Comments Add Comment

इब्राहिमोभिचले चोटका कारण युरोकप नखेल्ने

२ जेठ, काठमाडौं । स्वीडेनका स्ट्राइकर ज्लाटन इब्राहिमोभिचले अर्को महिनादेखि सुरु हुने युरोकप नखेल्ने भएका छन् । घुँडाको चोटका कारण भेट्रान इब्राहिमोभिचले युरोकप गुमाउने भएका हुन् ।

३९ वर्षीय इब्राहिमोभिच गत मार्चमा अन्तर्राष्ट्रिय सन्यास फिर्ता लिँदै राष्ट्रिय टिममा परेका थिए । तर पाँच वर्षपछि राष्ट्रिय टिममा फर्किएका उनले युरोकप भने नखेल्ने भएका छन् ।

स्वीडेन फुटबल संघले अफिसियल ट्वीटरमा इब्राहिमोभिचले चोटका कारण युरोकप खेल्न नसक्ने प्रशिक्षक जाने एन्डरसनलाई जानकारी गराएको उल्लेख गरेको छ । प्रशिक्षक एन्डरसनले यो दुवैका लागि दु:खद रहेको बताए । ‘निश्चय नै यो दु:खद हो, विशेषगरी ज्लाटनको लागि तर हाम्रो लागि पनि,’ एन्डरसनले भने, ‘मलाई आशा छ उनी जतिसक्दो चाँडो मैदानमा फर्कनेछन् ।’

इटालियन सिरी ए अन्तर्गत मे ९ मा युभेन्ट्सविरुद्धको खेलमा इब्राहिमोभिचलाई चोट लागेको थियो । एसी मिलानले ३-० ले जितेको उक्त खेलमा उनी ६६ मिनेटपछि मैदान सब्सिच्युट भएका थिए ।

सन् २००१ मा डेब्यु गरेका उनले स्वीडेनका लागि ११६ खेल खेलेका छन् । उनी सर्वाधिक गोलकर्ता समेत हुन् । उनले राष्ट्रिय टिमका लागि ६२ गोल गरेका छन् ।

सन् २०१६ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका इब्राहिमोभिच ५ वर्षपछि फेरी अन्तर्राष्ट्रिय फुटबलमा फर्केका थिए । विश्वकप २०२२ को छनोट अन्तर्गत मार्चमा उनले जर्जिया विरुद्धको खेल गोलका लागि असिस्ट समेत गरेका थिए ।

कोरोना महामारीका कारण एक वर्ष पछि सरेको युरोकप जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।

इब्राहिमोभिच अघि नेदरल्याण्ड्सका कप्तान भर्जिल भान डाइकले पनि चोटकै कारण युरोकप नखेल्ने घोषणा गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment