Comments Add Comment

प्रदेश १ मा प्रतिपक्षको एकै स्वर : तत्काल बजेट अधिवेशन बोलाऊ 

१२ जेठ, विराटनगर । प्रदेश १ सरकारले संसद छलेर बजेट ल्याउन खोजेको प्रतिपक्षी दलहरुले आरोप लगाएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै प्रदेश १ का प्रतिपक्षी दलहरुले प्रदेशसभा छल्दै आएको सरकारले संसद छलेर अध्यादेशबाट बजेट ल्याउन खोजेको आरोप लगाएका हुन् ।

केन्द्रमा जेठ १५ र प्रदेशमा असार १ गते बजेट ल्याउनुपर्ने बाध्यात्मक व्यवस्था छ । प्रतिनिधिसभा भङ्ग गरेका कारण केन्द्र सरकारले अध्यादेशबाट बजेट ल्याउँदैछ । एमालेकै नेतृत्वमा रहेको प्रदेश सरकारले प्रदेशसभा छलेर बजेट ल्याउन खोजेको बताउँदै चार प्रतिपक्षी दलहरुले तत्काल बजेट अधिवेशन बोलाउन माग गरेका छन् ।

‘प्रदेशसभा नियमावलीमा बजेट प्रस्तुत हुनुभन्दा १५ दिन अघि पूर्व बजेट छलफल गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ । तर प्रदेश सरकारले आजसम्म संसद् आह्वान गरेको छैन,’ नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने, ‘यो सरकारले संसद छलेर बजेट ल्याउन खोज्दैछ भन्ने हाम्रो आशंका छ ।’

प्रदेशसभा हुँदाहुँदै सरकारले अध्यादेशबाट बजेट ल्याउने प्रयत्न गरे प्रतिवाद गर्ने उनले बताए । ‘समय हुँदै सरकारलाई संसद नछल्न आग्रह गरेका छौं,’ आङ्बोले भने, ‘पूर्व छलफल नगरी बनाएको बजेट संसदले अपनत्व ग्रहण गर्दैन, अध्यादेशबाट ल्याउन खोजे विरोध गर्छों ।’

महामारीमा प्रभावकारी काम गर्न नसकेको सरकारले प्रदेशसभा छल्न खोजेको नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले बताए । ‘गत पुसमा पनि संसद छलेकै हो,’ उनले भने, ‘बजेट अधिवेशनमा छल्ने प्रयत्न गर्दैछ ।’

महामारीमा आफ्नो उपस्थिति देखाउन नसकेको प्रदेश सरकारले संसदसँग भागिरहेको कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले बताए । संसद हुँदाहुँदै अध्यादेशबाट बजेट ल्याउने प्रयत्न गरे विपक्षी दलहरुले संयुक्त रुपमा प्रतिवाद गर्ने उनले बताए ।

उपचार निःशुल्क बनाऊ’

प्रमुख प्रतिपक्षी दलहरुले कोरोना संक्रमितको उपचार निःशुल्क बनाउन आग्रह गरेका छन् । निजी अस्पतालहरुले संक्रमितसँग चर्काे शुल्क असुल गरेको भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मोर्चाले महामारीमा सरकारको अनुभूति हुनेगरी काम गर्न माग गरे ।

बन्दाबन्दी मात्रै कोरोना नियन्त्रणको विकल्प नभएको बताउँदै उनीहरुले खोपको आवश्यक प्रबन्ध गरेर रोजगार गुमेका अति प्रभावितहरुलाई राहत प्याकेज ल्याउन माग गरेका छन् ।

सदनबाटै बजेट : मन्त्री कार्की 

विपक्षी दलहरुले प्रदेश सरकारले प्रदेशसभा छलेर बजेट ल्याउन खोजेको आशंका गरिरहेको अवस्थामा सरकारका प्रवक्ता भने प्रदेशसभाबाटै बजेट ल्याउने बताउँछन् । प्रदेश १ सरकारको प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की असार १ गते प्रदेशसभाबाटै बजेट प्रस्तुत गर्नेगरी सरकारले अधिवेशन बोलाउने बताए ।

बजेट अधिवेशन बोलाउनका लागि सांसदहरुलाई खोप लगाइएको बताउँदै उनले भने, ‘जेठ १५ अघि अधिवेशन आह्वान हुँदैन,’ उनले भने, ‘कोरोना संक्रमण उच्च छ । अधिवेशन बोलाउन सरकारले तयारी गर्दैछ ।’ प्रदेश सरकारले कोरोना रोकथाम र खोपलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment