Comments Add Comment

जिदानले रियल मड्रिड छाड्ने

१३ जेठ, काठमाडौं । जिनेदिन जिदानले स्पेनिस क्लब रियल मड्रिडको प्रशिक्षक पद छाड्ने भएका छन् ।

दोस्रो पटक रियलको प्रशिक्षकको रुपमा काम गरेका फ्रान्सेली प्रशिक्षक जिदानले एक ला लिगा र एक स्पेनिस सुपर कप जितेर क्लब छाड्न लागेका हुन् ।

खेलाडी स्थानान्तरणबारे सूचना सार्वजनिक गर्ने फाब्रिजिओ रोमानोका अनुसार रियलले यस सिजन कुनै उपाधि जित्न नसकेपछि जिदानले क्लब छाड्न लागेका हुन् ।  ला लिगामा छिमेकी प्रतिद्वन्दी एट्लेटिको मड्रिडभन्दा पछि रहँदै रियल दोस्रो भएको थियो ।

जिदानले आफूले क्लब छाड्ने जानकारी क्लबका निर्देशक र टोलीका केही खेलाडीलाई दिएको स्पेनिस पत्रिका एएसले जनाएको छ । कठिन सिजन बिताएपछि जिदानले आफ्नो भविष्यलाई लिएर क्लबका लागि सहज निर्णय लिने ‘हिन्ट’ यसअघि नै दिएका थिए ।

जिदानले छाडेपछि रियलको प्रशिक्षक को बन्छ भन्ने चर्चा हुन थालिसकेको छ । यसअघि मासिमिलियानो अलेग्री जिदानले छाडेमा रियल आउने हल्ला थियो । यस्तै इटालियन क्लब इन्टर छाडेका एन्टोनियो कोन्टे पनि अहिले खाली नै छन् ।

रियलकै पूर्वकप्तान तथा रियल कास्टिलाका प्रशिक्षक राहुलको नाम पनि रियलको नयाँ प्रशिक्षकको रुपमा चर्चामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment