Comments Add Comment

अर्को सिजनको च्याम्पियन्स लिगमा स्पेनबाट ५ क्लब

१४ जेठ, काठमाडौं । युरोपियन च्याम्पियन्स लिगमा २०२१/२२ को सिजनमा स्पेनबाट ५ क्लबले प्रतिनिधित्व गर्ने भएका छन् ।

युरोपा लिगको फाइनलमा म्यानचेष्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेपछि भिल्लारियल स्पेनबाट च्याम्पियन लिगमा छनोट हुने पाँचौ टिम बनेको हो । २०२०/२१ को सिजनको ला लिगामा सातौं भएको भिल्लारियल युरोपा लिग जितेको कारण सिधै अर्को सिजनको च्याम्पियन्स लिग समूह चरणमा छनोट भएको हो ।

यसअघि नै ला लिगाको शीर्ष चारमा रहेका एट्लेटिको मड्रिड, रियल मड्रिड, बार्सिलोना र सेभिल्ला सिधै च्याम्पियन्स लिगका लागि छनोट भइसकेका छन् ।

भिल्लारियल च्याम्पियन्स लिगको समूह ए मा रहनेछ । जहाँ युरोपका शीर्ष पाँच लिगका च्याम्पियनसंग पोर्चुगलको च्याम्पियन स्पोर्टिङ सिएफ र रसियन क्लब जेनिथ वा इंग्लिस क्लब चेल्सीमध्ये एक हुनेछ ।

आगामी शनिबार चेल्सीले म्यानचेष्टर सिटीसंग यस सिजनको च्याम्पियन्स लिग फाइनल खेल्दैछ । दुवै टिम च्याम्पियन्स लिगमा छनोट भइसकेका छन् । यदि चेल्सी विजयी भए समूह एमा रहनेछ भने सिटी विजयी भए जेनिथ रहनेछ ।

युइएफएले सन् २०१४/१५ को सिजन देखि युरोपा लिग विजेतालाई च्याम्पियन्स लिगमा छनोट गराउने प्रावधान लागु गरेको थियो ।

यसै अनुसार यसअघि २०१५ मा पनि स्पेनबाट ५ क्लबले च्याम्पियन्स लिगको समूह चरणमा खेलेका थिए । त्यतिबेला बार्सिलोना, रियल मड्रिड र एट्लेटिको मड्रिड ला लिगामा शीर्ष तीनमा रहेर सिधै छनोट भएको थियो । सेभिल्ला युरोपा कप जित्दै छनोट भएको थियो । भ्यालेन्सियाले भने प्लेअफमा फ्रेन्च क्लब मोनाकोलाई पराजित गर्दै च्याम्पियन्स लिगमा स्थान बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment