कोरोनाभाइरसका कारण अहिले विश्वभर स्वास्थ्य संकट सिर्जना भएको छ । यसले आम मानिसमा त्रास छाएको छ । दिनप्रतिदिन कोरोनाभाइरसबाट मानिसहरू संक्रमित बनिरहेका छन् । बिरामीको संख्या बढिरहेको छ । कोरोनाभाइरसका कारण मृत्यु हुने संख्या पनि बढ्दो क्रममा छ । गाउँघरमा अझै मास्क कसरी लगाउने, हात साबुनपानीले नियमित धुने जस्ता सावधानी नअपनाउँदा भाइरस सर्ने क्रम बढिरहेको छ ।
तर पनि यस भाइरसबाट बच्नका लागि केही उपायहरू पनि छन् । नाक र मुख छोपिने गरी मास्क लगाउने, दुई मिटरको दूरी कायम गर्ने, अति आवश्यक नभएसम्म जथाभावी बाहिर नजाने गर्नुपर्छ । हामीले यति गरेमा कोरोनाभाइरसबाट बच्न सकिन्छ ।
यो भाइरसले संक्रमितलाई मात्र नभएर हामी सबैलाई असर गरेको छ । विशेषगरी हामी बालबालिकाको जीवनमा यो भाइरसले झन् बढी प्रभाव पारेको छ ।
सर, मिसलाई फोनबाट सोधौं भने सिकाउनु त हुन्छ तर गाउँमा कुनैबेला बत्ती नहुने त कतै फोन नटिप्ने जस्ता समस्या छन् । त्यसमाथि फोनमा ब्यालेन्स पनि चाहिने हुँदा हामी जस्ता विद्यार्थीलाई समस्या छ । यो म जस्ता गाउँका विद्यालयमा पढ्ने विद्यार्थीको समस्या हो ।
अहिले विद्यालय जाने उमेरका हामी जस्ता बालबालिका विद्यालय बन्द भएकाले घरमै बसेका छौं । विद्यालय जान नपाएपछि हामी बालबालिका कसैले आफ्नो रुचि त कसैले बाध्यताले घरायसी काममा घरपरिवारलाई मद्दत गरिरहेका छौं । हामी किसानका छोराछोरी अचेल गाई, भैंसी हेर्ने, बाख्रा चराउने र घाँस काट्ने काम गर्दा घरमा अभिभावक पनि खुशी हुनुभएको छ । उहाँहरूलाई कामको बोझ घटेको छ । आफूसँग समय भएको बेला आफ्नो रुचि र रहरले अभिभावकलाई मद्दत गर्न पाउँदा हामी आफ्नो परिवारसँग थप समय बिताउन पाएका छौं ।
अनि घरमा व्यावहारिक सीप सिक्दै खाली समयको सदुपयोग पनि गर्न पाएका छौं ।
कोरोनाले गर्दा हाम्रो नियमित पठनपाठनलाई भने असर गरिरहेको छ । मेरो आफ्नै कुरा गर्दा विद्यालय सञ्चालन नभए पनि घरमा समय निकालेर अध्ययन गर्ने गरेकी छु ं। मेरो अनुभवमा विद्यालयमा दिनभरि पढेको र घरमा साँझ–बिहान एक दुई घन्टा मात्रै पढेको धेरै फरक हुने रहेछ ।
विद्यालयमा नबुझे सर–मिसलाई सोधिन्थ्यो । घरमा सिकाउने कोही हुनुहुन्न । त्यसैले घरमा पढ्दा नबुझे आफ्नो मनभित्रै राख्न बाध्य भएका छौं । सर, मिसलाई फोनबाट सोधौं भने सिकाउनु त हुन्छ तर गाउँमा कुनैबेला बत्ती नहुने त कतिबेला फोन नटिप्ने जस्ता समस्या छन् । त्यसमाथि फोनमा ब्यालेन्स पनि चाहिने हुँदा हामी जस्ता विद्यार्थीलाई समस्या छ । यो म जस्ता गाउँका विद्यालयमा पढ्ने विद्यार्थीको समस्या हो ।
यस्तो विपद् र महामारीको अवस्थामा बालबालिकाको पढ्न, सिक्न पाउने अधिकार पूरा गर्न वैकल्पिक माध्यम रेडियो, इन्टरनेट र टेलिभिजन हुन् । त्यसको पहुँच हाम्रो गाउँ–टोलमा खासै छैन । हरेक वर्ष यस्तै समस्या हुने हो भने सरकारले अब केही सोच्नै पर्छ ।
अहिले घरघरमा मोबाइलको प्रयोग हुन्छ । सरकारले सबै ठाउँमा इन्टरनेट पु¥याउन सकेको भए हामी मोबाइलबाटै धेरै कुरा सिक्न सक्ने थियौं । तर अहिलेसम्म न त रेडियोबाट कक्षा चलाइएको छ, न हामीमाझ टिभी र अनलाइन कक्षाहरूबाटै भए पनि पढ्न पाइने व्यवस्था मिलाइएको छ । तर सुन्छौं, शहरबजारमा भिडियो, जुम, टिभी, रेडियोबाट अनलाइन कक्षाहरू राम्रै भइरहेका छन् । आखिर विद्यार्थी त हामी पनि उनीहरू सरह हौं । तर अवसर किन फरक छ !
केही बालबालिका कमजोर आर्थिक अवस्थाका कारण मजदूरी गर्नुपर्ने अवस्था पहिलादेखि नै थियो । अब संख्या अझै बढ्ने अवस्था आएको छ । लकडाउनका कारण मजदूरी गरेर कमाउने धेरै मानिसले अहिले रोजगारीका अवसर गुमाएका छन् । त्यस्ता परिवारलाई अब आफ्नो छाक कसरी टार्ने भन्ने समस्या छ । यसको असर पढ्ने उमेरका बालबालिकालाई पक्कै पनि परिरहेको छ ।
काम नगरी छाक टार्न समस्या भएका परिवारका बालबालिका अहिले घरको काममा मात्रै व्यस्त भएका छन् र दिनभर काम गर्दा थाक्ने र बेलुकी पढ्नलाई गाह्रो हुने भएका कारण पढाइतिर उनीहरू आफैंले ध्यान दिन नसक्ने भएका पनि छन् । कोरोना घटेपछि विद्यालय खुल्ने अवस्था आए पनि गरीब परिवारका बालबालिका पढाइमा रुचि घटेका कारण वा आफ्नो परिवारलाई कमाएर मद्दत गर्नुपर्ने बाध्यताका कारण विद्यालय छोड्ने पनि हुनसक्छ ।
पक्कै पनि, खुला आकाशमा स्वतन्त्र उड्ने र पिंजडाभित्र राखिएको चरामा धेरै भिन्नता हुन्छ । अहिले हाम्रो जीवन पनि त्यो पिंजडाभित्र राखिएको चराको जस्तै भएको छ ।
अहिलेको अवस्थाले हामी जस्ता बालबालिकाको शारीरिक र मानसिक कुरामा प्रभाव पारिरहेको छ । अहिले विद्यालय सबै बन्द छन् र बाहिर घुमफिर गर्न मिल्दैन । परीक्षा कहिले हुन्छ ? विद्यालय कहिले खुल्छ ? अब के हुने हो ? भन्ने जस्ता प्रश्न हामीभित्र खेलिरहन्छन् । अनि हाम्रा सपनाहरू अधुरै रहन्छन् कि जस्तो लाग्छ ।
तर, फेरि सोच्छु यो त विश्वव्यापी समस्या हो । आज हामी सबै सुरक्षित भयौं भने भोलिका दिन फरक होलान्, अवस्था विस्तारै सामान्य हुँदै जाला र हामीले सहज महसूस गर्न पाउँला । हामीले धेरै चिन्ता गरेर समस्या समाधान हुँदैन । यसले हामीभित्र अझ मानसिक समस्या ल्याउन सक्छ ।
एक दिन पक्कै पनि सबै अवस्था सामान्य हुनेछ । हामी किताब कापी बोकेर र ड्रेस लगाएर विद्यालय जान पाउनेछौं । त्यसैले मलाई लाग्छ हामी जहाँ छौं त्यही रमाउन सक्नुपर्छ । बुवाआमा र परिवारका सदस्यसँग समय बिताउने, कुराकानी गर्ने र आफूले सक्ने काम गरी आफ्नो सोचाइलाई सकारात्मक र व्यस्त बन्न सके हामीले शारीरिक र मानसिक रूपमा आफूलाई स्वस्थ राख्न सक्छौं ।
खाना बनाउँदा बनाउँदै, आफूभन्दा साना भाइबहिनीलाई सिकाउँदै, आमाबुबासँग घाँस काट्न होस् वा गोठालो जाँदा त्यहीं रमाउने प्रयास गरौं । फुर्सद भएको समयमा अध्ययन पनि गरौं ।
भाइरसको संक्रमण रोक्नका लागि मानिसको धेरै जमघट हुने ठाउँ विद्यालय, यातायात, सिनेमा हल, होटल लगायतका क्षेत्रहरू बन्द गर्नुको विकल्प थिएन । तर कतिपय ठाउँहरूमा विद्यालय बन्द भएर विद्यार्थी झन् असुरक्षित भएको र आवतजावत बढेको मैले देखेकी छु ।
विद्यालय बन्द हुँदा घरभित्र सुरक्षित तरिकाले नबसेर भोजभतेर, पूजापाठमा सहभागी हुने अनि गोठालो जाँदा होस् वा बारीमा काम गर्न जाँदा पनि धेरै जना एकै ठाउँमा बसेर गफ गर्ने गरेको पनि देखेकी छु । यस्ता क्रियाकलापलाई सरकारले रोक्नुपर्छ ।
हामी सुरक्षित र स्वस्थ रह्यौं भने आफूले पछि सबै कुराको अनुभव गर्न पाइन्छ । त्यसैले म जस्तै बालबालिका र सबै भाइबहिनीलाई भन्न चाहन्छु कि यो भाइरस संक्रमणको अवस्थामा सबै घरभित्र बसेर सहयोग र आफ्नो अध्ययनलाई निरन्तरता दिने कोशिश गरौं । अनि आफ्नो मानसिक स्वास्थ्यलाई पनि ख्याल गरौं ।
(लेखक दैलेखस्थित एक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छिन् ।)
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4