Comments Add Comment
निषेधाज्ञाको दुई साता :

महामारीमा मनलाग्दी मूल्य, किलोमै १५ रुपैयाँ महँगो

३० वैशाख, काठमाडौं । कोभिड महामारीले पिल्सिरहेका बेला ‘अप्ठेरोमा असुल्ने’ केही व्यापारीको गलत नियतका कारण सर्वसाधारण महँगीको मारसमेत खेप्न बाध्य भएका छन् ।

सरकारी निकायले मौन समर्थन जनाइदिएपछि केही व्यपारीहरूले खाद्यवस्तुमा मनलाग्दी मूल्यवृद्धि गरेर चरम लुट गरिरहेका छन् ।  निषेधाज्ञा सुरु भएको वैशाख १६ देखि २९ गतेसम्म खाने तेल, चामल, मुसुरोको दाल र चिनीको भाउ किलो तथा लिटरमा ३ देखि १५ रुपैयाँसम्म बढाइएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।

निषेधाज्ञाको १५ दिनको अवधिमा चिनीमा प्रतिकिलो ११ रुपैयाँ, खाने तेल प्रतिलिटरमा १५ रुपैयाँ, रातो मुसुरोको दाल प्रतिकिलोमा १३ रुपैयाँ र चामल प्रतिकिलोमा तीन रुपैयाँले बढेर आएको संघका कार्यसमिति सदस्य ध्रुव अधिकारीले बताए ।

निषेधाज्ञाको अघिल्लो दिनसम्म होलसेलमा ७५ रुपैयाँ प्रतिकिलोमा पाइने चिनीको मूल्य अहिले ८६ रुपैयाँ प्रतिकिलो पुगेको अधिकारीले बताए । खुद्रामा बिक्री गर्दा अहिले चिनीको भाउ किलोमा ९५ रुपैयाँ पुगेको उनको भनाइ छ ।

यस्तै निषेधाज्ञा अघि प्रतिलिटर २२५ रुपैयाँमा झरेको सनफ्लावर खाने तेलको भाउ निषेधाज्ञाकै अवधिमा २४० रुपैयाँ पुगेको अधिकारीले बताए । प्रतिकिलो ११२ रुपैयाँमा पाइने मुसुरोको रातो दालको भाउ पनि १२० देखि १२५ रुपैयाँ पुर्‍याइएको छ भने सबै खाले चामलको भाउ किलोमा तीन रुपैयाँले बढेको संघले जनाएको छ ।

खुद्रा व्यापार संघ सदस्य ध्रुव अधिकारीले भने– मौज्दात सकिएको, आयातमा अप्ठ्यारो भएको जस्ता कारण देखाएर मूल्य बढेको होलसेलले बताउने गरेका छन् । महामारीमा पनि मनलाग्दी मूल्य बढाइयो।

‘मौज्दात सकिएको, आयातमा अप्ठ्यारो भएको जस्ता कारण देखाएर मूल्य बढेको होलसेलले बताउने गरेका छन्, महामारीमा पनि मनलाग्दी मूल्य बढाइयोे,’ अधिकारीले भने ।

चिनी र तेलको भाउ बढेको हो’

होलसेल खाद्य सामग्री बिक्रेताहरूको संस्था नेपाल किराना व्यवसायी संघले पनि निषेधाज्ञापछि चिनी र खाने तेलको भाउ बढेको स्वीकार गरेको छ । निषेधाज्ञा सुरु भएपछि चिनीको भाउ ८० बाट ८७ रुपैयाँ प्रतिकिलो होलसेल पुगेको संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले बताए ।

यस्तै खाने तेलको भाउ पनि बढेको तर कति बढ्यो भन्ने एकिन नभएको उनले बताए । ‘चिनीको भाउ किलोमा ७ रुपैयाँ जति बढेको छ, तेलको भाउ पनि त्यस्तै बढेको छ, तेलमा कति बढ्यो एकिन थाहा छैन,’ संघका अध्यक्ष श्रेष्ठले भने ।

अन्य खाद्य सामग्रीमा भने मूल्य वृद्धि नभएको उनको जिकिर छ । महामारीको समयमा व्यवसायीले नभई उत्पादक उद्योगी व्यवसायीले नै मूल्य बढाएको उनको भनाइ छ । उपभोक्ताले निषेधाज्ञामा डरका कारण खाद्यवस्तु मौज्दात गर्ने प्रचलन बढ्दा पनि मूल्य बढी लिनेलाई बल मिलेको अध्यक्ष श्रेष्ठको जिकिर छ ।

मूकदर्शक नियामक निकाय

महामारीको बीचमै बजारमा मूल्य वृद्धिले उपभोक्ताको ढाड सेकिरहेको बेला नियामक निकाय भने मौन छ । बजार अनुगमनको नाममा केही स–साना खुद्रा पसलमा अनुगमन गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मूल्य बढाउन मूख्य भूमिका खेल्नेमाथि भने कुनै कारबाही गरेको छैन ।

चिनीलगायत खाद्यान्नको मूल्य वृद्धिबारे गुनासो प्राप्त भएको विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईंले बताए । उपलब्ध स्रोत र साधनका आधारमा बजार अनुगमन गरिरहेको उनको दाबी छ ।

‘महामारीमा स्वस्थ्य क्षेत्रमा संयुक्तसहित खाद्यन्नमा पनि नियमित अनुगमन गरिररहेका छौं । अब यसलाई थप बढाउँछौं,’ प्रवक्ता सेढाईंले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment