रम गन्तब्य मुलुकहरुमै अवस्था राम्रो छ । विभिन्न समस्याले फर्किन चाहनेहरुको संख्या धेरै भए समन्वय गरेर समाधान निकाल्न मन्त्रालय तयार छ ।’

वैदेशिक रोजगार विभागमा महानिर्देशक कृष्णप्रसाद दवाडी उडान रोकिँदा विदेशमा समस्यमा परेकाहरुबारे सरकार चिन्तित रहेको बताउँछन् । ‘विदेशमा स्वास्थ्य समस्या भएका, कम्पनीबाट सेवा सुविधा नपाएर दुःख पाएका र अनेकन समस्यामा फसेकाहरु छन् भने उद्धार गरेर ल्याउनुपर्छ,’ उनले भने, ‘तुरुन्तै उद्धार गर्नुुपर्ने अवस्थामा कति श्रमिक छन् भनेर वैदेशिक रोजगार व्यवसायि संघसँग तथ्यांक मागेका छौं ।’

सम्बद्ध नेपाली दूतावासहरुले पनि पररराष्ट्र मन्त्रालयलाई नियमित रिपोर्टटिङ गरिरहेको दवाडीले बताए । ‘फर्किन चाहने त धेरै होलान्, समस्यामा परेकाहरुलाई प्राथमिकता दिएर उद्धार गर्नुपर्ने हुनसक्छ,’ उनले भने ।

वैदेशिक रोजगार बोर्डका प्रवक्ता दिनवन्धु सुवेदी भने स्वास्थ्य मन्त्रालय जेठ मध्यसम्म कडा निषेधाज्ञा गर्नपर्ने पक्षमा रहेकाले उद्धार उडानको सम्भावना नभएको बताउँछन् । ‘अघिल्लो पटकजस्तो विदेशमा श्रमिकको अवस्था भयावह छैन,’ उनी भन्छन्, भन्छन्, ‘अत्यावश्यक परेर आउन चाहानेले जेठको मध्यअघि अनुमति पाउने सम्भवना कमै देखिन्छ ।’

सरकारले मंगलबार अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म  बन्द गर्ने निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रवीन्द्र घिमिरे

ट्रेन्डिङ

Advertisment