Comments Add Comment

महामारीका बेला राजनीतिक गञ्जागोल

८जेठ, काठमाडौं । महामारीबाट नागरिकले भटाभट ज्यान गुमाइरहेको बेला राष्ट्रपतिले नयाँ चुनावको मिति तोक्नु आत्मघाती भएको जनस्वास्थ्यविद्हरूले बताएका छन् ।

शुक्रबार राति संसद् भंग गरेर राष्ट्रपति विद्या भण्डारीले कात्तिक २६ र मंसिर ३ का लागि तोकेको चुनावको मितिप्रति टिप्पणी गर्दै जनस्वास्थ्यविद्हरूले त्यसले ठूलो क्षति हुनसक्ने चेतावनी दिएका हुन् ।

‘सबैको ध्यान र गतिविधि महामारी नियन्त्रणमा भन्दा राजनीतिमा केन्द्रित हुन्छ । जसको कारण संक्रमण झन् विस्तार भई ठूलो क्षति हुन सक्छ, त्यस्तो अवस्थामा चुनावको कल्पना गर्न पनि सकिन्न’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनी भन्छन् ।

कोरोना संक्रमणको कारण पछिल्लो सात दिनमा मात्रै १ हजार ३५५ जनाको मृत्यु भएको छ । अबको दुई साता यो मृत्युदर नघट्ने जनस्वास्थ्यविद्हरू बताउँछन् । त्यसैगरी नयाँ भेरियन्ट फैलिएकाले तेस्रो लहर शुरू हुने जनस्वास्थ्यविद्हरूको चेतावनी छ ।

‘महामारीले तहसनहस पारेको समयमा राजनीतिक गञ्जागोल हाम्रो समयको सबैभन्दा कुरुप दृश्य हो’ जनस्वास्थ्यविद् डा. शरद वन्तको टिप्पणी छ ।

यसअघिको संसद विघटनपछि भएका सडक गतिविधिको कारण संक्रमण विस्तार ज्यादा भयो र राजनीतिक माहोलको कारण महामारी नियन्त्रण र स्वास्थ्य पूर्वाधार विकासको काम अलमलमा पर्‍यो । दोस्रो लहर फैलिइरहँदा पनि त्यसलाई गम्भीरतापूर्वक लिइएन । त्यसको परिणाम अहिले दैनिक २०० भन्दा ज्यादा संक्रमितको मृत्यु भइरहेको जनस्वास्थ्यविद्हरू बताउँछन् ।

‘अहिले जति क्षति भोगिरहेका छौं त्यो पछिल्लो तीन महीना सरकार र राजनीतिक दल असंवेदनशील बन्दाको परिणाम हो, महामारीको बेला फेरि पनि यही किसिमको राजनीतिक व्यवहार र गतिविधि भइरह्यो भने नरसंहार हुने निश्चित जस्तै छ’ चिकित्सा समाजशास्त्री आमोद प्याकुरेल बताउँछन् ।

महामारी नियन्त्रण कसैको मुद्दा बनेन
डा. बाबुराम मरासिनी

यो अवस्थामा देशको सम्पूर्ण शक्ति महामारी नियन्त्रणमा लाग्नुपर्ने थियो तर त्यो भएन । महामारीको बेला राजनीतिक घटनाक्रम यस्तो हुनुमा कुनै एउटा व्यक्ति या दलको गल्ती भन्दा पनि सम्पूर्ण राजनीतिक दलको गल्ती देख्छु म । किनकि, विगत लामो समय देश महामारीमा गुज्रिरहँदा कसैले पनि महामारी नियन्त्रणलाई मुद्दा बनाएनन् ।

सरकार ढाल्ने र बनाउने खेलमा लागेकाले यो परिणाम आउनुको सबै जना उत्तिकै दोषी छन् । यो हदसम्मको विषाक्त मानसिकताबाट ग्रसित शासक÷राजनीतिक दल संसारको कुनै देशमा हुन्न होला । जनताको लागि राजनीति गरेको भन्नेहरू जनताप्रति किन असंवेदनशील भए भन्ने विषयमा अनुसन्धान नै गर्नुपर्ने देख्छु म ।

यस्तो महामारीको बेला जुन किसिमको राजनीतिक गतिविधि भए र अझै भइरहेको छ त्यो राजनीतिक दलबाट जनतालाई भएको घात हो । यो हदसम्मको असंवेदनशील शासकको कल्पना जनताले गरेका थिएनन् शायद ।

संसद विघटन फेरि भयो र, अब चुनावमा जाने भनिएको छ त्यो जनस्वास्थ्यको हिसाबले अत्यन्तै कठिन काम हो । किनकि महामारी त्यतिकै नियन्त्रण हुँदैन, रणनीति चाहिन्छ । काम गर्नुपर्छ । जुन सरकारले पटक्कै गरेको देखिन्न । अस्पतालमा उपचार गरेर मात्र महामारी नियन्त्रण हुन्छ भन्ने सोच हो भने त्यो सबैभन्दा ठूलो भूल हो । धारो नै बन्द नगरिकन भुईं पुछेर मात्रै सफा हुँदैन । हामीले अहिले संक्रमणको मुहान बन्द गर्ने काम गर्नुपर्छ । समुदायस्तरमा व्यापक टेस्ट र जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गर्नु आवश्यक छ ।

सरकारसँग अझै पनि कोरोना महामारी नियन्त्रण गर्ने रणनीतिक योजना छैन । त्यो हिसाबले महामारी जिरोमा आउने सम्भावना म देख्दिनँ । त्यसैले चुनावको सम्भावना पनि असम्भव जस्तै छ । महामारी नियन्त्रण नभई चुनाव गराउँदा झन् ठूलो क्षति हुनसक्छ । राजनीतिले महामारीलाई छायाँमा पार्नुको मूल्य जनताले अहिले चुकाइरहेका छन् । फेरि चुनाव र त्योसँग सम्बन्धित गतिविधि भयो भने झन् ठूलो क्षति हुन्छ ।

निर्वाचनको परिकल्पना गर्नु नै मूर्खता
डा. शरद वन्त

कर्मचारीतन्त्रले मात्र नसक्ने भएकाले सम्पूर्ण राजनीतिक शक्ति महामारीविरुद्ध लड्न लाग्नुपर्छ । अहिले हामी महामारीको जुन चरणबाट गुज्रिरहेका छौं, यसले राजनीतिक प्रतिबद्धता व्यवस्थापकीय चुस्तताको माग गर्छ । तर यस्तो बेला राजनीतिक गञ्जागोल हुनु दुःखको कुरा हो ।

यसले अवश्य पनि स्वास्थ्यप्रणालीलाई मजबूत बनाउँदैन । बरु हामीसँग भइरहेको स्रोत, साधन परिचालनमा पनि समस्या निम्त्याउँछ । अर्थात् गलत समयमा चालिएको राजनीतिक कदमले महामारी विरुद्ध लडिरहेका फ्रन्टलाइनरलाई निराश तुल्याउँछ । किनकि महामारी विरुद्ध लड्न स्वास्थ्यकर्मीको प्रतिबद्धता र लगनशीलताले मात्र पुग्दैन । राजनीतिक दल र सरकारको साथ, सहयोग र प्रतिबद्धता चाहिन्छ ।

जनसंख्याको अनुपातमा मूल्यांकन गर्ने हो भने विश्वमै खराब अवस्था भएका मुलुकको सूचीमा हाम्रो देश पनि पर्छ । अझै पनि संक्रमण विस्तार भइरहेकाले मृत्युदर झन् बढ्ने देखिन्छ । यो निर्वाचनको कुरा त धेरै पछाडि छ । राजनीतिक पाटोबाट निर्वाचन होला या नहोला म टिप्पणी गर्दिनँ । तर यस्तो समयमा निर्वाचनको परिकल्पना गर्नु जनस्वास्थ्यको पाटोबाट दुःखद् हो ।

यो बेला जबर्जस्ती निर्वाचन लाद्न खोजियो भने त्यो झन् ठूलो पीडाको कारण बन्न सक्छ । महामारीबाट गुज्रिरहेका अरू देशको अनुभवबाट पनि हामीले सिक्नुपर्छ । यस्तो बेला निर्वाचनको परिकल्पना गर्नु नै मूर्खता सावित हुन्छ ।

यतिबेला अरू देशहरू सम्भावित तेस्रो लहर विरुद्ध लड्न तयारी गरिसके । तर हामी दोस्रो लहरसँग जुध्न सकिरहेका छैनौं । दोस्रो लहरको क्षति अझै लामो समयसम्म जाने देखिइसकेको छ । संक्रमण गाउँ–गाउँ पुगेकाले फेरि मृत्युदर बढ्ने सम्भावना बढेको छ । तर यस्तो बेला राज्यको ध्यान महामारी नियन्त्रणमा हुनुपर्नेमा अन्य गतिविधिमा हुनु नै विडम्बना हो ।

अर्थात् हामी बारम्बार गल्ती दोहोर्‍याइरहेका छौं । पहिलो लहरमा गरेको गल्तीले दोस्रो लहरमा मानिस मरिरहेका छन् । र, अहिले गरेको गल्तीले फेरि तेस्रो लहरमा धेरै क्षति हुने देखिन्छ । राज्यले पटक–पटक यसरी नै नागरिक विरुद्ध अपराध गरिरहेको छ । महामारी विरुद्ध लड्ने पर्याप्त समय हुँदाहुँदै नागरिकहरू बेड नपाएर मर्ने अवस्था अपराध नै हो ।

यो बेला राज्यले सारा शक्ति लगाएर खोप अभियान सफल पार्नतिर लाग्नुपर्ने हो । तर हाम्रोमा त शुरू भएको अभियान समेत रोकिएको छ । खोप कहिले आउने हो भन्ने टुंगो छैन । राज्यले कूटनीतिक सम्बन्ध उपभोग र आर्थिक रूपले लगानी गर्ने हो भने खोप पाउन अहिले धेरै गाह्रो छैन । खोप नै महामारीको अन्तिम अस्त्र त हैन तर त्यसले ठूलो क्षति रोक्न सक्छ ।

यतिबेला हाम्रो देशको खराब अवस्था देखेर बाह्य देशले केही सहयोग गरेका छन् । तर बिगँ्रदो राजनीतिक माहोलका कारण त्यसको परिचालन सही ढंगबाट नहुने निश्चित छ । यो बेला महामारी नियन्त्रणमा गरिएका गतिविधि प्रभावकारी हुन्नन् । किनकि एउटा ठूलो समूहको ध्यान महामारी नियन्त्रणमा भन्दा ज्यादा राजनीतिमा छ । खोप लगाएर जनता बचाउनुपर्ने बेलामा केको लागि निर्वाचन ? ज्यान ठूलो कि जनता ? महामारीले तहसनहस पारेको समयमा राजनीतिक गञ्जागोल हाम्रो समयको सबैभन्दा कुरुप दृश्य हो ।

मृत्युको दोष महामारीलाई मात्र दिन मिल्दैन
आमोद प्याकुरेल

महामारीको समयमा राजनीतिक दलहरूले गरेको यो असंवेदनशीलताको पराकाष्ठा हो । विगतमा शासकबाट नै महामारीमा राजनीति, धर्म र अन्धविश्वासको ‘ककटेल मनोविज्ञान’ घोलिएकाले धेरै मानिसले ज्यान गुमाए । सरकारको गैरजिम्मेवार अभिव्यक्ति र व्यवहारको कारण जनताको मनोविज्ञान समेत बिथोलियो ।

सरकारले नै महामारी जितेको मूर्खतापूर्वक विजय भाषण गरेर त्यही अनुरूप व्यवहार गरेकाले मानिसहरूले कोरोना महामारी केही होइन भन्ने बुझे । अहिले संक्रमणको कारणबाट भइरहेको मृत्युको दोष महामारीलाई मात्र दिन मिल्दैन, यो राज्यबाट गरिएको हत्या हो, यसरी जनता मर्दा राजनीतिमै लिप्त शासक कल्पना गर्न सकिने विषय नै होइन ।

फेरि संसद विघटन गरेर चुनाव गर्ने भनिएको छ । यो हदसम्मको असंवेदनशील कदम र निर्णयको विषयमा भन्ने कुनै शब्द देखिन्न । महामारीको बेला यही किसिमको राजनीतिक व्यवहार र गतिविधि भइरह्यो भने नरसंहार हुने निश्चित जस्तै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सागर बुढाथोकी

ट्रेन्डिङ

Advertisment