Comments Add Comment

बिटक्वाइनलाई लाग्यो झट्का, टेस्लाले स्वीकार नगर्ने

विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सबैभन्दा महंगो डिजिटल क्रिप्टोकरेन्सी बिटक्वाइन भुक्तानी गरेर कार खरिद गर्न सकिने योजना खारेज गरेको छ । बिटक्वाइनको प्रयोग जलवायु परिवर्तनका लागि जिम्मेवार हुने भनी व्यापक बहस भइरहेका बेला टेस्ला सिइओ एलन मस्कले ट्वीट मार्फत् यस्तो घोषणा गरेका हुन् ।

टेस्लाले कार खरिदमा बिटक्वाइन स्वीकार नगर्ने मस्कको ट्वीट सार्वजनिक भएसँगै बिटक्वाइनको मूल्य १० प्रतिशतले घटेको छ भने शेयर मूल्यमा पनि गिरावट आएको छ ।

यसअघि गत मार्च महिनामा टेस्लाले कार खरीदमा क्रिप्टोकरेन्सीको भुक्तानी पनि स्विकार गर्ने घोषणा गरेको थियो, जसको वातावरणवादी तथा लगानीकर्ताहरुले व्यापक आलोचना गरेका थिए ।

गत जनवरीमा टेस्लाले डेढ अर्ब डलरको बिटक्वाइन खरिद गरेको थियो ।

मस्कले आफ्नो ट्वीटमा लेखेका छन् ‘बिटक्वाइनको माइनिंग तथा कारोबारमा जिवांश इन्धन, खासगरी सबैभन्दा हानिकारक प्रदुषकको रुपमा रहेको कोइलाको प्रयोग तिव्र रुपमा बढिरहेको कुराले हामीलाई सचेत बनाएको छ । क्रिप्टोकरेन्सी राम्रो अवधारणा हो, तर यसका लागि वातावरणको ठूलो मूल्य चुकाउन सकिँदैन ।’

भुक्तानीमा क्रिप्टोकरेन्सी स्विकार नगर्ने बताएको टेस्लाले आफुसँग रहेको बिटक्वाइन पनि नबेच्ने प्रष्ट पारेको छ ।

गत महिना मात्रै टेस्लाले चालू वर्षको पहिलो त्रैमासिकको मुनाफा सार्वजनिक गरेको थियो । सन् २०२१ को पहिलो तीन महिनामा टेस्लाले ४३ करोड ८० लाख डलर मुनाफा गरेको छ र यसमा बिटक्वाइन बिक्रिबाट आर्जन भएको नाफाको हिस्सा पनि उल्लेख्य छ ।

स्मरण रहोस् विश्वमा क्रिप्टोकरेन्सीहरुको वकालत गर्ने हाइप्रोफाइल व्यक्तिहरुमध्येमा एक पर्दछ उनी । मस्कले बिटक्वाइन तथा अर्को डिजिटल मुद्रा डोगेक्वाइनका बारेमा पनि प्रायः ट्वीट गरिरहेका हुन्छन् ।

हालैका महिनाहरुमा मस्कले गरेको ट्वीटकै कारणले सोसल मिडियामा मजाकको विषयको रुपमा सुरुवात भएको क्रिप्टोकरेन्सी डोगेक्वाइन अहिले विश्वको चौथो ठूलो क्रिप्टो करेन्सी बनिसकेको छ ।

बिटक्वाइन र वातावरणीय चिन्ता

बिटक्वाइनमा माइनिंग तथा कारोबारका लागि उच्च क्षमतायुक्त कम्प्युटरहरुको प्रयोग हुन्छ र यसमा ठूलो परिमाणमा उर्जाको खपत हुन्छ । बिटक्वाइन माइनिंगका लागि आवश्यक बिजुलीको ठूलो हिस्सा कोइला जस्ता अनविकरणीय श्रोतबाटै उत्पादन गरिएको हुन्छ ।

चिनिया माइनरहरुको बाहुल्यता रहनु तथा सस्तो जिवांश इन्धनबाट महंगो नविकरणीय उर्जाको प्रयोगमा लैजानका लागि उत्प्रेरणाको कमी हुनुका कारणले बिटक्वाइनलाई वातावरणविदहरुले चिन्ताको विषय मान्दै आएका छन् । विश्वमा हुने कूल बिटक्वाइन माइनिंग मध्ये ७५ प्रतिशत त चीनमै हुने गरेको छ ।

बिटक्वाइनको कार्वन उत्सर्जन चीनका सबैभन्दा ठूला १० सहरमध्ये झण्डै एउटा सहरजत्तिकै छ ।बिटक्वाइन मानइरहरुले प्रयोग गर्ने विजुलीको अधिकांस हिस्सा कोइला लगायतका जिवांश इन्धनबाटै उत्पादन हुने गर्दछ ।

– बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment