Comments Add Comment

चितवन राष्ट्रिय निकुञ्जमा संरक्षित गौरी गाई गणना सुरु

२९ वैशाख, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा संरक्षित गौरी गाई गणना सुरु भएको छ । ५ वर्षपछि हुने लागेको गौरी गाई गणना तीनदिनसम्म चल्ने निकुञ्जले जनाएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले निकुञ्जले आन्तरिक व्यवस्थापनमा गणना सुरु गरेको जानकारी दिए । गणनामा २२ वटा हात्ती र २२ जना गणना खटिएका छन् । निकुञ्जको त्रिवेणी, चुरे, टाइगरटप्स क्षेत्रमा बढी मात्रामा गौरी गाई पाइने प्रमुख संरक्षण अधिकृत बरालले जानकारी दिए ।

संयुक्त राष्ट्रसंघको इन्टरनेसनल युनियन फर नेचर कन्जरभेसनले दुर्लभ जातिको सूचीमा गौरीगाईलाई राखेको छ । निकुञ्जको आन्तरिक तीन लाख बजेटबाट गौरी गाई गणना गर्न लागिएको हो । हेड काउन्टमार्फत गणना गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।

यसअघि २०७३ (सन् २०१६) मा चितवन राष्ट्रिय निकुञ्जमा गरिएको गणनामा गौरी गाईको संख्या ३६८ रहेको थियो । पर्सामा १०५ वटा रहेका छन् । यो संख्या सन् २०११ मा गरिएको गणनाभन्दा ५६ ले बढी हो ।

सन् २०११ को गणनामा निकुञ्जमा ३१२ वटा गौरी गाई थिए । चितवन राष्ट्रिय निकुञ्जमा ११५ वटा भाले र १४८ वटा पोथी, लिङ्ग नछुट्टिएकामा वयस्क गौरीगाई ७२ वटा र ३३ वटा बच्चा रहेको गणनाले देखाएको थियो ।

गणनाले गौरीगाईको अवस्था पत्ता लगाउन तथा संरक्षणको नयाँ नीति बनाउन प्रभावकारी हुने प्रमुख संरक्षण अधिकृत बरालले बताए । उनका अनुसार कसराको पूर्वी क्षेत्रको गौर मचानदेखि सुनाचुरी क्षेत्रका साथै टाइगर टप्स र टेम्पल टाइगर क्षेत्रमा बढी मात्रामा गौरीगाई देखिने गरेको छ ।

गौरी गाईको बासस्थान व्यवस्थापन, शून्य चोरी शिकारीका कारण समेत गौरी गाई बढ्ने सक्ने निकुञ्जको विश्वास छ । चोरी सिकारीको समस्या त्यति धेरै नदेखिने भए पनि बाघले बच्चा खाइदिने समस्या भने छ ।

विषेशत गौरी गाईहरु साल भएको अलि अग्लो तथा चुरे क्षेत्रमा बस्न रुचाउँछन् । खोरेतको डरले पानीको स्रोतभन्दा सुख्खा ठाउँ यिनीहरुको रोजाइमा पर्छ । गौरी गाईको सरदर आयु २० देखि ३० वर्ष रहेको छ । गौरी गाई दुईदेखि ५० वटासम्मको समूहमा बस्ने गर्छन् ।

९ महिनामा एक मात्रै बाच्छा वा बाच्छी पाउने गौरीगाई मूलतः कालो रंगको हुन्छ । केही भाग खैरो र खुट्टानजिक सेतो भाग पनि हुन्छ । वयस्कको उचाइ १.७५ मिटरदेखि २.२ मिटर, लम्वाइ २.५ मिटरदेखि ३.३ मिटर र वजन १२ सयदेखि २ हजार केजीसम्म हुन्छ ।

नेपालको चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा मात्रै गौरीगाई पाइन्छ । नेपाल, भारत, भुटान, बंगलादेश, मलेसिया, चीन, बर्मा, भियतनाम, लाओस, कम्बोडिया र थाइल्याण्डसहित ११ देशमा गौरी गाई पाइन्छ । यसका तीन उपप्रजाति हुन्छन् । तीमध्ये नेपाल र भारतमा बोस गौरर्स गौर्स उपप्रजाति पाइन्छ ।

चीन, भियतनाम र बर्मामा बोस गौर्स रेडि तथा थाइल्याण्ड र मलेसियामा बोस गौर्स हुब्बाकी उपप्रजाति पाइने निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment