Comments Add Comment

फेसबुकका पूर्व कर्मचारीलाई एप्पलले किन बर्खास्त गर्‍यो ?

गत अप्रिल महिनामा एप्पल कम्पनीमा जागिर सुरु गरेका फेसबुकका पूर्व उच्च पदस्थ कर्मचारी एन्टोनियो गार्सिया मार्टिनेजलाई एप्पलले बर्खास्त गरेको छ ।

हजारौँ कर्मचारीहरुले हस्ताक्षर अभियान नै चलाएर मार्टिनेजसँग काम गर्न नसक्ने भन्दै उनलाई हटाउन माग गरेपछि एप्पलले उक्त कदम चालेको हो ।

बर्खास्तगीमा परेका मार्टिनेजले चाहीँ एप्पलले आफ्नो मानहानी गरेको र हठात् जागिरबाट हटाएको टिप्पणी गरेका छन् ।

फेसबुकका पूर्व प्रडक्ट म्यानेजर रहेका मार्टिनेज गत अप्रिलमा एप्पलको विज्ञापन विभागमा काम सुरु गरेका थिए । तर सन् २०१६ मा उनले लेखेको एक पुस्तकमा जातिभेदी, लिंगभेदी तथा महिला विरोधी विचारहरु रहेको भन्दै त्यस्ता व्यक्तिसँगसँगै काम गर्न नसक्ने भनेर एप्पलका २ हजारजना कर्मचारीहरुले हस्ताक्षर अभियान चलाएका थिए ।

सन् २०१६ मा मार्टिनेजले सिलिकन भ्यालीमा काम गर्दाका अनुभवहरु सँगालेर Chaos Monkeys: Obscene Fortune and Random Failure in Silicon Valley नामक विवादित आत्मकथा लेखेका थिए । उनले सन् २०१० देखि २०१४ सम्म सिलिकन भ्यालीमा काम गर्दा आफूले देखे तथा भोगेका कुराहरु आत्मकथामा समेटेका थिए ।

उनले आफ्नो आत्मकथामा एक ठाउँमा लेखेका छन् : सनफ्रान्सिस्कोको बे एरियामा काम गर्ने अधिकांश महिलाहरु कोमल, कमजोर, पुल्पुल्याइएका तथा मुर्ख छन् । तथापी उनीहरु आफूलाई विश्वस्तरीय ठान्छन् । वास्तवमा उनीहरु रद्दीले भरिएका छन् । उनीहरु महिलावादीको पगरी लगाउँछन् र निरन्तर रुपमा स्वतन्त्रताको बखान गर्दछन् । तर वास्तविकता चाहिँ अप्ठेरो परिस्थितिमा उनीहरु निकम्मा साबित हुन्छन् प्रयोगबिहीन झोला जस्तै ।

साथै सोही पुस्तकमा उनले स्टार्टअप कम्पनीमा सुरुवाती लगानी जुटाउनुलाई पाँचजना महिलासँग पालैपालो यौनक्रिडा गर्नु तथा एकैपटक यौनक्रिडा गर्नुसँग तुलना गरेका छन् ।

मार्टिनेजका आत्मकथा पुस्तकका यिनै आपत्तिजनक अंशहरु समेत उद्धृत गर्दै एप्पलका कर्मचारीहरु उनको विरोधमा उत्रिए र उनलाई बर्खास्त गर्न माग गर्दै हस्ताक्षर अभियान चलाएका हुन् ।

आफ्नै कर्मचारीहरुको व्यापक विरोधपछि एप्पलले मार्टिनेजलाई बर्खास्त गर्दै भनेको थियो : एप्पलले सदैव समावेशी तथा स्वागत योग्य कार्यस्थलको सिर्जना गर्ने प्रयास गरिरहेको छ । त्यसैले मानिसहरुलाई अवमूल्यन तथा विभेद गर्ने व्यवहारहरुका लागि एप्पलमा ठाउँ छैन ।

एप्पलको उक्त कदमप्रति आक्रोश व्यक्त गर्दै मार्टिनेजले शुक्रबार ट्वीट गरेका छन् । ट्वीटमा उनले आफ्नो किताबका बारेमा एप्पल पहिले नै जानकार रहेको भन्दै जागिरका लागि भएको अन्तरवार्ताका क्रममा पनि आफ्नो किताबका विषयमा कुराकानी भएको र आफूले आफ्नो साहित्यिक र व्यवसायिक पाटो फरक-फरक रहेको प्रष्ट पारेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘म एप्पलबाट अलग्गिएको होइन । मलाई एप्पलले हठात् निर्णय गरी बर्खास्त गरेको हो । एप्पलले यस्तो विज्ञप्ति सार्वजनिक गरेको छ जसबाट एप्पलमा काम गर्ने क्रममा मैले नकारात्मक व्यवहारहरु प्रदर्शन गरेँ भन्ने बुझाउँछ । यो मानहानी गर्ने खालको तथा पूर्णत मिथ्या आरोप हो ।’

मार्टिनेजको टिप्पणीका बारेमा एप्पलले कुनै प्रतिक्रिया जनाएको छैन ।

सिलिकन भ्यालीमा प्रवेश गर्नुअघि मार्टिनेजले गोल्डम्यान साख्स कम्पनीमा क्वान्टिटेटिभ स्ट्राटेजिस्टको रुपमा आफ्नो व्यवसायिक जीवन सुरु गरेका थिए र एडग्रोक नामक स्टार्टअप कम्पनी सुरु गरेका थिए । पछि उक्त कम्पनी उनले ट्वीटरलाई बेचेका थिए ।

मार्टिनेजले सन् २०११ देखि २०१३ सम्म प्रडक्ट म्यानेजरको रुपमा फेसबुकमा काम गरे ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment