Comments Add Comment

के हो भारत सरकार र सामाजिक सञ्जाल कम्पनीबीचको विवाद ?

१४ जेठ, काठमाडौं । सामाजिक सञ्जालमाथि नियन्त्रण गर्नेखालको नियमका कारण भारत सरकारमा सामाजिक सञ्जाल कम्पनीहरू एव‌ं सरकारबीच विवाद जारी छ । पछिल्लो पटक भारतीय प्रहरीले आफ्नो कार्यालयमा आएर चेतावनी दिएसँगै सामाजिक सञ्जाल कम्पनी ट्वीटरले ‘भारतको अभिव्यक्ति स्वतन्त्रता’बारे चिन्ता व्यक्त गरेको थियो । लगत्तै सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुकमा प्रजातन्त्रको चिन्ता नगर्न चेतावनीमूलक सन्देशहरू सरकारी अधिकारीहरूले जारी गरेका छन् ।

गत मंगलबार देशभर एउटा यस्तो आकलन गरिएको थियो कि मध्यरातदेखि फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जाल बन्द हुँदैछन् ।

यी अनुमानहरू यसकारण गरिएका थिए कि केन्द्रीय सरकारले फेब्रुअरीमा लागू गरेको नयाँ सोशल मिडिया दिशानिर्देशहरूको कार्यान्वयनको म्याद मे २५ को मध्यरातमा समाप्त भइरहेको थियो र धेरै ठूला सोशल मिडिया कम्पनीहरूले यस निर्देशनको पालना गरेका थिएनन् ।

गत फेब्रुअरीमा सरकारले कुनैपनि आपत्तिजनक विषयलाई २४ घण्टाभित्र सामाजिक सञ्जालबाट हटाउनुपर्ने, अफवाह फैलाउने पहिलो व्‍यक्तिको पहिचान गरेर जानकारी दिनुपर्ने, प्लेटफर्मले भारतमा आफ्नो नोडल अफिसर, रेसिडेन्ड ग्रीभ अफिसर राख्‍नुपर्ने र हरेक महिना कति गुनासो र कति कारबाही भयो त्‍यसको जानकारी सरकारलाई दिनुपर्ने शर्त सहितको नयाँ नियम ल्याएको थियो ।

तर यो नियमले प्रयोगकर्ताको व्यक्तिगत अधिकारको हनन् हुने भन्दै सामाजिक सञ्जाल कम्पनीहरू यो नियम मान्न तयार छैनन् । तर सरकारले भने यसलाई कडाइका साथ लागू गर्न लागिरहेको छ ।

सोको कार्यान्वयनको समय सकिएको दिन नै मंगलबार मेसेन्जर एप व्हाट्स एपले दिल्ली उच्च अदालतमा सरकारको नयाँ सोशल मिडिया नियमलाई चुनौती दिँदै मुद्दा दायर गरेको छ । जसमा भनिएको छ ‘यदि सरकारले बनाएको यी नियमहरु बमोजिम इन्क्रिप्टेड सन्देशहरुमा पहुँच पुर्‍याइयो भने यसले जनताको अधिकार र गोपनीयता हनन् हुनेछ ।’

उल्लेखनीय कुरा यो छ कि फेब्रुअरीमा जारी गरिएको सूचना प्रविधि (मध्यवर्ती दिशानिर्देशहरू र डिजिटल मिडियाको आचार संहिता) नियम, २०२० को नियम ४(२) ले ५० लाखभन्दा बढी ग्राहकहरू भएको सोशल मिडिया कम्पनीहरूले कुनैपनि सन्देशको पहिचान सुनिश्चित गर्नुपर्नेछ भन्ने उल्लेख गरेको छ।

एक विज्ञप्तिमा व्हाट्सएपका प्रवक्ताले भनेका छन् ‘मेसेन्जिङ एप्सबाट च्याट “ट्रेस” गर्नु भनेको हामीलाई व्हाट्सएपमा पठाइएको हरेक सन्देशको औंठाछाप राख्न आग्रह गर्नु बराबर हो, जसले प्रयोगकर्ताको गोपनीय अधिकारलाई हनन् गर्दछ ।’

बिहीबार ट्विटरले इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयलाई नयाँ नियमहरूको पालना गर्न थप तीन महिना दिन आग्रह गरेको थियो ।

ट्वीटरका प्रवक्ताले बिहिबार बिबीसीलाई भने, “हामी हाल भारतमा हाम्रा कर्मचारीहरूका बारे हालसालै भएका घटनाहरू र जनताको अभिव्यक्ति स्वतन्त्रताको खतराका बारे चिन्तित छौं।”

त्यस्तै, गुगलले एक विज्ञप्तिमा भनेको छ ‘हामीलाई लाग्छ हाम्रो प्लेटफर्मलाई सुरक्षित बनाउने काम पूरा त भएको छैन । तर हामीहरू आफ्नो नीति र नियम अनुसार क्रमश: यसको सुधारमा लागिरहेका छौं । हामी हाम्रो नीतिलाई विकसित गर्दै जान्छौं र सकेसम्म पारदर्शी निर्णय लिने प्रयासमा हामी हुनेछौं ।

गत महिना मात्र भारत सरकारले सामाजिक सन्जालका कम्पनीहरुलाई कोरोना महामारीको विषयलाई लिएर भारत सरकारको आलोचना गरिएका पोष्टहरु हटाउन भनेको थियो । यसबाट भारत सरकारको कडा आलोचना भएको थियो ।

विश्व प्रसिद्ध मेडिकल जर्नल द ल्यान्सेटले त आफ्नो आठ मेको अंकमा सम्पादकीय नै लेखेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेको थियो । मोदीले ट्वीटरमा आफ्नो आलोचना दबाउन बढी र कोरोना नियन्त्रणमा कम ध्यान दिएको भनेर ल्यान्सेटले आलोचना गरेको थियो।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment