Comments Add Comment

१८ घण्टा अस्पताल राखेको एक लाख ३६ हजारको बिल

१२ जेठ, विराटनगर । विराटनगरको एम्स अस्पतालले उपचारका लागि १८ घण्टा राख्दा बिरामीलाई एक लाख ३६ हजारको बिल थमाएको छ । जनकपुरबाट उपचारका लागि आएका ४४ वर्षीय बद्रीबहादुर मगरको उपचार शुल्कवापत अस्पतालले आफन्तलाई एक लाख ३६ हजारको बिल थमाएको हो ।

शनिबार नोबेल मेडिकल कलेजमा भर्ना भएका बद्रीको कोरोना संक्रमण परीक्षण रिपोर्ट नेगेटिभ आएपछि नोबेलले अन्त्यन्त्र लैजान भन्यो ।

राति साढे ८ बजे आफन्तले उनलाई विराटनगर अस्पताल चोकमा रहेको एम्स अस्पतालमा भर्ना गरे । उपचार महंगो भएको जानकारी पाएपछि उनीहरुले डिस्चार्ज मागे । तर डिस्चार्ज पेपरसँगै १ लाख १६ हजारको बिल दिएको बुहारी निशा मगरले बताइन् ।

‘आईसीयूमा राखेको थियो, भोलिपल्ट औषधि र बेड चार्जसहित एक लाख ३६ हजार तिर्न लगाए,’ उनले भनिन्,‘ पैसा तिरेर बुबालाई मोरङ सहकारी अस्पतालमा लग्यौं ।’

मोरङ सहकारीमा पीसीआर परीक्षण गर्दा पोजेटिभ आएपछि उनलाई आइसोलेसनमा राखिएको छ । बुहारी निशाले भनिन्, ‘अक्सिजन सपोर्टमा उपचार हुँदैछ ।’ महङ्गो शुल्क लिएपछि आफन्तले जिल्ला प्रहरी कार्यालय मोरङमा ठगीको उजुरी गरेका छन् ।

ठगीको उजुरी आएपछि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले बताए ।

एम्स अस्पतालको प्रशासनका एक कर्मचारीले भने भेन्टिलेटरमा दुई दिन राखेकाले धेरै बिल उठेको बताए । ‘अघिल्लो दिन आएर उहाँ भेन्टिलेटरमा बस्नुभयो,’ उनले भने, ‘भोलिपल्ट जाँदा दुई दिनको हिसाब भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment