
१० जेठ, पोखरा । गण्डकी प्रदेश सरकार मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालमा आईसीयू सेवा सुरु भएको छ ।
५० बेडको संक्रामक रोग अस्पतालमा सोमबार भेन्टिलेटरसहित ७ बेडको सघन उपचार कक्ष (आईसीयू)को मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरे ।
समुदायस्तरबाट सञ्चालित लेखनाथस्थित लायन्स सामुदायिक अस्पताललाई गण्डकी प्रदेशले गत वर्ष साउन १ गते आफू मातहत ल्याएर कोरोना विशेष अस्पताल बनाएको थियो ।
अस्पतालमा २ महिनाअघि नै सामान आएर पनि चलाउन नसक्दा थन्किएको थियो । ‘अस्पतालका लागि २ महिनाअघि नै सामान आए पनि जनशक्तिको अभावमा चलाउन नसकेर थन्किएको थियो,’ संक्रामक रोग अस्पतालका कार्यकारी निर्देशक डा. गौचनले भने, ‘स्टाफ नर्स थपियो, अन्य विषेशज्ञ पनि थपिँदै छन् । भइरहेका चिकित्सकले पनि हेर्ने गरी ७ बेड सोमबारदेखि चलाउन सुरु गरेका छौं ।’
पछिल्लो समय १६ जना स्टाफ नर्स र केही सहयोगी भर्ना गरेपछि सेवा सुरु गरिएको उनको भनाइ छ । अझै पनि विशेषज्ञ चिकित्सकको अभाव रहेको उनको भनाइ छ ।अहिले अस्पतालमा ५ विशेषज्ञ, ५ मेडिकल अधिकृतसहित ६० जनाको स्वास्थ्यकर्मीको टोली रहेको गौचनले जानकारी दिए ।
अझै कम्तीमा ५ जना विशेषज्ञ डाक्टर आवश्यक पर्ने उनको भनाइ छ । ऐनेस्थेसिया, फिजिसियन, वायोमेडिकल टेक्निसियनको आवश्यक रहेको गौचनले बताए ।
अहिले अस्पतालले ५२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । अस्पतालमा १५ जना गम्भीर अवस्थाका बिरामी रहेको डा. गौचनले बताए ।
भवन शिलान्यास
अस्पतालमा सोमबार एक भवनको पनि मुख्यमन्त्री गुरुङले शिलान्यास गरे । यो भवन बनेपछि अस्पतालमा बेड संख्या १२० पुग्ने र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पनि सञ्चालन हुनेछ ।
५३ करोड रुपैयाँ लागत रहेको सो भवन १८ महिनाभित्र सक्ने लक्ष्य छ । भवन तयार भएपछि संक्रामक रोगको परीक्षण र उपचार सहज हुने कार्यकारी निर्देशक डा. गौचनले जानकारी दिए ।
‘संघीय सरकारको २६ करोड र बाँकी प्रदेश सरकारले हालेर ५३ करोड रुपैयाँमा नयाँ भवन बन्न लागेको हो,’ डा. गौचनले भने, ‘३ वर्षभित्र सबै सक्ने योजना छ ।’ नयाँ भवनमा २ हप्ताअघि टेन्डर आह्वान भएको छ । नयाँ भवन बनेसँगै क्याबिन, जनरल, आईसीयूसहितका सेवा सुरु हुने अस्पतालले जनाएको छ ।
जनस्वास्थ्यमा अब्बल बन्न चाहन्छौं : मुख्यमन्त्री
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको संक्रामक रोग अस्पाललाई देशकै राम्रो बनाउने बताए । भवन शिलान्यासपछि मुख्यमन्त्री गुरुङले भने, ‘गण्डकी प्रदेश स्वास्थ्य क्षेत्रमा अब्बल हुन चाहन्छ । नेपालकै राम्रो सरुवा रोग अस्पताल बनाउने अभियान हो, यो ।’
कोरोना संक्रमितको उपचारमा प्रदेशमा पर्याप्त र दक्ष जनशक्ति नभएको देखिएको उनले टिप्पणी गरे ।
‘हामी अब्बल भनेका छौं तर ५ सय मान्छे मरिसके । राम्रो गरेको छ भनेर अरु प्रदेशबाट यहाँ मान्छे आउँछन्, यहीँ मान्छे मर्नेको संख्या धेरै भयो,’ मुख्यमन्त्री गुरुङले भने, ‘क्रिटिकल केस धेरै आए । यसबाट सिकेको पाठ के हो भने क्रिटिकल उपचार गर्ने मेनपावर नै रहेनछ हामीसँग ।’
प्रतिक्रिया 4