Comments Add Comment

चोटका कारण जर्मन गोलकिपर मार्क टेर स्टेगनले युरोकप गुमाउने

३ जेठ काठमाडौं । जर्मन गोलकिपर मार्क आन्द्रे टेर स्टेगनले अर्को महिनादेखि हुने युरोकप फुटबल गुमाउने भएका छन् । चोटका कारण २० वर्षीय गोलकिपर टेर स्टेगनले युरोकप गुमाउने भएका हुन् ।

स्पेनिस क्लब बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्ने टेर स्टेगेनले सोमबार सामाजिक सञ्जालमार्फत युरोकप गुमाउनुपर्दा आफूलाई दुःख लागेको बताएका छन् । ‘म दुःखी छु । धेरै वर्षपछि म आफ्नो टिमलाई समर्थकको रुपमा घरबाट समर्थन गर्दैछु । मलाई आशा छ हामीले युरोकप जित्नेछौं,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा सेल्टा भिगोसँग पराजित हुँदै उपाधि होडबाट टाढिएपछि टेर स्टेगनले मिनी विश्वकपको रुपमा परिचित युरोकप नखेल्ने भएका हुन् ।

टेर स्टेगनको अब घुँडाको शल्यक्रिया गर्नुपर्नेछ । जर्मन फुटबल एशोसिएसनले सोमबारै स्टेटमेन्ट जारी गर्दै घुँडाको शल्यक्रिया गर्नुपर्ने भएकाले उनले युरोकप गुमाउने उल्लेख गरेको छ ।

टेर स्टेगनले बार्सिलोनाको मेडिकल टिमसँगै रहेर घुँडाको उपचारमा ध्यान दिने बताए ।

जर्मनीका मुख्य प्रशिक्षक योकिम लोले मनुएल नोए नम्बर वान गोलकिपर भएपनि टेर स्टेगन पनि विश्वस्तरीय गोलकिपर रहेको बताएका छन् । उनले स्टेगको स्वास्थ्यलाभको कामना गरेका छन् ।

यस्तै जर्मनीका गोलकिपर प्रशिक्षक आन्द्रेज कोप्केले टेर स्टेगनले युरोकप खेल्नका लागि सबै प्रयास गरेको तर दुर्भाग्यवश यो सम्भव नभएको बताए । उनले स्वास्थ्य पहिलो प्राथमिकता भएको भन्दै स्टेगन चाँडै ठीक भएर मैदानमा फर्किने विश्वास व्यक्त गरेका छन् ।

जर्मन फुटबल एशोसिएसनका अनुसार टेर स्टेगेनको शल्यक्रिया स्वीडेनको माल्मोमा २० मे मा हुनेछ । यसअघि सन् २०१८ को अगष्टमा उनको दायाँ खुट्टाको पाटेलर टेन्डनको शल्यक्रिया गरिएको थियो । जसका कारण त्यो सिजन उनले नोभेम्बरमा एक खेल मात्र खेले ।

सन् २०१२ मा जर्मनीको राष्ट्रिय टिममा डेब्यु गरेका टेर स्टेगनले २५ खेल खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment