Comments Add Comment

कर्णालीमा तत्काल अक्सिजन प्लान्ट स्थापना गर्न संसदीय समितिको निर्देशन

२ जेठ, सुर्खेत । कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिले कोरोना नियन्त्रणमा प्रदेश सरकारलाई गम्भीर भएर लाग्न निर्देशन दिएको छ ।

समितिको शनिबार बसेको बैठकले प्रदेश अस्पताल, सुर्खेतमा दैनिक १ हजार सिलिण्डर भर्न सक्ने अक्सिजन प्लाण्टको तत्काल स्थापना गर्न समेत लिखित निर्देशन दिएको हो ।

समितीले प्रदेशभर अक्सिजनको अभाव हुन नदिन र अस्पतालहरुमा नियमित विद्युत आपूर्ति व्यवस्था मिलाउन समेत प्रदेश सरकारलाई निर्देशन दिएको समितीका अध्यक्ष देवी वलीले जानकारी दिइन् ।

‘प्रदेश सरकार मातहतको अस्पतालले बिरामी भर्ना लिन नसक्ने सूचना जारी गरेकोमा समितीको ध्यानाकर्षण भएको छ,’ अध्यक्ष वलीले भनिन्, ‘महामारी नियन्त्रण तथा उपचारसँग सम्बन्धित अत्यावश्यकीय औषधि र मेडिकल सामग्रीको पनि तत्काल व्यवस्था गर्न पनि समितीले निर्देशन दिइएको छ ।’

अत्यावश्यकीय औषधि र मेडिकल सामग्रीको लागि मित्र राष्ट्र तथा अन्य मुलुकलगायत गैर–सरकारी संघ–संस्था, निजी क्षेत्रसँग समन्वय गरी अगाडि बढ्नुपर्ने लगायत सुझाव समितिले दिएको छ ।

समितिले कोरोना संक्रमित बिरामी र आफन्तहरूमा अत्यधिक डर, त्रासको वातावरण भइ मानसिक समस्यासमेत देखिन थालेकोले यसलाई न्यूनीकरण गर्न मनोविमर्श सेवा तत्काल सुरुवात गर्न पनि सरकारलाई निर्देशन दिएको समितीका सचिव राजेन्द्र पौडेलले बताए ।

सचिव पौडेलका अनुसार वैठकले प्रदेशभित्रका अस्पतालहरुमा अनुगमनको कार्यलाई तीब्रता दिने निर्णय गरेको छ । संघ, प्रदेश र स्थानीय सरकारले कोभिड–१९ को रोकथाम, नियन्त्रण र संक्रमणबाट बच्नका लागि दिएका आम निर्देशनहरु पालना भए नभएको बारे अनुगमन गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment