Comments Add Comment

निषेधाज्ञामा गीतकारः कोही गीत लेख्दै, कोही भन्छन्– ‘बेचैन मनले कसरी लेख्नु ?’

गीतकार एकनारायण भण्डारीलाई हिजोआज गीत लेख्ने जाँगर छैन । उनले निषेधाज्ञा लागू भएसँगै आजसम्मको समय यत्तिकै व्यतित गरे । ‘कोरोनाका कारण माहोल नै राम्रो छैन्’ उनी भन्छन् ‘लेख्नतर्फ जाँगर नै चलेको छैन । एकदमै अल्छी भएको छु ।’

गतवर्ष कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनमा भने एकनारायणले केही गीतहरु लेखेका थिए । गीतहरु स्रोता–दर्शकले रुचाएका पनि थिए । चलचित्र ‘ए मेरो हजुर ४’का लागि दुई गीत गतवर्षको लकडाउनमा तयार पारेका थिए । तर, कोरोनाका कारण चलचित्र रिलिज हुन पाएन ।

यसवर्ष पनि केही राम्रा सिर्जनाहरु दिने एकनारायणको सोँच छ । तर, आफ्नो मनलाई लेखनतर्फ लैजान सकिरहेका छैनन् । ‘लेखनतिर मन लैजान खोजेपनि सकिरहेको छैन्’ उनले भने ‘निषेधाज्ञा थपियो अब मानसिक रुपमा तयार भएर लेख्न थाल्नुपर्ला ।’

उनी अब गरिरहेका भन्दा फरक सिर्जनातर्फ लाग्ने सोँच बनाएको बताउँछन् । ‘आफूले गरिरहेको भन्दा केही फरक, आफ्नैपनभित्र पनि प्रयोगात्मक शैलीका गीतहरु, शब्दमा गहिरो साहित्यको खोजिमा छु । हेरौं कस्तो हुन्छ’– उनले सुनाए ।

गीतकार राजकुमार बगर कोरोना महामारीका कारण गीत लेख्ने मुड नै नरहेको बताउँछन् । उनी भन्छन्, ‘दुःखको गीत लेख्न पनि मनमा चैन हुनुपर्ने रहेछ । अहिले मन नै बेचैन छ । यस्तो अवस्थामा कसरी गीत लेख्नु ?’

गीत लेख्न बसेपनि मन कोरोना महामारीले निम्त्याएको भयावह अवस्थातर्फ जाने बताउँछन् ।

यद्यपी, निषेधाज्ञाले फुर्सदिलो बनाएको हुँनाले आगामी दिनमा गीतसंगीतमै केही सिर्जनात्मक काम गर्ने उनको सोँच छ । ‘निषेधाज्ञा भएपछि अहिलेसम्मको समय त यत्तिकै बिताए । अब चाँही लेख्नुपर्ला भनेर सोँचिरहेको छु’– उनले भने ।

गीतकार डा. कृष्णहरी बरालको निषेधाज्ञाको दैनिकी भने लेखनतिरै छ । ‘खाना खाएपछि दिनभर लाइब्रेरी कोठामा बसेर लेखनमा समय बिताईरहेको छु’ उनले भने ।
उनले गीतसंगै किताब लेखनमा अहिलेको समय बिताईरहेको बताउँछन् । निषेधाज्ञा लागू भएपछि आधा दर्जन गीत लेखिसकेको उनी बताउँछन् ।

अन्य समय प्रायः ब्यस्त दैनिकीमा हुने बराललाई अहिले धेरैले गीत लेख्न आग्रह गर्ने गरेका छन् । ‘अहिले फुर्सदमा हुने कारणले धेरैले गीत लेखेर पठाइदिन आग्रह गर्छन । फर्माइस अनुसार गीत लेख्ने, सम्बन्धित ब्यक्तिलाई पठाउने काम चलिरहेको छ’ उनी भन्छन ।

त्यस्तै आफ्नो किताब ‘गीत सिद्धान्त र ईतिहास’, ‘गजल सिद्धान्त र परम्परा’ परिमार्जनतर्फ लागिरहेको उनी बताउँछन् ।

गीतकार नेत्र अर्याले निजामति सेवामा कार्यरत छन् । उनी आलोपालो कार्यालय जानुपर्छ । कार्यालय नभएको समय भने लेखनमै बित्ने गरेको छ ।

गतवर्षको लकडाउनमा उनले डेढ दर्जन जति गीत लेखेका थिए । ‘लरिलरीलै’, ‘सोँचेझै जिन्दगी रैनछ’, ‘झ्यालमा पर्दा छ’ लगायतका गीतलाई स्रोता  दर्शकले रुचाएका थिए ।

यसवर्ष निषेधाज्ञा भएपछि केही गीतहरु तयार पारेका छन् । ‘पहिले कुरा भएका केही गीतहरु अहिले लेखिरहेको छु । त्यसबाहेक तीज गीतको पनि लेखनमा लागेको छु’ उनले सुनाए ।

यद्यपी कोरोना महामारीका कारण लेखनतर्फ अन्य समयमा जस्तो ध्यान नजाने बताउँछन् उनी । ‘आफू ब्यस्त भएपनि माहोल राम्रो हुँदा सहज तरिकाले लेखिने रहेछ । फुर्सद हुँदा पनि बाहिरको परिस्थितिले गर्दा ध्यान दिएर लेख्न नसकिने रहेछ’ उनले अनुभव सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment