+
+

संकटमा पर्यटन : १७ प्रतिशत व्यवसाय ‘सधैंका लागि बन्द’

अच्युत पुरी अच्युत पुरी
२०७८ जेठ ६ गते १२:३४

४ वैशाख, काठमाडौं । डेढ वर्षयता अन्तर्राष्ट्रिय पर्यटन आगमन खस्किएको छ । कोरोना महामारीको पहिलो लहरपछि आन्तरिक पर्यटकको बलमा केही तंग्रिने कोसिसमा रहेको यो क्षेत्र दोस्रो लहरपछि पुनः प्रभावित भएको छ ।

कोरोना महामारीका कारण पर्यटन उद्योग यति नराम्रोसँग प्रभावित भयो कि कतिपय उद्यमीले अब यो क्षेत्रमा सम्भावना देख्न छाडेका छन् । एक सर्वेक्षण अनुसार कोरोना महामारीका कारण पर्यटनसँग सम्बन्धित १७ प्रतिशत व्यापार-व्यवसाय सधैंका लागि बन्द भएका छन् ।

काठमाडौं लिभिङ ल्याब्सले पर्यटन क्षेत्रसँग सम्बन्धित संघसंस्थाको समन्वय र विज्ञहरुको सहभागितामा गरेको स्थलगत सर्वेक्षणबाट यस्तो नतिजा आएको हो । नेपाल पर्यटन बोर्डका निवर्तमान सिइओ दीपकराज जोशीले यो सर्वेक्षणको अगुवाई गरेका थिए ।

सर्वेक्षण अनुसार पर्यटन उद्योगका १७ प्रतिशत व्यवसाय अब सधैँका लागि यो क्षेत्र छाड्ने मुडमा पुगेका छन् । पूर्वसीईओ जोशीका अनुसार सर्वेक्षण होटेल संघ नेपाल (हान) र ठमेल पर्यटन क्षेत्र विकास परिषद्को सहयोगमा गरिएको हो ।

सर्वेक्षण अनुसार सबैभन्दा बढी व्यवसायी ठमेल क्षेत्रबाटै पलायन हुनेछन् । ‘हवाई, ठूला होटल र पर्यटनका ठूला लगानीका क्षेत्र अझै पनि पर्ख र हेरको अवस्था मै छन्,’ जोशीले भने, ‘तर, साना व्यवसायी भने अब पलायन हुने अवस्थामा पुगिसकेका छन् ।’

सर्वेक्षण अनुसार यसरी बन्द गर्ने अवस्थामा पुग्नेमा साना होटल, रेष्टुरेन्ट, स्पा सेन्टर र सोभेनियर सपहरु छन् ।

६ प्रतिशत टिकिरहे, ६६ प्रतिशत पुनः सञ्चालनमा

महमारीको बीचमा समेत करिब ६ प्रतिशत व्यवसाय भने जारी नै रहे । यसमा केही होटलहरुले आफ्नो नियमित व्यवसायलाई परिमार्जित गरि होटललाई क्वारेन्टिनमा परिणत गरेका थिए ।

पर्यटनका ट्राभल तथा टुर एजेन्ट तथा एजेन्सीहरु भने अहिले पनि पर्ख र हेरको अवस्थामा छन् । अघिल्लो लहरपछि आन्तरिक तथा बाहृय हवाई सेवा भने पुनः पुरानै अवस्थामा फर्कने गतिमा थियो ।

यसबीचमा होटल उद्योगले भने अझै केही समय कुर्नुपर्ने देखिएको जोशी बताउँछन् । काठमाडौंसहित मुलुकका ठूलो लगानीका होटललाई या विदेशी पर्यटक आउनुपर्छ । वा काठमाडौंमा विना अवरोध ‘इभेन्ट’हरु हुनुपर्छ । यी दुवै नहुँदा व्यवसाय संकटमा पुगेको हो ।

६५ प्रतिशत मजदूर बेरोजगार

सर्वेक्षणले पर्यटन उद्योगमा सक्रिय रहेका मध्ये ६५ प्रतिशतले यो महामारीमा जागिर र काम गुमाएको देखिएको छ । यसमा ठूलो हिस्सा पदयात्रामा जाने गाइड तथा भरियाहरु छन् । यसबाहेक होटलमा काम गर्ने कामदारले समेत काम गुमाएका छन् ।

‘पदयात्रा र पर्वतोरहण प्रभावित हुनासाथ मजदुर बेरोजगार हुन्छन्’ उनले भने, ‘किनकि यो काममा सिजनेवल आम्दानी हुन्छ ।’ स्थायी रुपमा काम गरिरहेका एयरलाइन्स तथा होटलका कर्मचारीको आम्दानी घटेको भएपनि जागिरबाटै बिदा हुनुपर्ने अवस्था भने कम रहेको छ ।

तर, ज्यालादारीमा काम गर्ने धेरै मजदुरको रोजिरोटी गुमेको सर्वेक्षणको निष्कर्ष रहेको छ । महामारीको समयमा केही कम्पनीले बेतलवी बिदा दिएका छन् । कतिपयले स्थायी कर्मचारी कटाैतीको नीति लिएका थिए ।

अस्थायी जागिर गरिरहेकालाई काममा नबोलाउनेदेखि कार्यअवधि घटाएर समेत काममा लगाइएको पाइएको छ । कतिपय कम्पनीले कर्मचारीको सेवा सुविधा कटौती गरेका छन् । केही प्रतिष्ठानहरुमा भने आलोपालो प्रणालीमा कर्मचारीलाई कामको अवसर दिएको पाइएको छ ।

८० प्रतिशत प्रतिष्ठानको संचालन खर्च पनि उठेन

सर्वेक्षणको नतिजा अनुसार पर्यटन उद्योगसँग सम्बन्धित ८० प्रतिशत प्रतिष्ठानले संचालन खर्च समेत उठाउन सकेनन् । यो समस्या भने सबैजसो क्षेत्रले भोगेका छन् ।

महामारीपछि केही उद्योग-प्रतिष्ठानले थप लगानीको योजना रोकेका छन् । भ्रमण वर्ष २०२० लाई लक्षित गरी भएको लगानी समेत यो बीचमा प्रभावित भएको सर्वेक्षणमा देखिएको छ ।

सञ्चालनमा रहेका कम्पनीले यसबीचमा संचालन खर्च उठाउन मात्र चुनौती भोग्नु परेन, पुरानो ऋण चुत्ता गर्न, थप कष्टमर प्राप्त गरी व्यवसायलाई पुरानै अवस्थामा फर्काउन र कर भुक्तानीमा समेत चुनौती भोग्नु परेको बताएका छन् । थप ऋण प्राप्ति र कर्मचारीसँग सम्बन्धित विषय सल्टाउन समेत व्यवसायीले चुनौती भोग्नु परेको हो ।

उद्योग कसरी बचाउने ?

विज्ञहरुले यो संकटबाट व्यवसायलाई बचाइ राख्न राज्यले मौद्रिक तथा वित्तीय सहायताको टेको दिनुपर्ने सुझाव दिएका छन् । मजदुर र श्रमिकको पलायन रोक्ने नीतिको आवश्यकता समेत औंल्याइएको छ ।

संकटमा व्यवसाय नभएको अवस्थामा तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रममा बढावा दिन सकिने सुझाव समेत दिएका छन् । समयानुकूल पर्यटन क्षेत्रले समेत परिवर्तन स्वीकार गर्दै नयाँ नयाँ आयामको खोजी गर्नुपर्ने सुझाव विज्ञहरुको रहेको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?