Comments Add Comment

कार्यालयमा धेरै समय काम गर्नेलाई मुटु रोगको जोखिम : अध्ययन

४ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को एक अध्ययनले कार्यालयमा लामो समय काम गर्नाले वर्षेनी करिब साढे सात लाख मानिसको मृत्यु हुने देखाएको छ ।

पहिलोपटक विश्वव्यापी रुपमा गरिएको उक्त अध्ययनका अनुसार सन् २०१६ मा लामो समयसम्म कार्यालयको काम गरेको कारण हृदयघात तथा मुटुको रोगको कारण ७ लाख ४५ हजार मानिसको मृत्यु भएको थियो । रिपोर्टका अनुसार दक्षिण–पूर्वी एसिया र पश्चिमी प्यासिफिक क्षेत्र यो समस्याबाट सबैभन्दा धेरै प्रभावित छ ।

डब्ल्यूएचओले अहिलेको महामारीको समयमा कारण अवस्था अझै खराब हुन सक्ने बताएको छ । अध्ययनको क्रममा प्रत्येक साता ३५ देखि ४० घण्टा काम गर्ने मानिसको तुलनामा सातामा ५५ घण्टाभन्दा धेरै काम गर्ने मानिसमा हृदयघातको जोखिम ३५ प्रतिशत बढी हुन्छ । त्यस्तै उनीहरुमा मुटुको रोगको जोखिम पनि १७ प्रतिशत बढी हुने अध्ययनले देखाएको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)सँगको सहकार्यमा गरिएको यो अध्ययनमा मृत्यु हुनेमध्ये करिब ७५ प्रतिशत मानिस मध्यम आयु वा धेरै उमेर भइसकेका मानिसहरु थिए । यस किसिमको मृत्यु कार्यालयमा लामो समय गर्ने गरेको धेरै समयपछि वा एक दशकपछि पनि भएको पाइएको छ ।

डब्ल्यूएचओको यो अध्ययनमा विश्वमा कोरोना महामारी सुरु भएपछिको तथ्यांक समावेश छैन । यद्यपि डब्ल्यूएचओका अनुसार घरबाट काम गर्ने व्यवस्था र आर्थिक मन्दीको कारण पनि मानिसहरु लामो समयसम्म काम गरिरहेका छन् ।

डब्ल्यूएचओका प्राविधिक अधिकारी फ्र्यांक पेगाका अनुसार प्राप्त प्रमाणले देशव्यापी लकडाउन हुँदा उक्त मुलुकमा काम गर्ने समयमा १० प्रतिशतको वृद्धि हुने गरेको देखाएको छ ।

शोधकर्ताहरुका अनुसार लामो समयसम्म कार्यालयमा काम गर्दा मुख्यतया दुई समस्या आउँछ – सोझै मानिसको दिमागमा तनाव उत्पन्न हुनु र लामो समय कार्यालयमा बस्दा चुरोट, मदिराजस्ता नशाको लत लाग्नु, निद्रा नपुग्नु, व्यायाम नहुनु र खाना राम्रोसँग नखानेजस्ता समस्या हुन्छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment