Comments Add Comment

संसद विघटनपछि सभामुखले के गर्न सक्छन् ? संविधानविद्को दुईथरी सुझाव

१३ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनका विषयमा बिहीबार सभामुख अग्निप्रसाद सापकोटाले संविधान तथा कानूनका जानकारहरुसँग छलफल गरे ।

छलफलका क्रममा संविधानविदहरुले उनलाई दुईथरी सुझाव दिए । कसैले सर्वोच्च अदालतको फैसला पर्खिनेबाहेक केही गर्न नमिल्ने सुझाव दिए भने कसैले सक्रिय हुन सुझाव दिए । सक्रिय हुन सुझाव दिनेले राष्ट्रपतिलाई पत्र लेख्न र संसदको पक्षमा जनमत सिर्जना गर्न सुझाव दिए ।

संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले सभामुख संविधान र कानुन अनुरुप चल्नुपर्ने र संसदमार्फत हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने सुझाव दिए ।

संविधानविद् टीकाराम भट्टराईले संविधानले सभामुखलाई पनि विशेष अधिकार दिएको उल्लेख गर्दै सोही अधिकारका आधारमा संसद बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गर्नसक्ने सुझाव दिए ।

यसअघि नै सर्वोच्च अदालतले कोही व्यक्तिको लहड र सनकमा प्रतिनिधिसभा विघटन गर्न नसकिने फैसला गरिसकेकाले सर्वोच्चको सोही आदेश अनुसार पनि प्रतिनिधि सभा विघटन हुन नसक्ने उनको भनाइ छ ।

संविधानविद् भीमार्जुन आचार्यले गत पुसमा प्रतिनिधिसभा विघटनपछि पुनर्स्थापना हुँदा पनिसंसद र प्रतिपक्षी मूकदर्शक बनेको तथा जालझेल र षड्यन्त्रलाई रोक्न नसकेको टिप्पणी गरे । उनले प्रतिनिधि सभा पुनर्स्थापना नभएसम्म कानूनी र संवैधानिक रुपमा सभामुखले केही गर्न नसक्ने सुझाव दिए ।

पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठले संसद जीवित छ भन्ने देखाउन सभामुखले आफ्नो सक्रियतालाई बढाउनुपर्नेमा उनले जोड दिए ।

नेपाल बार एशोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले सभामुखले संविधानको पालना र संरक्षण गर्नेबाहेक कुनै काम गर्नु नहुने सुझाव दिए । सभामुखले यस्तै किसिमका अन्तर्क्रिया गरेर जनतालाई सुसूचित गराउन ध्यान दिनुपर्ने उनले बताए ।

राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीले बहुमत सांसदहरुले प्रतिनिधिसभा हामी चलाउन चाहन्छौँ भनी हस्ताक्षर नै गरिसकेपछि विघटन गर्न नपाइने बताए । सभामुखसँग संसदको पक्षमा जनमत सिर्जना गर्नुपर्ने उत्तरदायित्व रहेको उनले औंल्याए ।

राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले संविधानको धारा ७६ प्रधानमन्त्री र राष्ट्रपतिका बीचमा हुने काम कारबाही नभएको बताए । यस सम्बन्धमा सभामुखले सम्पूर्ण कुरा लेखेर राष्ट्रपतिलाई दिनुपर्ने उनले सुझाव दिए ।

सभामुखले बहुमत सांसदहरुको बैठक पटक पटक बसालेर त्यसको सम्पूर्ण कुराहरु राष्ट्रपतिलाई पठाउँदै जानुपर्ने र जनतालाई सुसूचित गर्दै जानुपर्ने विडारीको भनाइ छ ।

संविधानअनुसार चल्छु : सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले कानूनविदसँगको छलफलले आफूलाई सहयोग पुर्‍याएको बताए । उनले संविधान र प्रतिनिधिसभाको नियमावली अनुसार नै आफू चल्ने जानकारी दिए । राजनीतिक पार्टीहरुमा नै जनताको शक्ति केन्द्रित भएर अभिव्यक्त हुने भएकाले आफूले राजनीतिक पार्टीहरुसँग छलफल गर्ने पनि सभामुख सापकोटाले बताए ।

आफूहरु प्रतिनिधिसभा सञ्चालनमा दत्तचित्त भएर लागिरहेको उल्लेख गर्दै सभामुख सापकोटाले देश अध्यादेशबाट चलाउन खोजिएको प्रति असन्तुष्टि पनि व्यक्त गरे ।

सर्वोच्च अदालतको फैसला कार्यान्वयन नभएको र प्रतिनिधिसभाको अधिकारको हनन भएको पनि सभामुख सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment