
नेपाली कम्युनिष्ट आन्दोलनको ७२ वर्षे इतिहासमा कम्युनिष्ट पार्टीहरू लगभग त्यति नै पटक फुटेका होलान् । टुटफुट र विभाजनको यो विरासतीय शृङ्खला यतिखेर नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट फुट्दै झलनाथ-माधव समूहको नयाँ पार्टी दर्ता हुने प्रक्रियासम्म आइपुगेको छ । हालै मात्र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आफ्नै आन्तरिक विवादका कारण अदालतको फैसलाबाट नेकपा एमाले र माओवादी केन्द्रका रूपमा विभाजित भएको थियो ।
एक-अर्कालाई अनेकौं आरोप-प्रत्यारोप र सत्तोसराप गरी आफूलाई मात्र सच्चा कम्युनिष्ट ठान्दै आएका कम्युनिष्ट पार्टीहरू सैद्धान्तिक र नीतिगत आधार विना नै पटक-पटक फुट्ने गर्छन् । गरीब, सर्वहारा, किसान, मजदूर र महिला हकहितको नाममा गठन भएका सबैजसो कम्युनिष्ट पार्टीका नेताहरू कुनै सैद्धान्तिक र नीतिगत विवादभन्दा पनि व्यक्तिगत इगो र पद-प्रतिष्ठाका लागि नै फुटेको देखिन्छ । ‘विश्वका मजदूर एक हौं’ भन्ने नारा लगाउने कम्युनिष्टहरू आफैंमा चिराचिरा पर्नुले उनीहरूको भनाइ, आदर्श, नीति, सिद्धान्त र व्यावहारिक धरातलको अन्तरलाई प्रष्ट पार्दछ ।
आफूसँग अलिकति विमति हुनेबित्तिकै एक-अर्कालाई ‘गद्दार’, ‘फासिस्ट’, ‘निरंकुश’, ‘साम्राज्यवादी’, ‘विस्तारवादी एजेन्ट’, ‘नवसामन्त’, ‘भ्रष्टाचारी’ र ‘बुर्जुवा’ भनेर बोल्ने, लेख्ने अनि अर्को पार्टी खोल्ने नेपालका कम्युनिष्टहरूको संस्कृति नै बनेको छ । त्यसैले त नेपाली कम्युनिष्टहरूको वर्तमान अत्यन्तै बदनाम र विवादित बन्दैछ । यसले कम्युनिष्टहरूको दर्शन, सिद्धान्त र स्कुलिङमै कतै खोट त छैन भन्ने आशङ्का बढाएको छ ।
टुटफुट र विभाजनको गञ्जागोल इतिहास
पुष्पलालको अगुवाइमा नेपालमा २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना भयो । शुरूदेखि नै नेपाल कम्युनिष्ट पार्टीको नाममा पहिलो पर्चा छरेको दिन १० वैशाख २००६ (२२ अप्रिल, १९४९) लाई नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मान्ने कि पार्टीको केन्द्रीय समिति, विधान र घोषणापत्र जारी गरेको ३० भदौ २००६ (१५ सेप्टेम्बर, १९४९) लाई पार्टीको स्थापना दिवस मान्ने ? लामो समय यही विषयको विवादमा कम्युनिष्ट राजनीति केन्द्रित भइरह्यो ।
त्यसलगत्तै २००७ सालमै ‘गणतन्त्र कि राजतन्त्र ?’, ‘शान्तिपूर्ण आन्दोलन कि हतियारबन्द आन्दोलन’ भन्ने बहसबाट शुरू भएको नीतिगत विवाद नेता पुष्पलाल र तुलसीलाल अमात्यको अन्तरविरोधसम्म आइपुग्दा ‘कुन बाटो ?’ र ‘अबको बाटो’ को पार्टीगत अन्तरविरोध र विवादमा तानियो । तत्पश्चात कम्युनिष्ट पार्टी समयानुकूल परिस्थितिको व्याख्या-विश्लेषणको बहानामा एक-अर्काबीच फगत आरोप-प्रत्यारोप गर्दै पटकपटक विभाजित भइरहेको छ ।
स्थापनाको चार वर्षपछि वि.सं. २०१० मा पार्टीको पहिलो महाधिवेशन भयो । महासचिवमा मनमोहन अधिकारी निर्वाचित भए । १४ सालको दोस्रो महाधिवेशनबाट केशरजंग रायमाझी महासचिव बने । रायमाझीकै कारण २०१७ सालपछि कम्युनिष्ट पार्टी पहिलो पटक विभाजन भयो ।
१ पुस २०१७ मा राजा महेन्द्रले शासनसत्ता हातमा लिएपछि रायमाझी कालान्तरमा राजदरबार पसे । पुष्पलाल, तुलसीलाल अमात्य, मोहनविक्रम सिंह र मनमोहन अधिकारी जस्ता नेताहरू पनि क्रमशः त्यतिखेरका शक्तिशाली कम्युनिष्ट राष्ट्रलाई हेर्ने दृष्टिकोणमा विभाजित हुन थाले ।
वि.सं. २०१९ मा तेस्रो महाधिवेशनले तुल्सीलाल अमात्यलाई महासचिव निर्वाचित गरी राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम पास गर्यो । पार्टीको तेस्रो महाधिवेशनपछि पार्टीमा विभिन्न गुट-उपगुटहरू देखिए । त्यसबेला खास गरेर रायमाझी समूह, तुल्सीलाल समूह र पुष्पलाल तीन समूहमा पार्टी विभाजन भयो ।
उता रायमाझीले छुट्टै तेस्रो महाधिवेशन गरेर आफू महासचिव भएको घोषणा गरे । पछि फेरि यो समूह बर्मा र मानन्धर समूहमा विभाजित भयो । २०२३ सालसम्म कम्युनिष्ट पार्टी लगभग अवसानको सँघारमा थियो । एकातिर पूर्व मेची कोशी प्रान्तीय कमिटी गठन भयो भने अर्कोतिर केशरजंगको समूह छुट्टियो । त्यसको एक वर्षपछि पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशन गराए ।
२०२५ सालमा तेस्रो सम्मेलन गरी पुष्पलालको नेतृत्वमा पार्टी गठन भयो । तेस्रो महाधिवेशनबाट फुट भएको कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउन भन्दै जेलबाट छुटेर आएका नेताहरू मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठहरूको नेतृत्वमा २०२८ सालमा केन्द्रीय न्युक्लियसको गठन भयो ।
२०२८ सालमा नेपाल कम्युनिष्ट आन्दोलनका अर्का दुईवटा प्रष्ट लाइन देखा परे । झापा जिल्ला कमिटी र केन्द्रीय न्यूक्लियस । पुष्पलालको पार्टी यी दुवैमा थिएन । पुष्पलाल समूहमा रहेको पूर्वकोशी प्रान्तीय कमिटीसँंग सम्बद्ध झापा जिल्ला कमिटीले २०२७ सालको अन्ततिर झापामा सशस्त्र आन्दोलन शुरू गर्यो । फलस्वरूप २०३२ सालमा अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को-अर्डिनेशन कमिटी (माले) को गठन भयो ।
यसमा २०३४ मा मुक्ति मोर्चा र पूर्वको रातो झण्डा समूहलगायत धेरै कम्युनिष्टका झुण्डहरू एकताबद्ध भए र अन्त्यमा २०३५ सालमा नेकपा (माले) को स्थापना गर्यो । २०३५ सालमै कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको निधन भयो ।
मोहनविक्रम सिंहले २०३१ साल भदौमा चौथो महाधिवेशन गरी अर्को पार्टी बनाए । मोहनविक्रमले अर्को पार्टी बनाएपछि २०३६ मा एकता सम्मेलन गरी मनमोहनलगायतले नेकपाको घोषणा गरे । मोहनविक्रम सिंहको चौंथो महाधिवेशनले २०३६ सालको जनमत संग्रहलाई बहिष्कार गर्यो । राजाले गराएको जनमत सङ्ग्रहलाई लिएर पार्टीभित्र पुनः मतभेद शुरू भयो ।
२०४० सालमा निर्मल लामा समूहले पार्टी फुटायो र नेकपा (चौम) भन्ने नयाँ दल बनायो । मोहनविक्रमको समूहले आफ्नो पार्टीको नाम नेकपा मसाल राख्यो । प्रचण्डले मोहनविक्रममा सैद्धान्तिक विचलन रहेको प्रतिवेदन प्रस्तुत गरेपछि फुटको शृंखला पुनः शुरू भयो ।
चौथो महाधिवेशन पक्षधरहरूले विरोधको तारो बनाएको को-अर्डिनेशन केन्द्र अर्थात् झापा विद्रोह र पुष्पलाल समर्थकहरूको एकीकरणबाट नै पहिले (२०३५ मा) नेकपा (माले) र पछि (२०४७ मा) नेकपा (एमाले)का रूपमा परिणत भयो ।
२०४० सालपछि नेकपा संयुक्त चौम, नेकपा (मशाल), नेकपा (मसाल), नेकपा (चौम) तीन समूहमा विभाजन हुन पुग्यो । २०४२ सालमा मोहनविक्रमले चित्रबहादुर केसीसहित चार जना केन्द्रीय सदस्य लिएर नयाँ पार्टी नेकपा मसाल बनाए । वैद्य नेतृत्वको पार्टीको नाम नेकपा मशाल राखियो ।
२०४५ सालमा नेकपा (मशाल) को सम्मेलन गरी प्रचण्ड महामन्त्री बने । एकताको दुई वर्षमै नयाँ पार्टीमा सशस्त्र युद्धको विषयलाई लिएर निर्मल लामाहरूले एकता केन्द्र छोडे । २०५१ मा निर्मल लामा, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, लीलामणि पोख्रेलहरू मिलेर छुट्टै नेकपा (एकताकेन्द्र) गठन गरे । यता प्रचण्ड नेतृत्वले नेकपा माओवादी राख्यो र उसले १० वर्ष माओवादी जनयुद्ध सञ्चालन गर्यो ।
यसबीचमा मोहनविक्रम सिंह नेतृत्वको मसाल र नारायणकाजी श्रेष्ठ नेतृत्वको एकता केन्द्रभित्र माओवादीलाई हेर्ने दृष्टिकोणमा फेरि मतभेद शुरू भयो । अनि २०६३ सालमा उनीहरू पनि फेरि फुटे । १० वर्ष सशस्त्र संघर्ष गरेर २०६२-६३ सालपछि खुला राजनीतिमा आएको नेकपा माओवादीमा पनि तीव्र रूपमा फुट भई मोहन वैद्य, बाबुराम भट्टराई र नेत्रविक्रम चन्द हुँदै पाँचवटा पार्टी बने । बाबुराम भट्टराईले त कम्युनिष्ट आन्दोलन नै छोडे ।
२०३१ सालमा गठन भई २०४७ सालमा प्रथम सम्मेलनमार्फत सक्रिय भएको नेपाल मजदूर किसान पार्टी पनि अलग्गै पार्टीको रूपमा छ । यसै सन्दर्भमा २०४६ सालको जनआन्दोलन सम्पन्न भएपछि २०४७ साल चैत महीनामा नेकपा (माले) र नेकपा (माक्र्सवादी) बीच एकता भएर नेकपा (एमाले) बन्यो ।
२०४९ सालमा काठमाडौंमा सम्पन्न एमालेको पाँचौं महाधिवेशनले जनताको बहुदलीय जनवादको कार्यक्रमलाई मार्गदर्शक सिद्धान्तको रूपमा अंगीकार गर्यो । ३ जेठ २०५० मा मदन भण्डारीको रहस्यमय दुर्घटनामा मृत्युपछि माधवकुमार नेपाल महासचिव बने ।
२०५४ सालमा नेपालगञ्जमा सम्पन्न एमालेको छैटौं महाधिवेशनबाट माधवकुमार नेपाल नै महासचिव चुनिए । यस महाधिवेशनमा वामदेव गौतमको फरक मतको लाइन र महाकाली सन्धि सम्बन्धमा विवाद भयो । अन्ततः २०५४ सालमै त्यस पार्टीमा पनि फुट भएर पुनः नेकपा (माले) को जन्म भयो ।
नेकपा एमालेको सातौं महाधिवेशन २०५९ सालमा जनकपुरमा सम्पन्न भयो । माधव नेपाल महासचिवमा निर्वाचित भए । बुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट झलनाथ खनाल अध्यक्षमा निर्वाचित भए । नेकपा (एमाले) को नवौं महाधिवेशन २०७१ सालमा काठमाडौंमा भयो । अध्यक्षमा माधव नेपाललाई पराजित गरी केपी शर्मा ओली निर्वाचित भए । २०७५ साल जेठमा एक भएका एमाले र माओवादी करीब तीन वर्षपछि २०७७ फागुनमा अलग अलग पार्टी भए । यतिखेर एमालेबाट पुनः फुट्दै झलनाथ-माधव समूहको नयाँ पार्टी दर्ता हुँदैछ ।
दर्शन र सिद्धान्तमै खोट छ कि ?
नेपाली कम्युनिष्ट पार्टीहरूका यी टुटफुट, गुट र विभाजनको विरासतीय शृङ्खलाहरू नेपाली जनजीविकाका तमाम समस्या हल गर्नेतर्फ नभई फगत सत्ता-स्वार्थ र पद-प्रतिष्ठाकै लागि हुन् भन्ने तथ्यहरूले स्पष्ट पारेका छन् ।
पटक-पटकका विभाजन र टुटफुटले नेपाली कम्युनिष्टहरूको दर्शन, सिद्धान्त र स्कुलिङमै गम्भीर त्रुटि वा खोट छ भन्ने आशङ्का बढाएको छ । कम्युनिष्ट इतिहासको यो प्रवृत्तिले नेपालको कम्युनिष्ट दर्शन, सिद्धान्त र स्कुलिङको नीतिगत शैलीमा पुनर्विचार र पुनव्र्याख्याको आवश्यकतालाई समेत बोध गराउँछ ।
विश्वमा पतन हुँदै गइरहेको कम्युनिष्ट सिद्धान्त नेपाली जनताबीच लोकप्रिय त बन्यो । नेपाली जनताको सात दशक लामो आन्दोलन, त्याग, बलिदान र रक्तरञ्जित सङ्घर्षपछि देशले महान् उपलब्धि पनि प्राप्त गर्यो । तर, त्यो महान् उपलब्धि तिनै कम्युनिष्ट नेताहरूकै सत्तास्वार्थ, व्यक्तिगत इगो, पद-प्रतिष्ठा र अवसरकै चपेटामा परेर पुनः गुम्न थालेको महसूस हुँदैछ ।
तसर्थ, विश्व कम्युनिष्ट पतनको सिलसिलामा टुक्रिएको सोभियत संघ र भत्किएको बर्लिन पर्खालको ऐतिहासिक शृङ्खला भारतको पश्चिम बंगाल हुँदै नेपालमा नभित्रिएला भन्ने ग्यारेन्टी अबचाहिं गर्न सकिन्न ।
(ज्ञवाली रूपन्देहीका शैक्षिक अगुवा र वाम बुद्धिजीवी हुन् ।)
प्रतिक्रिया 4