Comments Add Comment

च्याम्पियन्स लिग फाइनल : दुई इङ्लिस क्लब सिटी र चेल्सी भिड्दै

१५ जेठ, काठमाडौं । युरोपियन क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगको फाइनल खेल आज राति हुँदैछ । जसमा दुई इङ्लिस क्लब म्यानचेस्टर सिटी र चेल्सी भिड्ने छन् ।

सिटी प्रिमियर लिगको च्याम्पियन टिम हो । चेल्सी भने यस सिजन चौथो स्थानमा रहेको थियो । दुवै टिमले अर्को सिजनको लागि च्याम्पियन्स लिगमा स्थान पक्का गरिसकेको छ ।

पोर्चुगलको पोर्टोस्थित स्टाडियो डो ड्रागाओ स्टेडियममा हुने फाइनल खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । यसअघि फाइनल खेल टर्कीको स्तानबुलस्थित एटाटर्क ओलम्पिक स्टेडियममा खेलाइने तय थियो । तर कोभिड–१९ को रेस्ट्रिकसनले गर्दा यूईएफले फाइनल खेल पोर्टोमा सारेको हो ।

स्पेनिस रेफ्री ४४ वर्षीय एन्टोनिओ मिगुएल लाहोजले खेल खेलाउनुअघि मार्समेलोले ओपनिङ सेरेमोनीमा प्रस्तुति दिने यूईएफएले जनाएको छ ।

सन् १९५६ देखि सुरु भएको च्याम्पियन्स लिगको यो ६६औं संस्करणको फाइनल हो ।

सिटी पहिलो पटक फाइनल पुगेको हो भने चेल्सीले तेस्रो पटक फाइनल खेल्दैछ । यसअघि चेल्सी पहिलो पटक च्याम्पियन्स लिग फाइनल पुग्दा सन् २००८ मा म्यानचेष्टर युनाइटेडसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । सन् २०१२ मा भने चेल्सीले जर्मन क्लब बायर्न म्युनिखलाई पराजित गर्दै पहिलो पटक च्याम्पियन्स लिग जितेको थियो ।

चेल्सी दोस्रो पटक फाइनल जित्ने योजनामा छ भने सिटी पहिलो सहभागितामै उपाधि जित्न चाहन्छ । च्याम्पियन्स लिगमा पछिल्लो सिजन लगातार नयाँ क्लब फाइनल पुगेका हुन् । सन् २०१९ मा टोटनहम पहिलो पटक फाइनल पुग्दा पनि इङ्ल्याण्डकै दुई क्लबले फाइनल खेलेको थियो र लिभरपुलले उपाधि जितेको थियो ।

यस्तै गत सिजन फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पहिलो पटक फाइनल खेल्दा जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भयो । पेप ग्वार्डिओलाको नेतृत्वमा रहेको सिटी च्याम्पियन्स लिग फाइनल पुग्ने नवौं इङ्लिस क्लब हो भने समग्रमा ४२औं टिम हो ।

पहिलो पटकमै सिटीले उपाधि जितेमा ग्वार्डिओलाले तीन च्याम्पियन्स लिग जित्ने कार्लोस एन्सेलोट्टी र जिनेदिन जिदानको कीर्तिमान बराबरी गर्नेछन् । उता चेल्सी दोस्रो पटक उपाधि जित्ने योजनामा छ । चेल्सीले सन् २०१२ मा जर्मन क्लब बायर्न म्युनिखलाई हराएर उपाधि जितेको थियो ।

च्याम्पियन्स लिगको फाइनलमा इङ्ल्याण्डबाट दुई क्लब भिड्न लागेको यो तेस्रो पटक हो ।

यस अघि सन् २००८ मा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई पेनाल्टी सुटआउटमा ६–५ ले पराजित गरेको थियो । यस्तै दुई वर्षअघि लिभरपुलले टोटनहम हट्सपरलाई २–० को हराउँदै उपाधि जितेको थियो ।

इङ्ल्याण्डबाट अहिलेसम्म आठ क्लबले च्याम्पियन्स लिग फाइनल खेल्दा ५ क्लबले उपाधि जितेका छन् । यदि सिटीले चेल्सीलाई हराए उपाधि जित्ने छैटौं इङ्लिस क्लब हुनेछ । अहिलेसम्म लिभरपुल, म्यानचेष्टर युनाइटेड, नटिङहम फरेस्ट, एस्टन भिल्ला  र चेल्सीले उपाधि जितेका छन् । फाइनल पुगे पनि लिड्स युनाइटेड, आर्सनल र टोटनहमले भने उपाधि जित्न सकेनन् ।

एउटै देशका क्लब फाइनल पुगेको आठौं पटक

यस्तै एउटै देशको क्लब च्याम्पियन्स लिग फाइनल खेल्न लागेको यो समग्रमा आठौं पटक हो । यसअघि नै स्पेनिस क्लबहरुले तीन पटक फाइनल खेलिसकेका छन् । जसमा रियल मड्रिडले जित हात पारेको थियो ।

सन् २००० मा पहिलो पटक स्पेनका दुई क्लब रियल र भ्यालेन्सिया फाइनल पुगेको थियो । त्यसपछि २०१४ र २०१६ मा रियल र एट्लेटिको मड्रिड फाइनल पुगेको थियो ।

यसैगरी इटली र जर्मनीका क्बलहरु एक–एक पटक फाइनल खेलेका छन् । सन् २००३ मा इटलीका एसी मिलान र युभेन्ट्स फाइनलमा खेलेका थिए । जसमा एसी मिलान पेनाल्टी सुटआउटमा विजयी भएको थियो ।

सन् २०१३ मा जर्मनीका दुई क्लब बायर्न म्युनिख र बोरुसिया डर्टमण्ड फाइनल पुगेका थिए । जसमा बायर्नले जित हात पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment