Comments Add Comment

कुटपिटको भिडियो भाइरल भएपछि डीएसपीमाथि छानबिन

१३ जेठ, वीरगञ्ज । वीरगञ्जमा सर्जिकल पसलका कर्मचारी कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रल्हाद कार्की विवादमा तानिएका छन् ।

उनले पानीट्याङ्कीस्थित प्याथो सर्जिकल हाउसका कर्मचारी अफ्रोज अहमदलाई बुधबार विहान साढे १० बजे कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । पसलको सीसीटीभी क्यामेरामा कैद भएको उक्त भिडियोमा डीएसपी कार्की आक्रोशित भएर अहमदलाई कुटपिट गरेको देखिन्छ ।

‘प्रहरीको ज्यादती भनेर कराउने तँ हैनस् ? भिडियो भाइरल गराउने ?’ भन्दै उनले लठ्ठी हात र खुट्टाले हिर्काएको भिडियोमा देखिन्छ ।

डीएसपी कार्की बेला बेलामा मोबाइल हेर्छन् । फेरि आक्रोशमा आउँछन् र पसलका कर्मचारीलाई कुट्छन् । पसलका कर्मचारी ‘गल्ती भयो सर माफी पाउँ’ भन्दै दुई हात जोड्छन् । तर डीएसपी कार्की शान्त हुँदैनन् ।

प्रहरीले मेडिकल पसलको वरपर खुलेका किराना पसलहरु बन्द गराउने क्रममा भिडियो खिचेको आरोप अहमदलाई लागेको छ । प्रहरीले उनको मोबाइल पनि लगेको छ ।

पसलका सञ्चालक करण पटेल भिडियो खिचेर गल्ती नै गरेको भएपनि प्रहरीले निर्घात कुटपिट गर्न नपाउने बताउँछन् । ‘भिडियो कलमा कुराकानी गर्दै बाहिर निस्केको थिएँ ।

प्रहरीलाई भिडियो खिचेको जस्तो लागेको मात्रै हो भनेको छ’ उनले भने ‘खिचेको भए मोबाइलमा भिडियो होला, गल्ती गरेको भए प्रहरीले कानुनी कारबाहीका लागि प्रक्रिया अघि बढाउनुपर्छ । मेडिकल उपकरण भएको पसलभित्र पसेर कुटपिट गर्नु कहाँको न्याय हो ?’

कारबाही गर्न माग

नेपाल शल्य तथा रासायनिक संघ वीरगञ्जले डीएसपी कार्कीले अमानवीय व्यवहार गरेको भन्दै कारबाही गर्न माग गरेको छ ।

संघका अध्यक्ष सुशील खेतानले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै भविष्यमा यस्ता व्यवहार नदोहोरिने अपेक्षा समेत राखेका छन् ।

छानबिन समिति गठन

प्रदेश २ प्रहरी कार्यालयले डीएसपी कार्कीबाट गैरव्यवसायिक व्यवहार भएको निश्कर्ष निकालेर छानबिन सुरु गरेको छ । कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक कृष्ण प्रसाईको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ ।

निषेधाज्ञा पालना गराउने क्रममा पसल सञ्चालकमाथि प्रहरीले गरेको गैर व्यवसायिक व्यवहारका कारण कार्यालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रदेश प्रहरी कार्यालयले विज्ञप्तिमा अनुसन्धान सुरु गरिएको जनाएको छ ।

दोषी देखिएमा प्रहरी नियमावली अनुसार कारवाही गरिने एसपी प्रसाईंले बताए । ‘भिडियो सरसर्ती हेर्दा प्रहरी कर्मचारीबाट कमजोरी भएको देखिन्छ । तर अगाडि के भएको हो वास्तविकता बुझ्नुपर्ने हुन्छ’ उनले भने ‘अनुसन्धानपछि दोषी देखिए प्रहरी कर्मचारीलाई कारबाही गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सुरेश बिडारी

ट्रेन्डिङ

Advertisment