Comments Add Comment
कोरोनाको मार :

अक्सिजनको साहारामा रहेका दीर्घरोगीलाई झन मुस्किल

तस्वीर : अक्सिजन सोसाइटीको फेसबुक पेजबाट ।

५ जेठ, काठमाडौं । काठमाडौं बुढानीलकण्ठकी ५५ वर्षीया कमला अर्याललाई अक्सिजनविना सास फेर्नै मुस्किल हुन्छ । विगत १४ वर्षदेखि उनी अक्सिजनकै सहारामा सास फेरिरहेकी छिन् । उनलाई ‘चेस्ट फाइब्रोसिस’को समस्या छ । जुन रोगले फोक्सोमा पानीको फोका बनाउँछ र फोक्सोलाई काम गर्न बाधा पुर्‍याउँछ ।

निषेधाज्ञा हुनुभन्दा केही दिनअघि मात्रै उनलाई १५ दिन आईसीयूमा राखेर डिस्चार्ज गरिएको थियो । कमलालाई समय–समयमा आईसीयू अथवा भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ । फोक्सोले अक्सिजनको साहारामा पनि नियमित काम गर्न सक्दैन । जसका कारण शरीरमा कार्बनडाइअक्साइडको मात्रा बढिदिन्छ र अक्सिजनको मात्रा कम हुन्छ ।

उनको शरीरको कार्बनडाइअक्साइड फाल्ने र हाई फ्लो अक्सिजनबाट शरीरमा अक्सिजनको मात्रा बढाइरहनुपर्ने हुन्छ ।

घरमा नियमित प्रयोगका लागि दुई ठूला र दुई साना अक्सिजन सिलिन्डर राखिएको छ । आजभोलि उनलाई बाइप्याप मेसिन (जसलाई मिनी भेन्टिलेटर पनि भनिन्छ) बाट अक्सिजन दिन थालिएको छ ।

केही दिनअघि अक्सिजनको चरम अभाव हुन थालेपछि अक्सिजन कन्सन्ट्रेटर किनेर प्रयोग गर्न थालिएको कमलाका छोरा अनन्त अर्यालले बताए । ‘आमालाई राति १२ घन्टा प्रतिघन्टा ७ लिटर अक्सिजन दिनुपर्छ । दिउँसो तीन लिटर दिनुपर्ने हुन्छ’, अनन्तले भने, ‘ठूलो अक्सिजन सिलिन्डरले अढाइ दिन र सानोले डेढ दिन पुग्छ ।’

कमलाजस्तै अक्सिजनकै साहारामा सास फेरिरहेकाहरूलाई केही दिनयता अक्सिजन जुटाउन ठूलो युद्ध जितेझैं हुन थालेको छ ।

त्रिपुरेश्वरको डिपोबाट अक्सिजन लिइरहेका कमलाका परिवारले अचेल बालाजुस्थित उद्योगमै लाइन बस्न पुग्नुपरेको छ । त्यहाँ लामो लाइन बसेर अक्सिजन ल्याउने गरेको अनन्तले बताए । उनले भने, ‘अहिले कोभिडको कारण अक्सिजन पाउनै छोडेको छ ।’

गोरखाका ७३ वर्षीय डोलप्रसाद दाहाललाई डाक्टरले दैनिक १६ घन्टा अक्सिजन लगाउन भनेको छ । तर दैनिक ११ घन्टा अक्सिजन लिँदा पनि सहज भइरहेकाले उनी ११ घन्टा मात्रै अक्सिजन लिँदै आइरहेका थिए ।

दम र मुटुको समस्याका कारण उनलाई दुई वर्ष अघिदेखि नियमित अक्सिजन दिइँदै आएको उनका छोरा पत्रकार केदार दाहालले जानकारी दिए । कोभिडका कारण अक्सिजन पाउन छोडेपछि पत्रकार दाहालले बुबाका लागि अक्सिजन कन्सन्ट्रेटर किनेको बताए ।

तर गोरखामा बिजुली गइरहने हुँदा अक्सिजन कन्सन्ट्रेटर प्रयोग गर्न नपाएको उनले बताए । उनले भने, ‘मिडियम अक्सिजन सिलिन्डर एउटा थियो । त्यो सक्कियो, भर्न सकिएको छैन । कन्सन्ट्रेटर त किनेको छु, बिजुली नभएपछि त्यसले पनि काम गर्दैन । अरु उपाय छैन । त्यत्तिकै बसिरहनुभएको छ ।’

१४ वर्षदेखि ५५ वर्षीया कमला अर्याल अक्सिजनकै साहारामा सास फेरिरहेकी छिन् । अचेल अक्सिजन जुटाउन उनको परिवारलाई ठूलै युद्ध जितेझैं हुन थालेको छ ।

कमला अर्याल र डोलप्रसाद दाहाल जस्ता अक्सिजनको साहारामा सास पर्नेको संख्या नेपालमा धेरै छ । अहिले कोरोना संक्रमितहरूको शरीरमा पनि अक्सिजनको मात्रा कम हुन थालेपछि अक्सिजनको हाहाकार मच्चिएको छ । यसले गर्दा कमला र डोल प्रसादजस्ता धेरैले नियमित अक्सिजन पाउन सकिरहेका छैनन् ।

केही वर्ष अघि कमलाले अक्सिजनको साहारामा बाँचिरहेकाहरूलाई सरकारले निःशुल्क अक्सिजन दिनुपर्ने माग राख्दै विभिन्न निकाय तथा तत्कालीन स्वास्थ्य मन्त्री गगन थापालाई मागपत्र बुझाएकी थिइन् ।

सबै जिल्लामा बस्ने बिरामीलाई सहज होस् भनेर हरेक जिल्लामा अक्सिजन प्लान्ट सरकारले स्थापना गर्नुपर्नेमा उनले जोड दिँदै आएकी थिइन् । आमाको स्वास्थ्य अवस्थाका कारण त्यो आवाज उठाउन समेत नसकेको उनका छोरा अनन्तले बताए ।

उनले भने, ‘आमाको माग थियो अक्सिजनकै सहारामा सास पर्ने सबैलाई अक्सिजन निःशुल्क उपलब्ध हुनुपर्छ । प्राणवायु अक्सिजन जीवनको आधार हो भन्नुहुन्छ । सरकारले सुन्दैन । अहिले त झन् उहाँ आफैं सक्नुहुन्न ।’

स्वास्थ्य मन्त्रालयसँग नेपालमा नियमित अक्सिजन लिनुपर्ने कुल बिरामीहरुको तथ्यांक छैन । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले भने, ‘त्यस्तो बिरामीको रेकर्ड हामीसँग छैन ।’

त्यस्ता बिरामीले अक्सिजन पाउनै छोडेको गुनासो अनलाइनखबरसँग गरे पनि प्रवक्ता गौतमले भने यस्ता बिरामीहरूका लागि अक्सिजन अभाव नभएको ठोकुवा गरे । प्रवक्ता गौतमले भने, ‘त्यस्ता बिरामीहरूका लागि अक्सिजन नियमित छ । बिकट ठाउँका बिरामीलाई समस्या होला । त्यसको लागि त बिरामी आफैंले ठाउँ, परिस्थिति अनुसार कन्सन्ट्रेटर लगायतका विकल्प खोज्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
नुनुता राई

ट्रेन्डिङ

Advertisment